प्रमुख समाचार

डब्लूएचओको नक्सामा भारतको आपत्ति, आफ्‍ना तीन भू-भाग छुटाउँदा नेपाल मौन

इकागज |
माघ १, २०७७ बिहीबार १५:४५ बजे

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जारी गरेको नक्सामा आफ्ना भू-भाग अलग्गिएको भन्दै भारतले आपत्ति जनाएको छ । भारत सरकारले यसमा कडा आपत्ति जनाउँदै डब्लूएचओ प्रमुख ट्रेडोस एडहानमलाई पत्र नै पठाएको छ ।

हिन्दूस्तान टाइम्सका अनुसार भारतले आफ्‍नो गलत नक्सालाई तत्काल सुधार गर्नका लागि पत्राचार गरेको छ । भारतले पत्र पठाएको यो तेस्रो पत्र हो । डब्लुएचओले गत डिसेम्बरमा पनि पत्र पठाएको थियो । गत साता भारतको स्थायी प्रतिनिधी इन्द्रमणी पाण्डेयले संयुक्त राष्ट्र संगठनमा डब्लूएचओका प्रमुखलाई यसबारेमा जानकारी गराएको भारतीय सञ्‍चार माध्यमले जानकारी दिएको छ ।


डब्लुएचओको वेबसाइटमा राखिएको विश्वमानचित्रमा भारतले आपत्ति जनाएको हो ।

डब्लुएचओको म्यापमा जम्मू, कश्मीर तथा लद्दाखलाई भारतको भुभागबाट अलग राखिएको छ । यसबाहेक पाकिस्तान, चीन र भारतबीच विवाद भएको ५ हजार १ सय ६८ वर्ग किलोमिटरमा फैलिएको सक्सगाम घाटीलाई भारतबाट अलग देखाएकोमा उसले आपत्ति जनाएको हो ।

गत अगस्टमा प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका थिए । नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको भूभागमा समेटिएको थियो ।

नेपाल मौन

डब्लूएचओले सार्वजनिक गरेको विश्वमानचित्रमा नेपालको नक्सा समेत गलत ढंगले प्रस्तुत भएको छ । नेपाल सरकारले आधिकारिक रुपमा यस विषयमा आपत्ति जनाएको छैन ।

गत साउनमा सरकारले आफ्नो अद्यावधिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई पठाउने तयारी गरेपनि हालसम्म त्यो हुन सकेको छैन । गत साउनमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले अन्तर्राष्ट्रिय जगतमा पठाउनका लागि ४ हजार प्रति नक्सा छपाइ भइरहेको जानकारी दिएका थिइन् ।

सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् । संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।

२०७६ कात्तिक १८ मा भारतले नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको व्यापक विरोध भएको थियो ।


Author

थप समाचार
x