प्रमुख समाचार

प्रवासमा दसैँ

गाउँघर–बाल्यकाल सम्झेर रुँदै–रमाउँदै

इकागज |
कात्तिक ७, २०७७ शुक्रबार १७:५४ बजे

फाइल तस्वीर

काठमाडौँ :  कोभिड­­–­­­१९ को महामारी भए पनि आफ्नो परम्परा नछाड्ने प्रवासमा रहेका नेपालीहरूले बताएका छन् । नेपाली हिन्दू धर्मालवम्बीहरूको महान् चाड दसैँमा सकेसम्म घर फर्कन चाहन्छन्, उनीहरू । तर, बिदा, उडान, कोभिड नभएको प्रमाणपत्रजस्ता झन्झटले उनीहरू विदेशमै बसेर ‘भर्चुअल दसैँ’ मनाउने भएका छन् ।

दसैँमा घर फर्कन चाहने नेपालीहरूको संख्या पनि ठूलै छ । यसपटक पनि यो संख्या झन् बढ्दो छ । तर, पहिलेजस्तो कम्पनीको छुट्टी र टिकट खरिदले मात्र यसपटक आफ्नो भूमि फर्कन पाइँदैन । यसपटक नेपालतर्फ आउने सीमित उडानको पर्खाइ र कोभिड–१९ परीक्षण रिपोर्टका साथै आइसकेपछिको क्वारेन्टिन मात्र होइन, फर्कंदा हुने झन्झटले गर्दा धेरैले उतै दसैँ मनाउने भएका छन् ।


खाडी र मलेसियाका मात्र होइन, युरोप र अमेरिकामा रहेका नेपालीहरूको पनि यस्तै योजना–चाहना छ । हिन्दूहरूको सबैभन्दा ठूलो पर्व भएर होला, सबै नेपाल आउने र घर–परिवारसँग रमाउन चाहन्छन् । यो पर्व विश्वभरि रहेका हिन्दूहरूले मनाउँछन् । यसपटक सरकारले पनि जो जहाँ छ, त्यहीँ रहेर पर्व मनाउन भनेको छ । त्यसलाई पूर्ण पालना गर्दै नेपालीहरू आफ्नो दसैँ फरक तवरले मनाउँदै छन् ।

आज फूलपाती दसैँको सातौँ दिन हो । दसैँ प्रायः असोज र ढिलोमा कात्तिकमा पर्ने गर्छ । यो पर्व १५ दिनसम्म मनाइन्छ । यो पर्व घटस्थापनाको दिन जमरा राखेर सुरु हुन्छ र पूर्णिमाको दिनमा जमरा सेलाएर समापन गरिन्छ । देवीले दानव वध गरेको खुसियालीमा यो पर्व मनाइन्छ । यो पर्वमा देवी दुर्गाको पूजा–आराधना गरिन्छ । सम्भव भएसम्म देवीका मठ–मन्दिर पुग्ने, आराधना गर्ने गरिन्छ ।

हुन पनि यसको आफ्नै रौनक पनि छ । जमरा राख्ने, पूmलपाती भित्र्याउने, मार हान्ने, औजारहरूको पूजा गर्ने प्रचलन स्वदेशमा रहेका हिन्दूहरूका लागि सम्भव भए पनि प्रवासमा रहनेहरूका लागि देश, काल, परिस्थितिअनुसार सम्भव नहुन सक्छ । तर पनि उनीहरूले आफ्नो तवरले दसैँ मनाउँछन् ।

‘दसैँमा घर जान सबै नेपालीलाई मन लाग्नु स्वाभाविक हो । हुन त अधिकांश जान चाहनेहरू नेपाल फर्किसकेका छन् । बिदा मिलाएर जाने हुन् या जागिर छोडेर जाने,’ साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्र पी सिंह भन्छन्, ‘अझै केही जान चाहनेहरू छन् । उनीहरू भएको उडानमा गइरहेका पनि छन् । कतिपय जान चाहनेहरू पनि काममा फर्केका छन् । नेपालमा गएर के गर्ने भन्दै काममा फर्केका हुन् ।’

चाडबाडमा परिवारसँग बस्न रमाउन कसलाई मन हुँदैन र ? उनी भन्छन् । भोक रोगभन्दा पनि ठूलो हो । त्यसैले यसमा नेपाली जनता परिचित रहेकाले पनि यहाँ काम गर्दै आफ्नै तवरले दसैँ मनाउनेहरू छन् । साउदी सरकारले भीडभाड गर्न नदिने हुनाले उनीहरू सामान्य ढंगले जमघट गरेर दसैँ मनाउलान् । नेपालमा जस्तै विधि पु-याएर दसैँ मनाउन नसके पनि उनीहरूले आफ्नो परम्परालाई भने तोड्दैनन् ।

बाल्यकालको रमाइलो नोस्टाल्जिया सँगालेर संसारभर छरिएका नेपालीहरू यसपालि देश फर्किन पाएनन्, उसो त नेपालमै पनि चाडबाडको भेटघाट भर्चुअल नै हुँदै छ । प्रस्तुत छ, प्रवासको दसैँ–तयारी:

विदेशिएका कतिपय दसैँमा घर फर्कनुको कारण दसैँमा हुने यहाँको माहोल र मौसम पनि हो । तर काम, पढाइ तथा अन्य बाध्यताले नेपाल आउन नसक्नेले पनि दसैँलाई आफ्नै किसिमले मनाएर रमाइलो गर्छन् । नेपाल आउन नपाउने प्रवासी हिन्दूहरूले पनि आफ्नै कर्मथलोमा दसैँलाई रमाइलो किसिमले मनाउने प्रयास गरिरहेका छन् ।

मलेसियामा कार्यरत रामचन्द्र तिमिल्सिना भन्छन, ‘घर आउन त मन छ । तर, छुट्टी मिल्दैन । के गर्ने ? यहीँ रहेर दसैँ मनाउने हो अब । आफ्नै पाराले । साथीहरू यसो जम्मा हुने, मासु ल्याउने सिनियरबाट जुनयरले टिका लाउने मनाउने ।’

उनी जस्तै दुबईमा कार्यरत रामकृष्ण श्रेष्ठ पनि त्यही भन्छन्, ‘टिकाको दिन भने हाम्रो कम्पनीले छुट्टी दिएको छ । एउटै कम्पनीमा हामी ६५ जना कार्यरत छौँ । त्यो दिन हाम्रो कम्पनी नै बन्द हुन्छ ।’

‘हाम्रो महान् चाड बुझेर नै कम्पनीेले यस्तो गरेका हुन्’, उनले भने । कतिपय कम्पनी तथा त्यसका प्रमुखहरूले नेपालीको चाड बुझेर नै यो प्रकारको सुविधा दिएका हुन्छन् । दक्षिण कोरिया कुबेत, बहराइन, ओमानमा काम गर्ने नेपालीको मात्र होइन, पूरै बसाइ सरेर युरोप–अमेरिकामा रहेकाहरूको पनि अवस्था उही छ । आफ्नै व्यवसाय गरेका हुन् या अन्यकोमा काम गर्नेहरू, दसैँमा आफ्नाहरूसँग टिका लाउने–रमाउने गर्छन् ।

१० वर्षदेखि अमेरिकामा रहेका किरण मरहठ्ठा भन्छन्, ‘आफ्नो विधिअनुसार नै यहाँ पनि दसैँ मनाउँछौँ । तर, नेपालमा जस्तो उमंग त कहाँ हुनु ? त्यो माहोल पनि त हुँदैन । यद्यपि आफ्नोपनलाई नेपालमा भएको अनुभूति गराउनेछु ।’

उनी दसैँ मनाउन त्यसपछि नेपाल आउन पाएका छैनन् ।

उनी जस्तै अर्का नेपाली रामहरि अधिकारी पनि केही समय युरोपमा रमेर अमेरिकामा संघर्ष गर्न थाले । तर, दसैँमा भने सबै काम छोडेर रमाइलो गरिन्छ । आफ्नो परम्परा छोडिन्न । उनी विगत एक दशकमा दसैँमा दुईपटक मात्र नेपालमा रम्न पाएका छन् । नेपाली समुदाय र आफन्तहरूसमेत दसैँमा बढेकाले अमेरिकामा पनि दसैँ रमाइलो नै हुन थालेको उनी बताउँछन् । कतिपय नेपालीहरू सुरु–सुरुमा दसैँ मनाउन नेपाल आउन नपाउँदा रोएर नै बसेको पनि सुनाउँछन् ।

कतिपयलाई भने अहिले दसैँमा पनि विदेशमा बानी परिसकेको छ । युरोपको सुन्दर मुलुक स्वीट्जरल्यान्डमा रहेका रोशन शर्मा पनि नेपालीसँग मिलेर आफ्नै कर्मथलोमा दसैँ मनाउने गरेको सुनाउँछन् । पहिले पहिले त स्वीट्जरल्यान्डमै दसैँ मनाउन हल बुकिङ गर्ने गरिन्थ्यो तर अहिले त्यो अवस्था रहेन । कोभिडले त्यसमा मार हानेको छ ।

स्पेन होस् या बेलायत सबै स्थानमा रहेको नेपाली अहिले फेस्टिभ मुडमा नै छन् । त्यहाँ यो चाडको कुनै चासो हुँदैन तर नेपालीले मनाएको यो चाडलाई देखेर विदेशीहरूसमेत रम्न थालेका छन् । अस्टे«लियाका एक काउन्टीले त नेपालीलाई दसैँमा बिदा नै दिन थालेको छ । कतिपय कम्पनीहरूले नेपालीलाई अस्ट्रेलियामा दसैँ–तिहारमा बिदा नै दिन्छ ।

क्यानडा होस् या अस्ट्रेलिया, नेपालीहरू दसैँमा आफ्नो परिवारसँग रहेर रमाउन कार्यालयमा बिदा लिने गर्छन् । कतिपय नेपालीहरू मेसिन जस्ता काम गर्ने हुनाले श्रीमान् र श्रीमतीको भेट हुन पनि बिदा लिनुपर्ने अवस्था विदेशमा छ । यहाँ सोचेजस्तो अवस्था होइन ।

 

हिन्दूहरूले टिका र जमरा लगाएर दसैँ मनाउने भएकाले टिकाका लागि धार्मिक परम्पराअनुसार जमरा राख्ने नेपाली समुदाय विदेशमा बढिरहेका छन्  । उनीहरू दसैँमा घरमै आमाबुवाको साथमा मिलेर टिका थाप्ने पनि गर्छन् । कतिपयले नेपालबाट आफ्ना बुवा–आमालाई उतै बोलाएका पनि छन् ।

काममा सहजै बिदा नमिल्ने हुँदा कतिपयले दुई महिना अगाडिदेखि बिदाको चाँजो मिलाएका हुन्छन् । कतिपयले भने कामबाट फर्केपछि बेलुकी आफ्नो कोठामा आएर दसैँ मनाउने गर्छन् । नेपालको जस्तो अवस्था हुँदैन विदेशमा । टिका लगाउने दिन पनि युनिभर्सिटी र स्कुलहरू खुल्लै हुनाले आफूहरू दिनभर त्यतै व्यस्त हुनुपर्ने उनीहरू बताउँछन् । विदेशमा जेनतेन परम्परा जोगाउने हो नेपालको जस्तो उल्लास भने विदेशमा नहुने उनीहरूले बाए ।

हुनत कतिपय स्थानमा प्रशस्तै मात्रामा साथीभाइ भएकाले नेपालको जस्तै रमाइलो हुने बताउँछिन्, सरिना थापा । घटस्थापनाको दिन आलोपालो साथीकहाँ जाने–आउने, खाने, रमाइलो गर्ने उनले सुनाइन् । यसपटक भने कोभिडले गर्दा अघिल्लो वर्षको जस्तो छैन ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीे पनि यसपटक पहिलेको जस्तो रौनक नहुने देख्छिन् । ‘तर, भर्चुअल माध्यमबाट नै दसैँलाई राम्रोसँग मनाउनेछौँ,’ उनले भनिन्, ‘जो जहाँ रहेर भए पनि सद्भाव बाँडेर दसैँ मनाउनेछौँ ।’

यहाँ रहेका नेपालीहरू पनि यसै गरी दसँै मनाउनेछन् । यहाँको कामको चटारोसँगै कोरोनाको डरलाई छिचोलेर दसैँ मनाउनेछन् ।

विदेशी भूमिमा भए पनि गाउँघरमा मनाएको दसैँको ताजा स्मरण रहनेछ । त्यही स्मरणलाई लिएर उनीहरूले दसैँ मनाउनेछन् । यसपालि परिस्थिति राम्रो भएन । तर, नेपालीहरुको विशेषतै यही हो कि नेपालीहरू रुँदारुँदै रमाउन सक्छन्, शोकलाई शक्तिमा बदल्न सक्छन् । आखिर दसैँ पनि शक्तिको उपासनाको चाड हो नि !


Author

थप समाचार
x