३ दल, ६ मुख्यालय
एकीकृत पार्टीभित्र अस्तित्वको खिचातानी
काठमाडौं : ०६३ सालको शान्ति वार्तापछि माओवादी ‘हेडक्वार्टर’ खोज्दै थियो । त्यतिकैमा एउटा खबर आयो, बैंकले काठमाडौंको एउटा घर लिलाम गर्दैछ । ‘कस्तो रहेछ घर ?’ माओवादी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेल र संयुक्त व्यापार व्यवसायी संगठनका अध्यक्ष शिव कट्टेल घर हेर्न दौडिए ।
चारैतिर झाडी नै झाडी । घर त लागूऔषध प्रयोगकर्ताको अखडा जस्तै थियो । प्रयोग भइसकेका लागूऔषध सिरिन्ज र फोहोर विरुप थियो । ढोका चोरी भइसकेका थिए भने झ्याल तोडिएका थिए । वरिपरिका मानिस त्यस घरलाई ‘भूत-बंगला’ संज्ञा दिएका थिए ।
सो घरमा एक व्यवसायीले होटेल चलाउन बनाएका थिए, त्यो घर । तर, योजना बीचमै तुहिएपछि घरको अवस्था नाजुक भइसकेको रहेछ । अनेक कारण बैंक आफैले पनि यो घरलाई प्रयोग गर्न सकिरहेको रहेनछ । माओवादी भने दश वर्षे सशस्त्र संघर्षबाट भर्खरै शहर छिरेको थियो । नेताहरुलाई घरको लोकेशन मन पर्यो ।
त्यसपछि बैंकिङ प्रक्रिया मिलाउने काममा जुटे, कट्टेल । जमरकट्टेल भने हेडक्वार्टर खरिदका लागि आर्थिक जोहो गर्ने काममा लागे । आर्थिक जोहो भएपछि उक्त घर र जग्जा दुई जना व्यक्तिको नाममा नामसारी गरियो । हेडक्वार्टर आफ्नो नाममा राख्ने ती व्यक्ति थिए, अखिल नेपाल ट्रेड युनियन महासंघका तत्कालीन उपाध्यक्ष माधव गौतम र महासचिव गणेश रेग्मी । नामसारी भएपछि दुवै संगठनले आ-आफ्ना स्वयंसेवक लगाएर सरसफाई र रङ्गरोगन गरे । घरमा भित्तामा माओ र लेनिनका तस्बिर झुण्ड्याइए । वरिपरी झ्याङ्गिएको झाडी फाँडेर खुला ठाउँ बनाइयो । र, जसलाई भनियो, पेरिसडाँडा ।
यो वृत्तान्त सुनाउने व्यक्ति हुन्, युवराज पराजुली । जो तत्कालीन माओवादी पार्टी कार्यालयका कर्मचारी थिए । त्यतिबेला उनी कार्यालय भवनको सरसफाई र रङ्गरोगन पनि खटिएका थिए । पराजुली भन्छन्, ‘भवन त्यहीँ छ, तर पार्टी छैन । मेरा नेताहरु त्यही छन्, तर म उनीहरुसँग छैन ।’ तीनकुनेबाट माथि र कोटेश्वरबाट तलतिर पर्ने पेरिसडाँडा माओवादीले व्यहोरेको फुटजुटको एउटा साक्षी हो । ०७५ जेठ ३ मा भएको एमाले-माओवादी एकता र त्यसपछिका दृष्टान्तहरुको पनि साक्षी हो, पेरिसडाँडा ।
यही असोज ४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पेरिसडाँडामा बस्यो । पेरिसडाँडामा बसेको नेकपा सचिवालय त्यो पहिलो बैठक थियो । उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भए । यही सचिवालय बैठकले महाधिवेशनको तयारी अगाडि बढायो ।
नेकपा सचिवालयका अन्य बैठकहरु कि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएका छन् कि अर्को मुख्यालय धुम्बाराहीमा भएका छन् । पार्टी एकतापछि नेकपाले तत्कालीन माओवादी केन्द्रको कार्यालय पेरिसडाँडालाई जनवर्गीय संगठनको कार्यालय र तत्कालीन नेकपा एमालेको कार्यालय घुम्बाराहीलाई मुख्य कार्यालय बनाएको निर्णय गरिसकेको छ । पार्टी एकता भए पनि नेताहरुले एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसकेकाले कार्यालयका पुराना संरचना कायम देखिन्छ । एकतापछि भाडाकै भए पनि पुराना कार्यालयलाई जस्ताको त्यस्तै राखिएको छ । जुसको कारण पार्टी एक भए पनि पूर्ण रुपमा पार्टी कार्यालय एक हुन सकेका छैनन् ।
२०७२ सालको भूकम्पले बल्खुस्थित एमाले मुख्यालयलाई क्षति पुर्याएपछि कार्यालय धुम्बाराही सारिएको थियो । तत्कालीन एमालेले ०७२ साउनदेखि पासाङ ल्हामु स्मृति प्रतिष्ठानको नाममा रहेको भवनलाई भाडामा लिएको हो ।
दुई पार्टीबीच एकता भन्दा पनि गठजोर भएका कारण यस्तो समस्या देखिएको प्राध्यापक कृष्ण खनाल बताउँछन् । ‘तत्कालका लागि एउटा पार्टीले अर्कोबाट फाइदा उठाउने अवस्था देखियो भने यहाँ पार्टी एकता गरिहाल्ने प्रवृति छ, यसलाई एकता भन्दा पनि गठजोड भन्नुपर्ने हुन्छ,' उनी भन्छन्, ‘यस्तो मेलमिलाप प्रकृति सही होइन, त्यसैले एकतापछि एकले अर्काको अस्तित्व स्वीकार गर्दैनन् ।’
जनता समाजवादी पार्टी (जसपा)ले पनि आफ्नो कार्यालय एक बनाउन सकेको छैन् । ०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएको थियो । बबरमहलमा रहेको तत्कालीन राजपाका कार्यालय र बालकुमारीमा रहेको तत्कालीन संघीय समाजवादी फोरमको कार्यालयलाई जसपाले आफ्नो मुख्यालय बनाएको छ । ०७४ असार २९ मा मधेसी निजामती कर्मचारी मञ्चको कार्यालय रहेको भवनमा राजापाले आफ्नो कार्यालय सारेको थियो । राजपा र समाजवादी दुवै खेमाले आफ्नो छलफल आ-आफ्नै कार्यालयमा गर्ने गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्ना दुई वटा कार्यालयलाई एक ठाउँमा ल्याउन सकेको छैन । ०७६ चैत्रमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकता भएको थियो । पार्टी एकताको सात महिनापछि पनि राप्रपाले चाबहिल र धुम्बाराहीस्थित दुई वटै कार्यालयबाट काम गरिरहेको छ । पार्टीका तीन अध्यक्षको कार्यकक्ष चाबहिलस्थित कार्यालयमा छ । यो कार्यालय पशुपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन राप्रपा संयुक्तको हो ।
चाबहिलस्थित कार्यालयमा छलफल गर्ने ठूलो हल नभएका कारण धुम्बाराहीको कार्यालय पनि प्रयोग भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठ बताउँछन् । ‘अध्यक्षहरुको कार्यालय चाबहिलकै कार्यालयमा छ, अरु काम तथा छलफलहरु जता पायक पर्छ त्यतै हुन्छन्,’ उनी भन्छन् ।
उस्तै संसदीय कार्यालय
पार्टीहरुको संसदीय कार्यालयको अवस्था पनि उस्तै छ । पार्टी एकीकरण भएको लामो समय भइसक्दा पनि संसदीय दलका कार्यालयहरु एकीकृत हुन सकेका छैनन् । सत्तारुढ दल नेकपाकै उदाहरण हेरौं, सिंहदरबारस्थित संसद सचिवालयमा नेकपा संसदीय दलका दुईवटा कार्यालय छन् । जसमध्ये एउटा पूर्वमाओवादी केन्द्रको हो भने अर्को पूर्व एमालेको हो । यी कार्यालय अझै एक हुन सकेका छन् ।
संसद सचिवालय भवन-२ मा नेकपाको एउटा संसदीय कार्यालय छ । भवनको चौँथो तलामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको संसदीय कार्यकक्ष छ । त्यस्तै नेकपाको अर्को संसदीय कार्यालय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै जोडिएको छ । नेकपाका अर्का अध्यक्ष ओलीको संसदीय कार्यकक्ष यही छ ।
जसपा संसदीय दलको कार्यालयको अवस्था पनि त्यस्तै हो । संसद सचिवालयमा यो पार्टीका तीनवटा कार्यालय छन् । पार्टी एकताको लामो समय गुज्रिँदा पनि संसदीय दलको कार्यालय व्यवस्थापन हुन सकेको देखिदैन । संसद सचिवालय भवन-१ सँगै जोडिएको छ, तत्कालीन नयाँ शक्ति संसदीय दलको कार्यालय । यसकै छेउमा तत्कालीन राष्ट्रिय जनता पार्टीको कार्यालय छ । त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी संसदीय दलको कार्यालय संसद सचिवालय भवन-२ को पाँचौँ तलामा राखिएको छ । यी तीनवटै पार्टीबीच एकता भइसक्यो, तर संसदीय दलको कार्यालय एक हुन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया