प्रमुख समाचार

टेकु पुल निर्माणमा भ्रष्टाचार गर्नेविरुध्द मुद्दा

इकागज |
पुस १६, २०७७ बिहीबार २०:२५ बजे

काठमाडौं : टेकु पुल निर्माण संलग्न आयोजना प्रमुख, अधिकृत, लेखापाल र ठेकेदारविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा चलाएको छ । तिनले पुल निर्माण नगरेपछि टेकु पुल अलपत्र परेको हो ।

ठेक्कापट्टामा संलग्न आयोजना प्रमुख बेलबहादुर नेपाली, लेखा अधिकृत नारायणबहादुर थापा, लेखापाल गिरीप्रसाद श्रेष्ठ, लेखा अधिकृत श्यामबहादुर खत्री, विदेशी ठेकेदार जेङ जुनयान र नेपाली पार्टनर पप्पु जेभीका सुमित रौनियारविरुध्द भ्रष्टाचार मुद्दा चलाउने निर्णय लिएको हो । 


उनीहरू प्रत्येकलाई १ करोड १४ लाख ७६ हजार रुपैयाँका दरले अभियोग लगाएको छ । तर विदेशी ठेकेदार नेपाली भूमिमा नभएको हुृँदा उनी नेपालमा भेटिएको आरोपपत्र दाखिला गर्ने जनाएको छ ।

पुल निर्माणको ठेक्का जेआइइसी पप्पु जेभीद्वारा शर्त, मापदण्ड, स्वीकृत डिजाइन अनुरुप समयमै काम नगरेपछि अख्तियारले छानबिन गरेको थियो । 

आयोजनाका निमित्त प्रमुख नेपालीले ठेक्काको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा आफैले टिप्पणी उठाइ ठेक्काको तेश्रो चोटी म्याद थप सिफारिस गरि भ्रष्टाचार गरेको अभियोग आयोगको छ । उनकै सिफारिसमा आधारमा कार्यसम्पादन जमानत बराबर हुने रकम फुकुवा हुन गई नेपाल सरकारलाई हानि-नोक्सानी पुगेको हो ।

लेखा अधिकृत थापाले ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाइ सिफारिस गरेको देखिएको र त्यही टिप्पणीका आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा भएको थियो । उनीहरूको सिफारिशका आधारमा हानी-नोक्सानी भएको असुल हुनुपर्ने माग दाबी आयोगको छ ।

त्यसअतिरिक्त लेखापाल श्रेष्ठ, लेखा अधिकृत खत्रीले ठेक्का तोड्ने र कालोसूचीमा राख्‍ने जस्तो महत्वपूर्ण कारबाहीको सुरु टिप्पणी उठाएका थिए । तर ठेक्काको कार्यसम्पादन जमानतसम्बन्धमा भने केही उल्लेख नगरेको कारण जमानत रकम फुकुवा हुन गएको हुँदा उनीमाथि भ्रष्टाचार अभियोग लागेको हो ।

विदेशी ठेकेदार कम्पनीका प्रतिनिधि जेङ र स्थानीय अधिकार प्राप्त पप्पु कम्पनीका रौनियारले ठेक्का म्याद थप माग गर्दा कार्य सम्पादन जमानत नवीकरण गरेनन् । उनीहरूले कार्यसम्पादन जमानतको मात्र नवीकरण गरी जमानत फुकुवा गरेको दुवैविरुध्द समान रकम भ्रष्टाचार भएको अभियोग अख्तियारले लगाएको छ । 

तर विदेशी ठेकेदार कम्पनीका प्रतिनिधि नेपालमा छैनन् । तिनको हकमा नेपालमा फेला परेमा कानुन बमोजिम थप आरोपपत्र तयार गर्ने पनि अख्तियारले जनाएको छ । हाल चाहिँ नेपाली ठेकेदारलाई मात्र अभियोग लगाएको हो ।
 


Author

थप समाचार
x