चेल्सी र आर्सनलको पेप ग्वार्डिओला जन्माउने सपना
काठमाडौं : सबै ठूला क्लबको सपना हुन्छ । आफ्नो क्लबबाट लामो समय खेलेको खेलाडीलाई प्रशिक्षक बनाउने । सुरुमा उसलाई एकेडेमीको जिम्मा दिने । अनि केही वर्षपछि सिनियर टिममा बढुवा गर्ने । जसले युवा प्रतिभाको उपयोग गर्दै उपाधि जित्ने टिमको निर्माण गरोस । तर कहाँ सबै क्लब सफल हुन्छन् र ? कहाँ सबै क्लबले पेप ग्वार्डिओला जस्ता प्रशिक्षक जन्माउन सक्छन् र ? यद्यपी प्रयास भने जारी छ ।
यस सिजन पनि युरोपका केही ठूला क्लबहरुले आफ्ना पूर्व खेलाडीहरुलाई प्रशिक्षक बनाएका छन् । चेल्सीमा फ्रान्क लाम्पार्ड । आर्सनलमा मिकेल आर्टेटा । युभेन्टसमा आन्द्रेई पिर्लो । यी नव प्रशिक्षकहरूमा कमसेकम केही समानता छन् । तीमध्ये एउटा हो, अनुभवको कमी । अनि अरु समानता भनेको यी सबै आफ्नो जमानाका स्थापित नाम हुन् । खेलाडीका रुपमा आ-आफ्ना क्लबमा महत्वपूर्ण योगदान गरेपनि प्रशिक्षणको मामलामा परिपक्व देखिइसकेका छैनन् ।
उनीहरू सबैले आफ्नो करियरमा उत्कृष्ट भनिएका प्रशिक्षकको संगत गरेका छन् । तीनको नेतृत्वमा खेल्दै उपाधि पनि जितेका छन् । तर असल गुरुका चेला कालान्तरमा असल गुरु बन्न सक्छन् नै भन्ने कहाँ छ र । खेलाडीको अनुभव प्रशिक्षक बन्न काफी हुन्छ भन्ने पनि होइन । त्यसकारण, यी उल्लेखित नाम वा अन्य कोही नव प्रशिक्षक असफल भए भने सुरुवातमै सफलता हासिल हुन्छ भन्ने पनि त छैन ।
नव प्रशिक्षकहरू पक्कै पनि कम अनुभवी छन् । गलत शैली, खेलाडी परिवर्तनमा गलत निर्णय, खेलाडीको क्षमता अनुसार उपयोग गर्न नसक्नु आदिले यी प्रशिक्षकलाई महत्वपूर्ण खेलहरू गुमाउन बाध्य बनाएको पनि देखिएको छ । तर प्रश्न उठ्छ । के युरोपियन क्लब फुटबलमा मानिएका एलेक्स फर्गुसनदेखि एरिग्गो साची सुरुवाती दिनमा गल्ती गर्दैन थिए त ? केही त अवश्वय गर्थे । तर उनीहरू साना भनिएका क्लबमा थिए । जहाँ धैर्यता राखिन्थ्यो । त्यसो त त्यो बेलाको फुटबल नै फरक थियो ।
त्यसबखत ठूला भनिएका टिम र साना टिमबीचको स्तरमा धेरै फरक हुँदैन थियो । लिभरपुल, लिड्स युनाइटेड र नोटिङ्हम फरेस्टसँगै दोस्रो श्रेणीमा थियो, जब बिल श्याकंली मर्सीसाइड क्लब पुगेका थिए । त्यो समय नव प्रशिक्षकहरूका लागि उत्तम थियो । पर्याप्त समय पाउँथे । कुनै पनि दुरदर्शी प्रशिक्षकले सानो भनिएको टिमलाई बलियो शक्तिमा रुपान्तरण गर्न सक्थे । जुन अहिले सम्भव छैन ।
इंग्ल्याण्डको दोस्रो श्रेणीकै क्लब सम्हाल्न मौका पाउने नव प्रशिक्षकले आफ्नो जिम्मेवारीमा सफलता पाउने सम्भावना कम हुन्छ । च्याम्पियनशिप क्लबलाई बढुवा गर्न नसक्ने नव प्रशिक्षकलाई स्वतः असफल दरिन्छ । वा बढुवा गराउन सफल भइहाले पनि उ अर्को ‘एडी हउ’ बन्न पुग्छ ।
अनि सिमित बजेटमा रहेर सफलता पाउने नव प्रशिक्षक कालान्तरमा ठूलो क्लबको प्रशिक्षक बन्न योग्य ठहरिन्छ भन्ने पनि छैन । सानो क्लबमा कम चिनिएका खेलाडीहरूलाई व्यवस्थापन गरेको अनुभव ठूलो क्लबमा अन्तराष्ट्रिय स्टारको ‘इगो’ लाई सम्हाल्न काम लाग्छ भन्न सकिने अवस्था छैन ।
हो, कुनै प्रशिक्षक क्लबको सिद्धान्तमा भिज्न नसक्ने पनि हुनसक्छ । क्लब प्रशासनले आफुले चयन गरेको प्रशिक्षकको स्तरका बारेमा नबुझेको हुनसक्छ वा चयन नै गलत पनि हुनसक्छ । तर त्यसो भन्दैमा प्रशिक्षकलाई पर्याप्त समय नै उपलब्ध नगराउने त ? उ प्रति धैर्यता नराख ।
त्यसो त प्रशिक्षक बन्न चाहने पूर्व खेलाडीले फरक बाटो पनि अपनाउन सक्छन् । फरक लिग खेल्ने क्लबको प्रशिक्षक बनेर । जसरी स्टिभन जेरार्डले स्कटिस क्लब रेन्जर्समा जिम्मेवारी सम्हालिरहेका छन् । तर यो बाटो पनि सजिलो छैन । स्पेन पुगेका ग्यारी नेभिल असफल भए । फरक संस्कृती रहेको भूगोलमा स्थानिय भाषा बुझेर काम गर्न सजिलो कहाँ छ र । त्यसमाथि भिन्न शैलीको फुटबल मन पराउने सर्मथकको दबाब सहेर ।
त्यसो भए अर्को तरिका के त ? नाम चलेका प्रशिक्षकहरूको सहायक बनेर प्रशिक्षण करियर सुरु गर्ने । जसरी आर्टेटा म्यान्चेष्टर सिटीमा ग्वार्डिओलाको सहायक बने । तर यहाँ बिर्सन नहुने तथ्य के छ भने, सबै सहायक मुख्य प्रशिक्षक बन्न सक्दैनन् । बने पनि सफल हुँदैनन् । वा ठूलो क्लबको जिम्मेवारी पाउँन सक्दैनन् । कुनै पनि सहायक प्रशिक्षक जोसे मौउरिन्होमा रुपान्तरण हुन ग्राहो छ ।
त्यसकारण जुनसुकै बाटो छनौट गरेपनि नव प्रशिक्षकले सिकाईको सिलसिला भने पार गर्नैपर्छ । तर एउटै क्लबमा रहेर सिकिरहने सुविधा नहुन सक्छ । किनभने, अहिलेको आधुनिक फुटबलमा टिमको असफलताको भार प्रशिक्षकले मात्रै बोक्नुपर्छ । कुनै पनि टिम असफलता उन्मुख भए क्लब प्रशासनले चाल्ने पहिलो कदम भनेको, प्रशिक्षक बर्खास्ती नै हो ।
फुटबलको दुनियाँमा धैर्यता लोप हुन लागिसकेको अवस्था छ । कुनै प्रशिक्षकले लगातार पाँच खेल हारे, उसको बर्खास्तीको माग उठ्न थालिहाल्छ । त्यसकारण, नव प्रशिक्षकलाई सिक्ने वातावरण नै छैन भन्दा पनि हुन्छ । अर्को वाक्यमा भन्दा, उसलाई हारमा सिक्न छुट छैन ।
हो, कुनै प्रशिक्षक क्लबको सिद्धान्तमा भिज्न नसक्ने पनि हुनसक्छ । क्लब प्रशासनले आफुले चयन गरेको प्रशिक्षकको स्तरका बारेमा नबुझेको हुनसक्छ । वा चयन नै गलत पनि हुनसक्छ । तर त्यसो भन्दैमा प्रशिक्षकलाई पर्याप्त समय नै उपलब्ध नगराउने त ? उ प्रति धैर्यता नराख्ने त ? यी प्रश्नहरूको उत्तर सजिलो छैन ।
फुटबल खेल मात्र होइन, व्यवसाय पनि त हो । उद्योग पनि हो । जहाँ ठूलो पैसा जोडिएको छ । क्लबको व्यावसायिक फाइदा हेर्नुपर्ने आवश्यकता छ । अनि क्लबको फाइदा, प्रशिक्षकको सफलतामाथि भरपर्छ । त्यसकारण, सधै धैर्यता सम्भव हुँदैन । धैर्यताबिना पेप ग्वार्डिओला जस्ता प्रशिक्षक उत्पादन पनि हुँदैनन् ।
(बेलायती अखबार दि गार्डियनबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया