प्रमुख समाचार

पार्टी फोड्‍नेहरूको अन्त्य सुनिश्‍चित : उपप्रधानमन्त्री पोखरेल

इकागज |
पुस २१, २०७७ मंगलबार १९:४४ बजे

जनकपुरधाम : नेकपा ओली समूहका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले पार्टी फोडेर जानेहरूको अन्त्य शुनिश्‍चित रहेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित वृहत्त अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री र एकल अध्यक्ष बन्‍ने लालचमा  पार्टी एकता तोड्‍नेहरूको सपना चकनाचुर हुने बताए । 

उनले  पदको लोभमा पार्टी फोड्नेलाई तह लगाइने पनि बताए । कम्युनिष्टहरू एकीकृत  भएको ३ वर्ष नबित्दै आफ्नै अध्यक्ष विरुध्द लाग्‍नेलाई सच्चा कम्युनिष्टहरूले लखेटेर भगाउने उनले बताए ।


पदका लागि अनावश्यक बखेडा गर्दै पार्टी फोड्ने पुष्पकमल दाहाललाई तह नलगाएसम्म मुलुक र पार्टीको विकास हुन नसक्ने उनको भनाइ छ । उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताउदैँ अब प्रदेश कमिटी र जिल्ला कमिटी समेत नयाँ गठन हुने जानकारी समेत दिए । 

कार्यक्रममा  शहरी विकास मन्त्री प्रभु साहले पार्टीका केही नेताहरूको बदनियतले तीन वर्ष नपुग्दै प्रतिनिधि सभा विघटन गर्न पर्नु  आफ्‍नै लागि आत्मघाती रहेको बताए ।  ‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भन्छन्, हामी आफै संसद् विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’, साहले भने, ‘को चाहन्छौं हामी पाँच वर्षको लागि जितेका छौँ भने तीनै वर्षमा छाडीदिउँ । यसबाट कोही खुशी छैनन् । त्यसैले यो आफैमा बाध्यात्मक  आत्महत्या हो ।’

विघटन संविधानसम्मत रहेको जिकीर गर्दै  उनले प्रतिनिधि सभाबाट दोस्रो सरकार बन्‍ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको दाबी गरे ।
 


Author

थप समाचार
x