प्रमुख समाचार

बाबुरामलाई वरियताबिनाको पगरी

मधुसुधन भट्टराई |
कात्तिक ६, २०७७ बिहीबार १७:१९ बजे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई वरियताबिनाको पार्टीको संघीय परिषद् अध्यक्ष बनाएको छ । कात्तिक ३ र ४ गते दुई दिन काठमाडौंमा बसेको कार्यकारिणी बैठकले भट्टराईलाई वरियताबिना सबैभन्दा माथि राख्‍ने निर्णय गरेको हो । 

बैठकपछि जारी ७ सय ७९ सदस्यीय केन्द्रीय कार्यसमितिको लिष्टमा भट्टराईको नाम सबैभन्दा माथि छ । तर, वरियता उल्लेख छैन । यो सँगै बाबुरामको ‘फष्ट म्यान’ बन्ने आकांक्षा त पूरा भएको छ । तर, पद भने ‘सेरेमोनियल’ र वरियताको नम्बरबिनाको ।


जसपाका केन्द्रीय कार्यकारीणी सदस्य (जसपा हुनुपूर्व राजपाका महासचिव) मनीष सुमनले सर्वोच्च व्यक्ति भएकाले संघीय परिषद्को अध्यक्ष बनाएर वरियताबिना सबैभन्दा माथि राखिएको जानकारी दिए । ‘डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेकाले सर्वोच्च व्यक्ति हुनुहुन्छ । त्यस हिसाबले संघीय परिषद्को अध्यक्ष बनाइएको हो,’ सुमनले इकागजसँग भने, ‘उहाँ वरियताभन्दा माथिको सर्वोच्च व्यक्ति भएकाले बरियता नदिई सबैभन्दा माथि राखिएको हो ।’

उहाँको पद कार्यकारी हो कि सेरेमोनियल हो ? भन्ने प्रश्‍नमा सुमनले भने, ‘संघीय परिषद् कार्यकारी होइन । महाधिवेशनपछिको ठूलो विधायिका जस्तो संस्था हो । त्यो संस्थाको अध्यक्ष हो । कार्यकारी होइन, सम्मानित पद हो ।’

जसपाको विधानमा सबैभन्दा ठूलो संस्था महाधिवेशन हो । त्यसपछि संघीय परिषद् हो । त्यसपछि कार्यकारी रुपमा केन्द्रीय कार्यसमिति हुन्छ । केन्द्रीय कार्यसमितिलाई सहयोग गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति हुन्छन् । तत्काल निर्णय गर्न पदाधिकारी समिति पनि हुन्छ । जसपा नेताहरुका अनुसार, संघीय परिषद्मा संघ, प्रदेशका विषयमा नीतिगत बहस हुन्छ । नीतिगत बहस हुने ठाउँमा सम्मानित व्यक्तिलाई बनाइएको नेताहरु बताउँछन् ।

जसपा कार्यकारीणी सदस्य प्रकाश अधिकारी (जसपा हुनुपूर्व संघीय समाजवादी पार्टीका उपमहासचिव) ले सम्मानित व्यक्तिलाई सम्मानित पद दिइएको बताए । ‘उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ । हाम्रो पार्टीका सम्मानित नेता हो । त्यसैले नीतिगत बहस हुने पार्टीको थलोको अध्यक्ष बनाइएको छ,’ अधिकारीले इकागजसँग भने, ‘कार्यकारी र सेरेमोनियल भन्दापनि सम्मानित पद हो । पार्टीमा निर्णय हुँदा सबै नेताहरुबीच छलफल भइहाल्छ । अर्को अध्यक्षमा यसअघि नै दुई नेता रहेकाले पनि उहाालाई वरियताबिना सबैभन्दा अघि राखिएको हो ।’

२०७७ बैशाख १० मा तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल एकीकरण भएर जसपा बनेको थियो । जसपामा अध्यक्षमा पहिलो वरियतामा महन्थ ठाकुर, दोस्रो वरियतामा उपेन्द्र यादव छन् । केन्द्रीय कार्यसमितिको अध्यक्षमा राजपाबाट आएका ठाकुर र संघीय समाजवादीका यादवलाई अध्यक्ष बनेका हुन् ।

त्यस्तै वरिष्ठ नेतामा दुई अध्यक्षपछि वरियतामा अशोक राई र उनीपछिको वरियतामा राजेन्द्र महतोलाई राखिएको छ । एकीकरणपूर्व राई समाजवादीका र महतो राजपाका नेता हुन् । 

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि  निर्वाचन आयोगमा जेठ २५ मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको नामावली बुझाउँदा डा. भट्टराईको नाम टिपेक्स लगाएर चौँथो वरियतामा राखिएको थियो ।

कार्यकारीणी समितिका सदस्य मनीष सुमन भन्छन्,–‘डा। बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेकाले सर्वोच्च व्यक्ति हुनुहुन्छ । त्यस हिसाबले संघीय परिषद्को अध्यक्ष बनाइएको हो ।’

नेताहरुका अनुसार, संघीय परिषद्को अध्यक्ष बस्न तयार भएपनि दोस्रो वरियतामा बस्न नमानेपाछि वरिष्ठ नेता भनेर चौँथो वरियतामा पुर्‍याइएको थियो । ठाकुरपछिको दोस्रो वरीयतामा रहने गरी संघीय परिषद् अध्यक्ष बन्न नमानेका भट्टराईलाई वरिष्ठ नेता बनाइएको नेताहरु बताउँछन् । 

उनको अगाडि दुई अध्यक्ष ठाकुर र यादव तथा वरिष्ठ नेता राईको नाम राखिएको थियो । ५ महिनापछि उनलाई वरियताबिनाको संघीय परिषद् अध्यक्ष बनाउने निर्णय केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको छ । त्यसबेला वरियता नमिले पद अस्वीकार गरेका डा. भट्टराईले भने वरियताबिनै सबैभन्दा माथि नाम राखिएपछि स्वीकारेका छन् । 

कार्यकारिणी बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउँदै केन्द्रीय कार्यकारिणी समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधानसमेत पारित गरेको छ । विधानअनुसार संगठनात्मक संरचनामा व्यक्ति जो भए पनि संघीय परिषद् केन्द्रीय कार्यसमिति भन्दा माथि हुने उल्लेख छ । संगठनात्मक संरचनामा संघीय परिषद् माथि भएपछि अध्यक्षद्वय ठाकुर र यादव विधानतः भट्टराई अध्यक्ष रहेको परिषद्प्रति उत्तरदायी बन्नु पर्नेछ । तर, विधानमा अधिकारका हिसाबले भने संघीय परिषद्‍भन्दा केन्द्रीय कार्यसमितिलाई बढि अधिकार दिइएको छ । 

(उनलाई चौँथो वरियतामा राखेर निर्वाचन आयोगमा बुझाईको केन्द्रीय कार्यसमितिको लिष्ट)  

बुधबार सार्वजनिक गरिएको केन्द्रीय समिति ७ सय ७९ सदस्यीय छ । त्यसमा समाजवादीबाट ४ सय र राजपाबाट ३ सय ७९ जना राखिएको छ । ८ सय १ सदस्यीय केन्द्रीय समिति बनाउने र त्यसमा आधा आधा गर्ने सहमति नेताहरुबीच यसअघि नै भएको छ । केन्द्रीय कार्यसमिति पूर्ण हुन बाँकी २१ सदस्य राजपाका तर्फबाट केही समयपछि दिइनेछ । 

केन्द्रीय समितिमा एकीकिरणपूर्वको राजपामा विवाद

एकीकरण भएको ६ महिनासम्म केन्द्रीय कार्यसमिति बनाउन जसपामा अनेकन कसरत भए । एकतापूर्वको राजपामा नेताहरुबीच भागवण्डा मिलाउन समस्या भएर केन्द्रीय समिति बन्न ढिला भएको हो । राजपा ६ मधेस केन्द्रित पार्टी मिलेर बनेको थियो । 

तराई-मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, नेपाल सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर बनेको राजपामा ती सबै पार्टीलाई गणितीय भाग लगाउन समस्या भएको हो । कसै गर्दा पनि नमिलेपछि संघीय संसदमा प्रतिनिधित्वको संख्याका आधारमा भागवण्डा मिलाइएको हो । 

स्रोतका अनुसार, भागवण्डामा ठाकुर (तमलोपा) र सदभावना (महतो)लाई ३ सय ७९ मध्य १ सय १५/१ सय १५ जना दिइएको छ । अनिल झा नेतृत्वको सदभावनालाई ४७, सरतसिंह भण्डारी नेतृत्वको (रामसपा)लाई ४४ तथा महेन्द्र राय यादव नेतृत्वको (तमसपा) र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकलाई २५/२५ सदस्य दिएर मिलाइएको छ । 

अनौपचारिक रुपमा यो जानकारी दिएपछि औपचारिक जानकारी दिंदा माहौल बिग्रने भन्दै नेताहरुले उद्धृत गर्न मानेनन् । एकीकरणपूर्वको संघीय समाजवादीमा भने केन्द्रीय सदस्यका लागि त्यती विवाद थिएन । 

अझै चयन गर्न बाँकी छन् संसदीय दलमा पदाधिकारी

केन्द्रीय कार्यसमिति र संघीय परिषद्को नेतृत्व केन्द्रीय कार्यसमितिले टुंग्याएपनि अझै जसपाले संसदीय दलमा एकीकरण गर्न सकेको छैन ।  अझै पनि संघीय संसदको प्रतिनिधिसभामा तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट दलका नेता उपेन्द्र यादव, प्रमुख सचेतक उमाशंकर अरगरिया छन् ।

राजपाका तर्फबाट संसदीय दलका नेता महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण छन् । दुवै दलले सचेतक बनाएका थिएनन् । नेताहरुले पहिला केन्द्रीय समिति सकेपछि मात्रै दलको एकीकरण बनाउने बताइरहेका थिए । अब विजयादशमीपछि दलको पनि टुंगो लाग्‍ने बताउँछन् ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x