प्रमुख समाचार

खुलेको २८ वर्षपछि बल्ल 'इआइए' गर्दै हायात होटल

इकागज |
पुस २०, २०७७ सोमबार १२:२४ बजे

काठमाडौं :  पञ्‍चायतकालमा सरकारले बौद्धको करिब ३०४ रोपन किसानको जग्गा अधिग्रहण गरेर महिला तथा जनजातिको हित सम्बर्द्धन निम्ति तारागाउँ विकास समिति गठन भयो । २०४७ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले त्यो जग्गामा होटल तथा सांस्कृतिक पर्यटकीय केन्द्र बनाउने निर्णय गर्‍यो  । व्यवसायीहरू राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको डिजाइनमा तारागाउँ विकास समितिसँग संयुक्त लगानीमा होटल बनाएर सञ्चालन गर्ने सम्झौता भयो । तारागाउँ रिजेन्सी होटल्स लिमिटेड स्थापना भयो । २०५३ सालमा इआइएसहितको प्रावधान राखेर वातावरण संरक्षण ऐन र ०५४ मा वातावरण संरक्षण नियमावली बन्यो । होटल आज बहुराष्ट्रिय हायातको नामबाट सञ्चालित छ ।

तर, होटल खुलेको २८ वर्षपछि तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले हायात होटल रिजेन्सीको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सुरू गरेको छ । हायात होटलको २९० कोठामा ४२१ बेड सञ्चालनमा छन् । सांस्कृतिक सम्पदा, निकुञ्ज तथा संरक्षित क्षेत्रमा नपर्ने पचास बेडसम्म रहेका होटलले प्रारम्भिक वातावरण परीक्षण गर्न आवश्यक छैन । एक सय भन्दा बढी बेड भएका तारे अथवा सामान्य होटलले वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने प्रावधान छ । यद्यपि हायात रिजेन्सीले २८ वर्षसम्म इआइए नगरी होटल सञ्चालन गरिरहेको छ । 

हायात मात्र होइन काठमाडौंमा रहेका पाँच तारे अन्नपूर्ण, याक एण्ड यति र सांग्रिलाले इआइए गरेका छैनन् । सबैजसो तारे होटल २०५४ साल अघि स्थापना भएका हुन् । २०७४ सालमा जनसंख्या तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएपछि लालबाबु पण्डितले इआइए नगर्ने होटललाई कडाई गर्न थाले । उनले इआइए नगर्ने होटलको नविकरण रोक्ने निर्णय गरे । कार्यभार सम्हालेकै वर्ष मन्त्री पण्डितले इआइए नगरेको भन्दै द्वारिका र सोल्टी होटललाई एक लाख रुपैयाँ जरीवाना गरेका थिए ।

सेयर र जग्गा विवादमा परेपछि पर्यटन विभागले हायात होटलको नविकरण गरेको छैन ।

वातावरण संरक्षण नियमावलीको नियम -३ को अनुसुची २ बमोजम एक सय भन्दा बढीको बेड भएको होटल निर्माण, स्थापना र संचालन गर्न अनिवार्य रुपमा इआइए गर्नुपर्ने प्रावधान छ ।

इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर काम गर्ने व्यक्ति वा संस्थालाई 'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा दण्ड तथा जरिवानाको व्यवस्था गरिएको छ ।
'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा 'वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत नगराई वा स्वीकृत प्राप्त प्रस्तावभन्दा बाहिर गई कुनै काम गरेमा तोकिएको अधिकारीले त्यस्तो कार्य तुरुन्त बन्द गराउन सक्ने' उल्लेख गरिएको छ ।


वातावरणीय अध्ययन प्रतिवदेन तयारी गर्ने क्रममा होटल क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न लागेको होटलले जानकारी दिएको छ । यसका लागि वडा नम्बर ६, बौद्ध र त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिइरहेको छ ।


Author

थप समाचार
x