प्रमुख समाचार

बाबुआमा जिउँदै छन्, समाजले उनीहरूलाई टुहुरा भन्छ !

अभिभावकले छाडेका बालिका बेसहारा र बलात्कृत

लक्ष्मी भण्डारी |
कात्तिक ७, २०७७ शुक्रबार ६:१२ बजे

सुर्खेत : झमक्क साँझ परेपछि १५ वर्षीया मनिसा बिक खाना बनाउने सुरसारमा थिइन् । कोठाभरी भान्साका सामान र भाँडाकुडा असरल्ल थिए। छिमेकीले दिएको चामल सकिएपछिअर्काे तनावमा थिइन् मनिसा । खेल्दै गरेका उनका भाई र बहिनी चुलो छेउमै टुप्लुक्क आएरभान्सामा पल्याकपुलुक हेर्छन् । आँखाभरी आँसु बनाउँदै मनिसाले गाउँबाट पैँचो मागेर चामलको जोहो गरेपछि दुई बहिनी भान्साको काममा जुट्छन् । यो दृश्य हो  वीरेन्द्रनगर—२ का मनिसाका भाइबहिनीको  ।

कुनै फिल्मी कहानी भन्दा फरक छैन उनीहरुको दैनिकी । 


चार वर्ष अघि बावुआमाले छोडेपछि मनिसा बिक दुई भाई बहिनीको स्याहार गर्दै बसेकी छन् । बुवा कमाउनलाई भारत गएपछि अर्कै श्रीमती लिएर भागे । आर्थिक बोझले च्यापेपछि गिट्टी कुट्दै छोराछोरी पाल्दै आएकी आमा पनि पैसा कमाउन साउदी पुगिन् । दुबैजना विदेशबाट फर्किएनन् । मनिसा भन्छिन् ‘कतै चुरा बज्दा आमाको आउनु भो कि भनेर बाहिर हेर्छाै तर, हाम्रो आमालाई देख्दैनौँ ।’

कहिले छिमेकीसँग मागेर त कहिले घाँस दाउरा ल्याएर भाईबहिनीलाई साँझ बिहानको दुई छाकको जोहो गर्दै दैनिकी चलाउँदै थिइन् । ‘कहिलेकाँही त भोकै सुत्ने गरेका थियौ’ विगत सम्झदै मञ्जुले भनिन्, अहिले संस्थाको सहयोगमा चामल दाल ल्याइदिएपछि चामल कहाँबाट ल्याउने भन्ने चिन्ता हटेको छ ।’ अहिले मनिसा १५ वर्षमा लागिन् । उनी ९ कक्षामा पढ्छिन् । उनका बहिनी ५ कक्षामा पढ्छिन् भने भाई दुई कक्षामा । 

बुवाआमाले छोडेपछि बाल्यकालको अनुभुति गर्न नपाएकीे मनिसाको जिवनमाथि अर्काे बज्रपात थपियो । गाउँकै एक युवकबाट उनी बलात्कारको शिकार भइन् । जेठको अन्तिम साता छिमेकी माइजु नाता पर्नेको घरमा गइन् । त्यहाँबाट फर्किदा जंगलको बाटो साँझ परिसकेको थियो । दुई जना केटाहरुले बाटो छेकिरहेका थिए । तर, ती केटाहरुको अगाडी मनिसाको केही लागेन । ‘मेरा दुवै हात बाधेर नजिकै बाँसको रुखमा लगे त्यसपछि म चिच्याए तर कसैले सुनेन’  घटनाक्रम सुनाउँदै उनले भनिन्, ‘राती १० बजे मात्र घर फर्किए, त्यो दिनदेखि निद्रा नै परेन ।’ त्यसदिन यता उनी एकोहोरिन थलिन् । घटना पछि विद्यालय जान छोडिन् । उनको घटनाको विषयमा वरपर छिमेकीको सहयोगमा प्रहरीमा उजुरी  पर्‍यो ।  उनलाई गैरसरकारी संस्थाले सञ्चालन गरेको आवास गृहमा पठाइदियो ।

मनिसाको जाहेरी हस्तक्षर गर्ने पनि कोही भएनन् । उनको जाहेरीमा सुर्खेत स्थित आवाज संस्थाका निसा पौडेलले हस्ताक्षर गरिन् । तीन महिनासम्मको आवास गृहको बसाईपछि मनिसा घरमा फर्किएकी छन् । पैसा दिने भनेपछि केश मिलाउन सहमत भइन् मनिसा । ‘पैसा भएपछि भाइबहिनीलाई साँझ बिहानको खानाको जोहो गर्नुका साथै कापी–कलम किन्न सहयोग होला भनेर हुन्छ भने’ उनले भनिन् ‘अहिलेसम्म पैसा दिएका छैनन् ।’ उल्टै चरित्रमा समाजले प्रश्न उठाउँदा मनिसाको खिन्न मन हुन्छ र भक्कानिएर रुन्छिन् । 

‘मेरो पनि घरमा आमाबुवा भएको भए यसरी हेप्न सक्ने थिएनन् होला’आँसु पुछ्दै भनिन्, ‘कर्ममा पनि ठगियौ अझै कोही नहुनेलाई सबैले हेप्दारहेछन् ।’ 
बैदेशिक रोजगार र सम्बन्धविच्छेदले बालिकाहरु असहाय हुने र बलात्कारमा पर्ने घटनाहरु सुर्खेतमा बढ्दोक्रममा रहेको पाइएको छ । जसका कारण मनिसाको भाइबहीनीको जस्तै अन्य बालबालिकाहरु पनि कहालीलाग्दो जीवन भाग्न बाध्य छन् । 

सोही गाउँकी १५वर्षिया सुनिता सुनारको कथा पनि मनिसाको भन्दा कम छैन । सुनिताको विगत एक वर्षदेखि आँखा ओभानो छैनन् । कहिले बेहोस भएर भुइमा लड्छिन् त कहिले एकोहोरो हुन्छिन् । एक्लै बसेर बरर आँशु खसाल्छिन् । कोही अलि चर्काे आवाजमा बोल्यो की त काप्न थाल्छिन् ।

सुनिता वर्षीको हुँदा बुवा आर्थिक जोहो गर्न भारत गएपछि फर्केनन् । आमाले दोस्रो विवाह गरेपछि सुनिता आमा र कान्छाबुवाको साथमा बसिन् । बालापनको खुसीको अनुभुति गर्न पाइनन् । उनीमाथि कान्छाबुवाको कुदृष्टि प¥यो । गत जेठको पहिलो साता कान्छाबुवाले उनीमाथि बलात्कार गरे । बुवाबाट उनी पटक—पटक बलात्कार भएको कुरा बाहिर नआएको रहस्य खुल्यो ।  कुरा बाहिर गएपछि मारिदिन्छु भन्ने धम्की दिएपछि उनले कसैलाई भन्न सकेकी थिइनन् । तर, यो कुरा थाहा पाएपछि उनकी फुपूनाता पर्नेले प्रहरीमा खवर गरेपछि घटना बाहिर आयो ।

‘राती म सुतेको कोठामा आएर मुख बुजेर मेरो इज्जत लुट्नुभयो,’ सुनिताले रुदै भनिन्, ‘बुवाले यो कुरा बाहिर भनेपछि म मारिदिन्छु भनेर धम्की दिएपछि कसैलाई भन्न सकिन ।’

घटनापछि सौताने बुवाको घर छोडेर उनी मावली घरमा आएकी छन् । नजिकैको विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छिन् । अहिले उनको शरिर पनि सुन्निएको जस्तो देखिन्छ  । त्यसैगरी उनलाई पेट दुख्ने समस्या पनि थपिएको सुनिताकाी सानिमाले बताइन् । ‘बलात्कारको घटनापछि सुनिता खुलेर कुरा पनि गर्न सक्दिनन्’ सुनिताको सानिमाले भनिन्, ‘एकोहोरो भइरहने र बेहोस हुने समस्या देखिएको छ ।’ हजुरबुवा र हजुरआमा पनि बुढा भइसकेकोले सुनितालाई त्यहाँ बस्न पनि समस्या भएको उनी बताउँछिन् । त्यतिमात्र होइन विद्यालयको पोशाक पनि किन्न नसकेकोले बिना पोशाक नै विद्यालय जाने गरेको  सुनिता बताउँछिन् ।

‘सरले स्कुलमा ड्रेस हेर्नुहुन्छ र लगाएर आउनु भन्नुहुन्छ’ उनले भनिन्, ‘साँझ बिहान भरिपेट खान पाए त कति हुन्थ्यो अझै  स्कुलको ड्रेस त परै जाओस् ।’ बुवा विदेश गएपछि सुर्खेतकी १६ वर्षिया विमा खत्री मामासँग बस्दै आएकी थिइन् । सानो छँदा आमाको काख खोसिएपछि जसोतसो बुवाले हुर्काएका थिए । आर्थिक अवस्था कमजोर भएकाले वुवाले विमासहित तीन भाईबहिनीको अभिभावक मामालाई राखेर आफू कमाउनलाई भारत गएका थिए ।  

मामाले उनीहरुको हेरचाह गर्ने नाममा शोषण गरेको विमाका भाइबहिनीहरुलाई पत्तै थिएन । आफुसँग सँगै सुताउने र घुम्न जाँदा पनि विमालाई सँगै लैजादा रहेछन् । मामाबाट पटक–पटक बलात्कृत हुँदा पनि विमालाई आफु बलात्कार भएको बारे अनविज्ञ थिइन् । विमाको व्यवहारमा परिवर्तन आएपछि उनकी फुपुले यसबारेमा खोजी गर्दा विमा बलात्कार परेकोबारे थाहा भयो । 

फुपु र विमाको दिदिको साहारामा प्रहरीमा उजुरी गरियो । विमाको गर्भवती भएको ६ महिना भएको कारणले उनको गर्भपतन गर्न मिलेन । त्यसपछि उनी सुर्खेतको आवाज संस्थाले सञ्चालन गरेको सेल्टरमा बसिन् । उनी कसैसँग पनि बोल्दिनन् । कहिलेकाही मात्र धेरै फकायो भने अलि अलि बोल्छिन् । सेल्टरको व्यवस्थापन गर्दै आएकी धना जिसीले भनिन्, ‘बलात्कार भएपछि यिनको दिमागमा ठूलो असर परेको रहेछ’ जिसीले भनिन्, ‘उनी आफै अचेत भएर कुरा गर्छिन् ।’  

सुर्खेतको प्रदेश अस्पतालमा बच्चा जन्माएपछि केही समय सेल्टरमा आराम गरिन् र उनी घर फर्किन् । बच्चाको व्यवस्थापन संस्थाले गरिदिएपछि विमालाई घर फर्काइएको हो । अहिले उनी समाजमा बस्न नसक्ने अवस्था भएपछि होटलहरुमा जाने र भाँडा धुदै आफ्नो जिविका चलाउँदै आएकी छन् । विमालाई बलात्कार गर्ने मामा पनि फरार छन् । यता प्रहरीले पनि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

गत साउनमा सुर्खेत गुर्भाकोटकी ९ वर्षिया बालिका निसा बिक बलात्कारको शिकार भइन् । बुवाले मदिरा खाएपछि परिवारमा सधै कलह हुन्थ्यो । आर्थिक अवस्था कमजोर भएका कारण गाउँमा ऋण बढ्दै गएपछि पैसा जोहो गर्न बालिकाकी आमा भारत पुगिन् । एक दिन दिदीको ससुराले उनीमाथि बलात्कार गरे । राती घरमा पाहुनाको रुपमा आएका थिए । रक्सीले मातेर घरमा आएका पाहुनाले राती १२ बजे बालिकालाई बलात्कार गरे । छोरीमाथि बलात्कार हुँदासम्म पनि रक्सीले मातेका बुवालाई पत्तै भएन ।  राती उनी चिच्याएर छिमेकीको घरमा निस्किन र छिमेकीले नै प्रहरीसम्म ल्याए । छोरीमाथि बलात्कार भएको थाह पाएपछि आमा पनि घर फर्किन् । दुई चार महिना भारततिरै बसेर कमाउने उद्देश्यले भारत गएकी उनी एक महिनामै घर फर्कनुपरेको दुखेसो पोखिन् । 

‘कमाउन भारत गएको मौका छोपेर छोरीमाथि यस्तो घटना भएछ’ रुँदै बालिकाकी आमाले भनिन्, ‘घरमा भएको जत्ति श्रीमानले रक्सी खाएर सक्नुहुन्छ  । छोराछोरीलाई साँझ बिहान खुवाउन र पढाइलेखाइको लागि कमाउन भारत जानै पर्ने भयो ।’ घरमा आएपछि बालिकाकी आमा दुई चार हप्ता गाउँ नजिकै रहेको होटलमा भाँडा धोएर गुजरा चलाइन् । श्रीमानले लगाएको ऋण तिर्न उनी विदेश नजानुको विकल्प भएन ।

‘घरखर्च त होटलमा भाँडा धोएर पनि चल्थ्यो तर, साहलाई ऋण तिर्ने पैसा जुटाउन विदेश नगइ भएको छैन ।’ आमा विदेश गएपछि बालिका कहिले आफन्तका शरण लिन्छिन् त कहिले कसैको घरमा काम  गरेर पेट पालेकी  छन् ।बालिकामाथि बलात्कार गर्ने लोकबहादुर कामीलाई भने केही दिन हिरासतमा राखेपनि छोडिएको छ । आर्थिक अभाव र अभिभावक नहुँदा पीडा सहनुको विकल्प छैन ती बालिकालाई । 

बुवा विदेश गएपछि पश्चिम सुर्खेतकी १७ वर्षिया गीता शाही आमासँगै बस्दै आइन् । बुवाले विदेशमै विवाह गरेपछि परिवारलाई वास्ता गर्न छोडे । बुवाले सहयोग गर्न छोडेपछि  आर्थिक अवस्था कमजोर भएका कारण उनी नियमित विद्यालय जान सकिनन् र पढाई ६ कक्षामै पूर्णविराम लाग्यो । 

एक दिन गीता पानी लिएर घरतिर फर्कदै थिएन् । झिसमिसे साँझ पर्दै थियो । उनका सौताने मामा(कान्छीआमाको भाई) आएर उनलाई झ्याप्प समाते । फुत्किन जति नै कोसिस गरेपनि मामाको अगाडी केही लागेन । जंगलमा मुख बुझेर बलात्कार गरे । झमक्क साँझ परेपछि उनी रुदै रित्तै गार्गी लिएर घर फर्किन् । आमाले किन रोएको भनेर सोधेपछि सबै घटना सुनाइन् । छिमेकीको सल्लाहमा उनी आमासहित जोहरी दिइन् । घटनापछि गीता सदरमुकाम वीरेन्द्रनगरमा आफन्तको घरमा बस्दै आएकी छन् । ‘घरतिर जान मन लाग्दैन’ उनले भनिन्, ‘मेरो इज्जत लुट्नेलाई कारवाही हुनुपर्छ ।’

अधिकांश मुद्दा जबरजस्ती करणीका

पछिल्लो समय जिल्लामा मुद्दाको अवस्थालाई हेर्ने हो भने बलात्कारका घटना घटनाहरु बढ्दोक्रममा रहेको पाइएको छ । प्रहरीमा होस् या अदालत अथवा विभिन्न संघसंस्थाको तथ्यांकलाई आधार मान्ने हो भने यी घटनाहरु बढ्दोक्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आएका मुद्दाहरुमध्ये सबैभन्दा बढी घटनाहरु जबरजस्ती करणीका रहेका छन् ।

पछिल्लो पाँच वर्षको अवधिमा सुर्खेतमा एक सय ९० वटा करणीका घटना घटेका छन् । पछिल्लो समय परिवारको संरक्षकत्व नपाएका बालवालिकाहरु माथि नै जबरजस्तीका घटना घटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्रप्रसाद भट्टले बताए । बुवाआमा वैदेशिक रोजगारीमा गएका कारण घरमा बालवालिकाहरु असहाय हुने र यस्ता बालवालिकाहरु नै बलात्कारमा पर्ने गरेको भट्टको भनाइ थियो ।

यसबारेमा प्रहरीसँग आधिकारीक तथ्यांक नभएतापनि प्रहरीमा मुद्दा दर्ता गर्न आउने पीडितहरुलाई हेर्दा वैदेशिक रोजगारीले पनि बलात्कारका घटनामा बढाउन भुमिका भट्टको भनाइ थियो ।

‘विशेष गरी बुवाआमा अथवा बुवा र आमा मध्ये एकजना वैदेशिक रोजगारीमा गएका बालिकाहरु नै यो जोखिममा छन्’ उनले भने, ‘वैदेशिक रोजगारीले बुवाआमाको सम्बन्धमा फाटो आउने र त्यसको मारमा बालवालिकाहरु पर्ने गरेका छन् ।’

बेसाहारा  बालिका बलात्कारमा

बेसाहारा बालिकाहरु नै बलात्कारको शिकारमा पर्ने गरेको पाइएको छ । महिला र बालवालिकाको क्षेत्रमा काम गर्दै आइरहेको आवाज संस्थाका अनुसार संस्थामा न्यायको लागि आएका बालिकाहरु बेसाहारा रहेको पाइएको छ । संस्थाले सञ्चालन गरेको आवासगृहमा ३५ जना बालिका आश्रय लिन आएकोमध्ये २० जना बालिकाका अभिभावक वैदेशिक रोजगारीमा थिए । आवास गृहका सञ्चालक धना जिसीका अनुसार संस्थामा आउने पीडितहरुको अभिभावक वैदेशिक रोजगारीमा गएका र कतिपय अवस्थामा बालिकाको जाहेरीमा हस्ताक्षर गर्न पनि संस्थाका कर्मचारीहरुले गर्नुपरेको बताइन् । अभिभावक विदेश गएका त्यसमा पनि दलित बालिका अझ बढी बलात्कारको शिकार हुने गरेको जिसीले बताइन् ।

‘गरिवीको कारण कमाउनलाई विदेश जाने र बालबच्चा घरमा छोड्ने चलन पनि छ’ उनी भन्छिन्, ‘यसले गर्दा बालवच्चाहरु असुरक्षित हुनुको साथै बलात्कारको शिकार हुने गर्दछन् ।’ अभिभावक विदेश जाने रआफन्तलाई हेरचाहको जिम्मा दिने गर्दछन् । तर, ती हेरचाह गर्न बसेका आफन्तबाट नै बालिका सुरक्षित नहुने गरेको उनले बताइन् । संस्थाको अध्ययन अनुसार अधिकासं घटनाहरुमा आफन्तहरु नै संलग्न भएको पाइएको जिसीको भनाई छ । 

टुक्रिदै सम्बन्ध, विचल्लीमा बालवालिका

पछिल्लो समय सुर्खेतमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । जिल्ला अदालत सुर्खेतको विगत चार वर्षयताको तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना बढ्दै गएको  पाइन्छ । अदालतको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको अवधिमा एक हजार तीन सय जोडीको सम्बन्ध विच्छेद भएको छ । पछिल्लो समय बलात्कार र सम्बन्धविच्छेदका घटनाहरु बढी देखिएका छन् । जसले गर्दा वैदेशिक रोजगार, सम्बन्धविच्छेद र बलात्कार एकअर्कामा परिपूरक देखिएको हुन सक्ने अधिवक्ता गिता कोइरालाको भनाई छ । 

अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाका अनुसार सम्बन्ध विच्छेदको मुख्य कारण बैदेशिक रोजगार रहेको बताए । ‘पुरुषले विदेशबाट पैसा नपठाएको वा वास्ता नगरेको तथा महिलाले समेत घरमा परपुरुषसंग सम्बन्ध स्थापीत गरेको कारण देखाएर सम्बन्ध विच्छेदको मुद्दा दर्ता हुन्छ ।’ भण्डारीले भने ।  यसरी वैदेशिक रोजगारीको कारण अभिभावकको सम्बन्ध टुक्रिदै जाँदा त्यसको मारमा भने बालवालिकाहरु नै परेका छन् ।

सम्बन्धविच्छेदपछि अभिभावक दोस्रो विवाह गर्ने र बालवालिकाहरु विचल्लीमा पर्ने गरेको प्रभाव माध्यामिक विद्यालय कोलडाँडाका शिक्षक भीमबहादुर खड्काले बताए । विद्यालयमा अध्ययनरत पाँच सय विद्यार्थीमध्ये करिब एक चौथाई बालबालिकाहरु यस्तै पृष्ठभुमीका रहेको बताए । उनीहरु आफन्तकहाँ बसेर पढ्ने गर्दछन् । जसका कारण उनीहरुको पढाइलेखाइको वातावरण प्रभावकारी नभएको बताए । ‘कहिले भोकै आएका छौ भनेर कक्षामा बीचमै उठेर जान्छन्’ उनले भने, ‘आफन्तकहाँ उनीहरुलाई भरिपेट खान मुस्किल पर्छ कसरी पढ्लान उनीहरुले ।’ 

त्यतिमात्र होइन अभिभावकको संरक्षकत्वको अभावमा यस्ता बालवालिकाहरु चोरी डकैति जस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको छ । गत वर्ष मात्र वीरेन्द्रनगर नगरपालिका तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बेवारिसे अवस्थामा १५ जना बालकहरुलाई फेला पारेको थियो । 

मानसिक पीडामा बलात्कार पीडित

बलात्कार एउटा दुर्घटना हो । कयौं पीडितहरु बारम्बार वा निरन्तर बलात्कार भइरहेका पनि छन् तर अधिकांस यो अकस्मात उसको जीवनमा आइपरेको घटना मात्रै हो । ती अबोध बालिकाहरुको के दोष तर समाजले उल्टै उनीहरुलाई नै दोषी नजरले हेर्छ । अभिभावक भएका बालबालिकाहरुका त उनीहरुका बुवा आमाले जाहेरी दिन्छन् । तर, बुवाआमा नभएका बालिकाको पक्षमा लड्ने कोही पनि हुँदैनन् ।

पीडित भएपछि धेरै बालिकाहरु घटना भएको घरमा जान चाहदैनन् । घटना भएको घरमा जाँदा फेरीफेरी त्यही घटनाले झस्काउने हुँदा त्यहाँ जान मन नलाग्ने भएको हिंसा पीडित महिला र बालबालिका परामर्श गर्दै आएकी आवाज संस्थाकी मनोविमर्शकर्ता निसा पौडेलले बताइन् । यस्ता बालिकाहरुमा शारीरिकसँगै मानसिक समस्या हुने गरेको  पौडेलले बताइन् । ‘धेरैजसो यस्ता बालिकाहरु एकोहोरो हुने र खान मन नगर्ने खालका हुन्छन्’ उनले भनिन्, ‘कसैले बेसुरमा कुरा गर्ने पनि गर्दछन् ।’

कोही पुरुष देख्ने बित्तिकै डराउने हुन्छन्, कोही कुनै उमेर समूहका पुरुष देख्दा डराउँने गरेको पौडेलले बताइन् । ‘कोही कुनै रङसँग डराउँछन्, वा त्यो रङको कपडा लगाएको चिनेकै मान्छे भएपनि नजिक जाँदैनन्,’ उनी भन्छिन्, ‘कतिपय पीडितहरु विद्यालयमा जाँदा पुरुष शिक्षक देखेर विद्यालय जानै नमान्ने पनि थिए ।’ केसअनुसार फरक पनि हुन्छ तर सामान्यतयाः घटना हुँदाको अविष्मरणीय छापका कारण उनीहरुले यस खालको व्यवहार देखाउने पौडेलको भनाइ छ । 

बुवाआमा विदेशमाभएका बालिका बेसाहारा रबढी मनोवैज्ञानिक समस्यामा हुन्छन्, पौडेलको भनाइ छ। ‘घर, परिवार वा आफन्तहरुको मायाले मात्र बालिकाहरु पीडा बिर्सन सक्छन्।’ पौडेलले बलात्कारको घटनापछि पीडितलाई जति उपचार वा परामर्श दिए पनि उनीहरुमा कुनै न कुनै रुपमा त्यो छाप नमेटिने गरेको बताइन् । 

(यो समाचार ह्युम्यानिटी युनाइटेडको सहयोगमा मिडिया फाउन्डेसनले आयोजना गरेको खोजमुलक मल्टिमिडिया फेलोसिप अन्तर्गत तयार गरिएको हो ।)


Author

लक्ष्मी भण्डारी

भण्डारी इकागजका कर्णाली प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x