प्रमुख समाचार

ब्रेक्‍जिटपछि प्रिमियर लिग क्लबहरूका लागि नयाँ नियम

इकागज |
पुस २०, २०७७ सोमबार ८:२५ बजे

काठमाडौं : बेलायतले युरोपियन युनियन (ईयु) छाडेपछि प्रिमियर लिग खेल्ने क्लबहरुले खेलाडी सरुवा बजारका लागि नयाँ नियम पालना गर्नुपर्ने भएको छ । नयाँ अंग्रेजी वर्षको सुरुवात भएसँगै जनवरी महिनाभरका लागि प्रिमियर लिग क्लबहरूले खेलाडी खरिद, बिक्रि गर्न पाउनेछन् । ब्रेक्‍जिटसँगै बेलायत अब ईयुको सदस्य नभएको अवस्थामा श्रम सम्बन्धि नयाँ नियम आउने र त्यसबाट क्लब तथा खेलाडी पनि प्रभावित हुनेछन् । 

किन नयाँ नियम ? 
ईयुको श्रमको सम्बन्धि आफ्नै नियम छ । जस अन्र्तगत श्रमिकहरूले ईयुभित्रका मुलुकहरूमा सहज आवतजावत गर्न पाउँछन् । तर बेलायत ईयुको सदस्य नरहेपछि प्रिमियर लिग क्लबहरूले ईयुको श्रम सम्बन्धि नियममा टेकेर खेलाडी अनुबन्ध गर्न पाउने छैनन् । अब ईयु सदस्य मुलुकका खेलाडीहरूले बेलायतको आन्तरिक मामिला हेर्ने मन्त्रालयबाट जीबीइ (गर्भनिङ बडी इर्न्डोसमेन्ट) लिनुपर्नेछ । त्यसो त, ईयु बाहिरका खेलाडीहरूले भने पहिला बाटै जिबिइ लिनुपर्ने बाध्यता छ । 


कस्ता खेलाडी जिबिइका लागि योग्य हुन्‍छन् ? 
इंगल्यान्ड फुटबल संघ, इंग्लिस फुटबलको दोस्रो र तेस्रो श्रेणीका लिगहरु सञ्चालन गर्ने इएफएल र प्रिमियर लिगबीच ‘पोइन्ट्स बेस्ड सिस्टम’ लागू गर्ने सहमति भएको छ । जस अन्तर्गत प्रिमियर लिग आउन चाहाने कुनै पनि खेलाडीले १५ अंक प्राप्त गर्नुपर्नेछ । १० देखि १४ अंक पाउने खेलाडीका हकमा भने उसको खेल कौशल र स्तर हेरेर, निर्णय लिइनेछ । 

अंकका लागि मापदण्ड  
कुन खेलाडीले कति अंक पाउने भन्‍ने, उसले तय गरिएका मापदण्डहरू पुरा गर्छ गर्दैन भन्नेका निर्भर रहनेछ । विगतमा ईयु बाहिरका खेलाडी अनुबन्ध गर्दा खेलाडीले प्रतिनिधित्व गर्ने मुलुकको फिफा वरियता हेर्ने गरिन्थ्यो । अब ईयुभित्रबाट आउने खेलाडीका लागि पनि त्यही मापदण्डमा रहेर अंक दिइनेछ । यस बाहेक खेलाडी कुन स्तरको लिगबाट आउन लागेको हो, त्यहाँको क्लबमा उसले खेलेको खेल संख्यालगायतका पक्षहरूको पनि विश्लेषण गरी अंक दिइनेछ ।

प्रिमियर लिग आउन चाहाने युवा खेलाडीका हकमा के हुने ? 
अब प्रिमियर लिग क्लबले विगतमा जस्तो ईयु सदस्य रहेका मुलुकहरूबाट १६ देखि १८ वर्षका युवा खेलाडी अनुबन्ध गर्न पाउने छैनन् । ईयुभित्र बाट प्रिमियर लिग आउन चाहाने कुनै पनि खेलाडी १८ वर्ष पुरा भएको हुनपर्नेछ । तर बेलायत भित्रै (इंगल्यान्‍ड, उत्तरी आयरल्यान्‍ड, स्कटल्यान्‍ड र वेल्स) भने, १६ देखि १८ उमेर समूहका खेलाडी एक क्लबबाट अर्कोमा सरुवा हुनसक्‍नेछन् । 

जनवरीको सरुवा बजारमा युवा खेलाडी अनुबन्ध गर्न पाइने वा नपाउने ? 
यस जनवरीमा प्रिमियर लिग क्लबहरूले बेलायत भन्‍दा बारिहबाट, अण्डर-२१ मा पर्ने तीन भन्दा बढी खेलाडी अनुबन्‍ध गर्न पाउने छैनन् । उनीहरूले एक सिजनमा २१ वर्ष भन्दा मुनिका ६ खेलाडी मात्रै भित्र्याउन पाउने छन् । 

बेलायतबाट ईयु सदस्य रहेका मुलुकतर्फ जान चाहाने खेलाडीका लागि कस्तो नियम छ ?   
अब १८ वर्ष पुरा नभएका कुनै पनि बेलायती किशोर खेलाडी अन्य मुलुकको लिग खेल्न जान पाउने छैनन् । अर्को वाक्यमा भन्‍दा, यस नियम अन्तर्गत १७ वर्षीय ज्युड बेलिङहम बर्मिङहम छाडेर बोरुसिया डर्टमन्‍ड जान पाउदैनन् । १८ वर्ष भन्दा माथिका खेलाडी भने ईयुको नियममा रहेर अन्य युरोपेली मुलुक जान सक्‍नेछन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा) 


Author

थप समाचार
x