प्रमुख समाचार

मटर तस्करी गर्न नपाएपछि प्रहरीको हत्या !

नवराज पनेरु |
कात्तिक ५, २०७७ बुधबार १५:५७ बजे

धनगढी : कार्तिक १ गते घटस्थापनाको दिन, राति ८ बजेका थियो। धनगढी जुगेडमस्थित अस्थायी प्रहरी चौकीको टोली गस्तीमा निस्कियो । टोलीमा थिए चौकी इन्चार्ज तथा प्रहरी सहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान रामवहादुर साउँद ।

उनीहरु मोटरसाइकलमा सवार थिए । राति साढे १० बजेपछि दुबै जना सम्पर्कविहिन भए । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरु वेपत्ता भएको खबर दोस्रो दिन अर्थात २ गते बिहान पाएपछि उनीहरु दुबै जनाको खोजी सुरु ग¥यो । खोजीकै क्रममा २ गते विहान ९ बजे प्रहरी सहायक निरिक्षक विक मृत फेला परे । त्यसको दुई दिनपछि ४ गते बिहान १० बजे प्रहरी जवान साउँद पनि मृत फेला परे । 


दुबै जनाको घरेलु हतियार प्रयोग गरेर विभत्स हत्या गरिएको थियो । प्रहरीले असई विक मृत फेला परेपछि नै तस्करको समूहले हत्या गरेको आशंका गर्दै अनुसन्धान सोही तर्फ केन्द्रित पारेको थियो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले भने,‘घटनाको अनुसन्धानका लागि सो क्षेत्रमा अपराधिक पृष्ठभुमि भएका दुई दर्जन व्यक्तिलाई पक्राउ गरेका थियो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका सात जनाले अभियोग स्विकार गरेपछि हामीले सार्वजनिक गरेका छौँ ।’

उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० बस्ने ३१ वर्षे पर्कु भन्ने रोहित राना, २० वर्षे राजेन्द्र राना, ३० वर्षे चोर भन्ने सुरेश राना, २५ बर्षे गब्बर भन्ने राजकुमार राना, २२ बर्षे रान निवास राना, २९ बर्षे दलराम राना, बडा नम्बर ११ का २५ बर्षे गोपाल राना रहेका छन् । 

प्रहरी नायव उपरिक्षक विष्टले बुधबार बिहान थप एक जनालाई हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरिएको बताए । उनीहरुबिरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता भएको छ । 

‘नेपाल–भारत सीमा नदी मोहनाको चार सय मिटर टाढा तस्करीमा संलग्न व्यक्ति पक्राउ गर्ने र सामान बरामद गर्ने क्रममा असई र प्रहरी जवानमाथि आक्रमण भएको हो,’ प्रहरी नायव उपरिक्षक विष्टले थपे,‘तस्करी गर्न नपाएपछि तस्करहरुले घरेलु हतियार प्रहार गर्दै दुबै जनाको सोही क्षेत्रमा हत्या गरेको स्विकार गरेका छन्, अपराध ढाकछोप गर्नका लागि चार सय मिटर टाढा रहेको मोहना नदीमा खाल्डो खनेर शव लुकाइएको थियो ।’ 

उनका अनुसार नेपालबाट भारत मटर (केराउ) तस्करी गर्न नपाएपछि प्रहरीद्वयको हत्या गरिएको हो । प्रहरीका अनुसार सुरुमा उनीहरुले प्रहरी जवान र असईलाई पैसा दिएर केराउ भारततर्फ तस्करी गर्नदिन प्रयास गरेको र प्रहरीले अस्विकार गरेपछि हत्या गरेको अभियुक्तले बयानको क्रममा स्विकार गरेका छन् । 

उनीहरुले असई र प्रहरी जवानको हत्या गरेपछि गोरुगाडामा राखेर मटर भारत पुगाएका बयान दिएका छन । असई विकसँग पेस्तोल भएपनि पेस्तोल निकाल्न नपाउँदै उनीमाथि फरुवाले प्रहार भएको प्रहरीले जनाएको छ । सुरुमा असई विकको हत्या गरिसकेपछि तस्करहरुले प्रहरी जवान साउँदको लखेटीलखेटी हत्या गरेको प्रहरी स्रोत बताउँछ । 

त्यो घटनाको दुई दिनअघि पनि भारतबाट तस्करी गरी ल्याएको सुर्तीजन्य पदार्थ असई विकको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । घटस्थापनको दिन तस्करहरुको समूह अस्थायी प्रहरी पोष्टमा पुगेर असईलाई भटेर तस्करीका लागी सेटिङ मिलाउने कोशिस गरेको र असईले अस्विकार गरेपछि असई तस्करको निसानामा रहेको प्रहरी स्रोत बताउँछ । 

तीन महिनाअघि मात्र अस्थाई प्रहरी पोष्ट जुगेडमा खटाइएका असई विकको घर कंचनपुर पुनर्वास नगरपालिका ९ घर हो । उनी ९ बर्षको हुँदा बुवाको मृत्यु भएको थियो भने उनी भूमिहिन परिवारका हुन् । उनकी ५० वर्षे आमा, श्रीमती र दुई छोरी छन् । अछामको जयगढ निवासी साउद ०६७ सालमा नेपाली प्रहरी सेवामा प्रवेश गरेका थिए । साउँदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । 


Author

थप समाचार
x