प्रमुख समाचार

कृषिको कार्यक्रममा तरकारी जोनका हाकिमको भ्रष्टाचार

आफ्‍नै कम्पनी खोलेर सरकारी पैसा हिनामिना

इकागज |
पुस २९, २०७७ बुधबार १५:१० बजे

काठमाडौं : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवन परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) प्रमुख सोमनाथ घिमिरेले आफ्नै लगानीको निजी कम्पनीलाई योजना बाँडेर रकम हिनामिना गरेको खुलेको छ । जोनका सञ्‍चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीकै मिलेमतोमा उनले भ्रष्टाचार गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुध्द काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ । कतिपय योजनामा उनले बिल पेश गरेर मात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । घिमिरेले आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ ।

चितवनको पार्वतीपुरस्थित तरकारी जोनबाट प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने रकम लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको खातामा जानुपर्ने व्यवस्था छ । तर घिमिरेले सिधै नारायणी एग्रो कम्पनीको नाममा भुक्तानी दिएको अनुसन्धानबाट खुलेको छ ।


आर्थिक वर्ष २०७३/०७४ को प्राविधिक शिक्षालयका नाममा प्राप्‍त हुने पाँच लाख  रकमले लक्ष्मी माध्यमिक विद्यालय, जगतपुर, चितवनको हाताभित्र निर्माण गर्नुपर्ने आधुनिक नर्सरी घर निर्माण सम्झौता भएको थियो । तर यो रकम लक्ष्मी माध्यामिक विद्यालय जगतपुरको खातामा नपठाई नारायणी एग्रो कम्पनीको नाममा निकासा गराएका छन् ।

उनले यो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी पाँच लाख रुपैयाँ मध्ये ८७ हजार पाँच सय २५ रुपैयाँको मात्र काम गरेका थिए । बाँकी रकमको झुठा बिल भरपाईको आधारमा भुक्तानी समेत चार लाख १२ हजार चार सय रुपैयाँ सरकारी रकम हानि नोक्सानी गरेको पुष्टि भएको अख्तियारले जानकारी दिएको छ ।


Author

थप समाचार
x