भारतसँग आत्मसमर्पण गरेर ओलीले प्रतिनिधि सभा विघटन गरे : डा. भट्टराई
पोखरा : जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको कुरा गर्नेगरे पनि उनी नक्कली राष्ट्रवादी रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेशले आयोजना गरेको विरोध कार्यक्रम डा. भट्टराईले अरुलाई धम्काएर कहिल्यै पनि सक्कली राष्ट्रवादी बन्न नसकिने बताए ।
अहिले ओलीले भारतसँग आत्मसमर्पण गरेर प्रतिनिधि सभा विघटन गरेको भट्टराईले बताए । ‘ओलीले भारतसँगै आत्मसमर्पण गरेर प्रतिनिधि सभा विघटन गरे, हामी चनाखो नभए ठुलो राष्ट्रघात गरिने तयारी छ,’ भट्टराईले भने, ‘कामचलाउ सरकारको मन्त्री भारत भ्रमण जानुले राष्ट्रघात हुँदैछ भन्ने पुष्टि गर्छ ।’
प्रतिनिधि सभा विघटनबारे सर्वोच्चबाट सोचेजस्तो निर्णय आउन नसक्ने बताएका छन् । ओलीको प्रभावमा अदालत पर्न सक्ने बताएका हुन् । ‘अदालतबाट सोचेजस्तो निर्णय नआउन सक्छ, प्रभावित पार्न सक्ने खतरा छ, हामी सडकबाट पैरवी गरिरहनुपर्छ,’ उनले भने, ‘अदालतभन्दा माथि जनताको अदालत हुन्छ, जनताले निर्णय गर्नुपर्छ ।’ आफूहरू अदालतले सही निर्णय दिनेमा आशावादी रहेपनि ओलीको धम्काइमा अदालत पर्न सक्ने उनले बताए ।
अहिले ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्नुलाई सही भन्दै थपडी बजाउनुले भविष्यका लागि गलत नजिर बन्ने उनको भनाइ थियो । विगतमा प्रतिनिधि सभा संविधानमा टेकेर विघटन गरिएको अहिले संविधानविपरीत गरिएको डा. भट्टराईले बताए । ‘अहिले हो ल भइहाल्यो भन्ने हो भने पछि कुनैले यही नजिर हेरेर समावेशीता फाल्देला, कोहीले अधिकार हटाइदेला,’ उनले भने ।
ओलीले प्रतिनिधि सभामात्रै नभइ संविधानै विघटन गरेको डा.भट्टराईको तर्क थियो । ओलीलाई नेपाली जनताले कारबाही गर्नुपर्ने उनको तर्क छ । अमेरिकामा ८ दिन कार्यकाल बाँकी रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुध्द महाअभियोग प्रस्ताव ल्याएको बताउँदै ओलीलाई पनि कारबाही डा.भट्टराईले बताए । ‘अहिले यत्तिकै छाडिदिनेहो भने हाम्रो त्याग खेर जान्छ, ओलीले चुनाव गर्दैनन्, उनलाई कारवाही हुनुपर्छ,’ उनले भने ।
ओलीलाई ‘चटके’को संज्ञा दिँदै उनको पछाडि लाग्न नहुने उनले बताए । ओलीका कारण आफूहरूले संविधान बनाउँदा देखेका सपना पूरा नभएको बताउँदै नेपाली जनताका सपनाको हत्या भएको टिप्पणी गरे । ‘हामीसँग सपना थियो, भ्रमपूर्ण सही किसान समृध्द हुन्छन्, रोजगारी सबैलाई मिल्छ, विभेद अन्त्य हुन्छ, कुण्ठित राष्ट्रवाद उठ्छ भन्ने सपना थियो,’ उनले भने, ‘संविधानको विघटन गरी सपना टुटाइए ।’ ओलीलाई सच्चिएर पार्टीमा फर्कन ओलीइतर नेताले सुझाउनुलाई उनले गलत रहेको बताए । ‘आफूपनि मासिने अरु पनि मास्ने यो हितैरी प्रवृत्तिमा नजानुहोस्’ उनको सुझाव थियो ।
भट्टराईले ओली फासिजमको नयाँ भाइरस रहेको आरोप लगाए । हिटलरले सबै विनाश नगरेसम्म नमरेको भन्दै ओलीले पनि विनाश निम्त्याउन लागिरहेको भट्टराईको भनाइ थियो । ‘हिटलरले जे गर्यो, ओली त्यही बाटोमा छन्, सर्वनाश नभएसम्म ओलीले छाड्ने देखिन्न,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया