नेकपाका दुवै समूहसँग कांग्रेस नजिकिन्न : देउवा
ओलीले मध्यावधि निर्वाचन गराउछन् भन्नेमा विश्वास छैन
फाइल तस्बिर
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा मध्यावधि निर्वाचन गराउँछन् भन्नेमा आफू विश्वस्त नरहेको बताएका छन् । पर्वतको शंकरपोखरीमा निर्माण भएको शहिद हरिदत्त तिवारी स्मृति भवनको बिहिबार उदघाटन गर्दै सभापति देउवाले नेकपाका (दाहाल-नेपाल समूह) र (ओली समूह) लोकतन्त्र, संविधान र संघीयताप्रति प्रतिवध्द नरहेका बताए ।
देउवाले नेकपाको आन्तरिक विवादका कारण ओलीले प्रतिनिधि सभा संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सहजै तोकेकै मितिमा निर्वाचन गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताए । सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा यसो गर, उसो गर भनेर दबाब दिन नहुने देउवाले बताए । ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन,’ देउवाले भने ।
सर्वोच्चमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटनको मुद्दामा कांग्रेसले पनि कुनै दबाब नदिने देउवाले बताए । जनअपेक्षा अनुसार ओली नेतृत्वको सरकारले काम नगरेको भन्दै अब संविधान, लोकतन्त्र र जनअधिकारको रक्षार्थ ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । उनले पार्टी कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न पनि निर्देशन दिए ।
देउवाले नेकपा २ भागमा विभाजित भएजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि समूहसँग कांग्रेस ननजिकिने बताए ।
शहिद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको छ । ०६० साल माघ १ गते सशस्त्र माओवादीले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ का तत्कालिन सभापति हरिदत्तको हत्या गरेको थियो ।
देउवा भवन उदघाटन गर्न काठमाडौंबाट हेलिकप्टरमा शंकरपोखरी पुगेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया