अहिलेको अवस्था आउनुमा देउवा, दाहाल र नेपाल पनि जिम्मेवार हुनुहुन्छ : डा.शेखर कोइराला
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुकमा अहिलेको अवस्थाा आउनुमा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल जिम्मेवार रहेको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज मोरङले शनिबार आयोजना गरेको कार्यक्रमका डा. कोइरालाले ओलीले अढाई वर्षदेखि संविधान कुल्चेर विभिन्न अधिकारहरू आफू मातहत ल्याइरहँदासम्म दाहाल र नेपाल मौन बसेको बताए ।
‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पनि शंकाको घेरामा पर्नु भएको छ,’ कोइरालाले भने, ‘त्यसैले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक भएकाले त्यसलाई टेकेर नियुक्ति गरेका सबैलाई खारेज गर्नु पर्छ ।’
पार्टी सभापति देउवाले व्यक्तिलाई महत्व दिएकाले प्रतिनिधि सभा पुनस्र्थापनाका लागि गरिएको आन्दोलन सशक्त हुन नसकेको र कांग्रेसको भूमिका नदेखिएको कोइरालाले बताए । ‘सभापति देउवाजी द्विुविधामा हुनुहुन्छ,’ उनले भने, ‘गलतलाई गलत भन्न नसक्ने राजनीतिक दलको अस्तित्व रहँदैन भन्ने कुरो सबैले बुझ्नु आवश्यक छ ।’
प्रधानमन्त्रीको असंवैधानीक कदमविरुध्दको आन्दोलनले गति नलिन नसकेको कोइरालाको भनाइ छ । ‘असंवैधानिक एवं अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जुन गतिका साथ आन्दोलन अघि बढ्नु पर्ने हो, त्यो गति देखिएको छैन ।’
प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब नदिन कोइरालाको आग्रह थियो । ‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन,’ कोइरालाले भने, ‘त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुनः सशक्त आन्दोलनको आवश्यकता छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया