भारतबाट ल्याइएको काेराेना खोप कति सुरक्षित ?
काठमाडौं : नेपालमा झण्डै दुई हजार जनाको ज्यान लिएको कोभिड–१९ भाइरसविरुद्धको खोप पहिलोपटक भारतबाट ल्याइएको छ । एयर इण्डियाको जहाजबाट बिहीबार काठमाडौँ ल्याइएको दश लाख डोज खोप पाँच दिनभित्र लगाउन सुरु गर्ने तयारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ पाँचमा पहिलोपटक कोभिडका कारण सिन्धुपाल्चोककी महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । त्यसयता कोभिड–१९का कारण खोप ल्याइएको दिनसम्म एक हजार नौँ सय ७५ जनाको ज्यान गइसकेको छ ।
यो समाचार तयार पार्दासम्म दुई लाख ६८ हजार बढी संक्रमित छन् । दुई लाख ६२ बढी कोभिडमुक्त भइसके । नयाँ प्रकारको कोभिड समेत नेपालमा देखिएका बेला भारतबाट पहिलोपटक ल्याइएको खोप कति सुरक्षित छ ? भन्नेतर्फ धेरैको चाँसो देखिन्छ । यससँगै क–कसले खोप लगाउने ? भन्ने प्रश्न पनि यथावत छ ।
भारतमै कोभिड–१९ खोप लगाएका दुई जनाको यसै हप्ता मृत्यु भएपछि यसको ‘साइड इफेक्ट’को विषयमा पनि बहस छेडिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर खोप लगाएका दुई जनाको मृत्यु भएको पुष्टि गरेपनि मृत्युको ठोस कारण कोभिड–१९ खोप नभएको दाबी गरेको छ । खोप लगाएका अन्य सात जनालाई पनि अस्पताल भर्ना गर्नुपरेको थियो ।
गएको सोमबारसम्म भारतमा खोप लगाएका झण्डै चार लाखमध्ये पाँच सय बढीलाई त्यसको असर देखिएको छ । कोभिड खोप लगाएपछि त्यसको असर देखिएको भारतमा मात्रै होइन, अन्य मुलुकमा पनि छ । नर्वेमा मात्रै कोभिड–१९ खोप लगाएका २३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तै अमेरिकामा विभिन्न चरण पार गरिसकेको फाइजर खोप लगाएका एक जना डाक्टरको पनि मृत्यु भएको थियो ।
परीक्षणमै छ नेपाल ल्याइएको खोप !
भारतले प्रयोगका लागि अनुमति दिएको ‘कोभिशिल्ड’ खोप नेपाल ल्याइएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय, बेलायतमै रहेको बहुराष्ट्रिय कम्पनी अष्ट्रजेनिका र भारतको सेरम कम्पनीले संयुक्त रुपमा उत्पादन गरेका हुन् । सेरम विश्वमा धेरै खोप उत्पादन गर्नेमध्येको एक ठूलो कम्पनी हो । अहिले तेस्रो चरणमा परीक्षणकै क्रममा रहेको यो खोप आपतकालिन प्रयोगका लागि नेपाल ल्याइएको हो ।
यद्यपि परीक्षणका सबै चरणहरू पार गरी नसकेका कारण यो खोपले सबैलाई सकारात्मक नतिजा दिन्छ भन्ने छैन । केहीलाई यसको असर समेत देखिन सक्ने विज्ञहरूको भनाई छ । भारतमा पनि खोप लगाएका व्यक्तिहरूमा प्रतिकुल असर देखिएकै कारण उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।‘भारतबाट ल्याइएको खोप परीक्षण (ट्रायल) फेजमै छ । परीक्षणमै रहेका कारण खोपले केहीलाई असर पनि गर्न सक्छ’ सरुवा रोग विज्ञ डा.बाबुराम मरासिनीले इकागजसँग भने, ‘पूर्ण सुरक्षित खोप नभए पनि यसले धेरैलाई असर गरेको छैन । यसको असर भयानक पनि देखिएको छैन । आत्तिनु पर्दैन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन प्रयोगका लागि कोभिड–१९ खोपको अनुमति दिएपछि विज्ञहरूले यसको ‘साइड इफेक्ट’ भयानक हुने चेतावनी दिएका थिए । तर अहिलेसम्म भारतमा त्यस्तो भयानक प्रतिकुल असर भने देखिएको छैन । सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुन भारतबाट ल्याइएको खोपमा ठूलो ‘साइड इफेक्ट’ नरहेको बताउँछन् । प्रारम्भिक परीक्षणको चरणमा सफल र प्रभावकारी देखिएकाले खोप प्रयोगका लागि अनुमति दिएको डा. पुनले बताए ।
‘भारतमा उत्पादन लगत्तै परीक्षण गर्दा सफल भएपछि नै यो खोप प्रयोगका लागि अनुमति दिइएको हो’ डा. पुनले इकागजसँग भने, ‘त्यसैले आत्तिनुपर्ने वा डराउनुपर्ने छैन् । यद्यपि केहीलाई ‘साइड इफेक्ट’ पनि देखिन सक्छ । सरकारले भारतबाट ल्याएको शुरुको १० लाख डोज कोभिड–१९ खोप ‘फ्रन्टलाइनर’ (चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवी, अस्पतालमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतलाई) लाई लगाउने बताएको छ । खोप आउने बित्तिकै चिकित्सकलाई नै पहिले खोप दिने भएपछि स्वास्थ्यकर्मी केही उत्साहित पनि छन् ।
‘खोप आएपछि उत्साहित छु । सरकारले प्राथमिकताका साथ स्वास्थ्यकर्मीलाई दिने भएपछि केही दिनमा म पनि लगाउँछु,’ डा. पुनले भने, ‘तर हामीभन्दा पनि कोभिड–१९ को जोखिममा रहेका मानिसहरू (जेष्ठ नागरिक) लाई खोप लगाउँदा यसको मृत्युदर घटाउन सकिन्छ कि भन्ने मेरो बुझाई छ ।’
खोप कूटनीतिमा कति सफल ?
भारतले अन्य मुलुकसँग प्रतिस्पर्धामा उत्रिनका लागि पनि पर्याप्त परीक्षणका चरण पार नगरेरै कोभिड–१९ खोप प्रयोगका लागि अनुमति दिएको हो । दक्षिण एसियामा ‘खोप कूटनीति’ बलियो बनाउन आपतकालिन प्रयोगका लागि भएपनि भारतले तत्कालै नेपाल लगायत छिमेकी मुलुकलाई खोप उपलब्ध गराएको छ ।
तुलनात्मक रुपमा चीनले भन्दा पहिले नेपाललाई खोप दिएको भारतले दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम राख्न पनि परीक्षण चरणकै कोभिड–१९ खोप उपलब्ध गराएको बुझाई विज्ञहरूको छ ।
‘भारतको खोप कूटनीति पनि बलियो छ भन्ने देखाउँछ’ मरासिनी अगाडि भन्छन्, ‘नेपाललाई चाहिएको कोभिड–१९ खोप अरुबाट लिनुभन्दा भारतबाटै ल्याउन सजिलो छ । परराष्ट्रमन्त्री को भारत भ्रमणका क्रममा नै भारतले खोप उपलब्ध गराउने जनाएको थियो ।
कहाँ कुन खोप ?
बेलायत, अमेरिका र रुसले चरणवद्ध रूपमा परीक्षण गरेर त्यसबाट हुने ‘साइडइफेक्ट’ घटाउँदै खोप प्रयोगका लागि अनुमति दिएका छन् । बेलायतले सबैभन्दा पहिले सर्वसाधारणका लागि खोप प्रयोगको अनुमति दिएको थियो ।अक्र्सफोर्ड विश्वविद्यालयले बनाएको खाेप बेलायत सरकारले सर्वसाधारणका लागि प्रयोगको अनुमति दिएको हो । यो सस्तो र प्रभावकारी रहेको दाबी गरिएको छ । तर अमेरिकाले उत्पादन गरेको फाइजर र मोर्डना पनि बेलायतमा धेरैले प्रयोग गरिरहेका छन् ।
यस्तै रुसले ‘स्पुत्निक’ नामको खोप सर्वसाधारणका लागि प्रयोग गरिरहेको छ । दुई महिनाअघि तेस्रो चरण पूरा गरेपछि नै रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले सर्वसाधारणका लागि कोभिड खोप प्रयोगका लागि अनुमति दिएका थिए । यस्तै चीनले ‘सिनोभ्याक’ र ‘सिनोफाम’ खोप परीक्षण गरिरहेको छ । चीनले आफ्नो खोप प्रभावकारी हुँदै गएको दाबी पनि गर्दै आएको छ । यसबाहेक दक्षिण कोरिया, ब्राजिल, जापान लगायतका मुलुकले पनि कोभिड–१९ खोप उत्पादन गरिरहेका छन् । तर सबै परीक्षणकै क्रममा रहेकाले प्रभावकारी खोप भने बजारमा आउन समय लाग्ने देखिन्छ ।
यसबीचमा परीक्षणमा रहेका खोपभन्दा साइडइफेक्ट कम भएका खोप ल्याउन सरकारले पहल थाल्नुपर्ने विज्ञहरूको सुझाव छ । ‘तुलानात्मक रूपमा सरकारले प्रभावकारी खोप ल्याउन पहल थाल्नुपर्छ’ मरासिनीले भने, ‘कोभिडको जोखिम बढिरहेका बेला भारतको मात्रै भर परेर, अनुदान थापेर हुँदैन् । विकसित मुलकसँग पनि कुटनीतिक च्यानल प्रयोग गरेर खोप ल्याउनुपर्छ ।’
सरकारले खोप खरिदका लागि विश्वका ६ मुलुकका ११ कम्पनीलाई कूटनीतिक पत्राचार गरेको छ । र, ति मुलुकसँग कूटनीतिक संवाद पनि अघि बढाउँदै लागेको छ । यद्यपि नेपालमा २ देखि ७ डिग्री सेन्टीग्रेटमा रहन सक्ने खोप मात्र उपयोगमा ल्याउन सक्ने अवस्था छ । माइनस डिग्रीमा रहने खोप नेपालको सबै भूभागमा पुर्याउन नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले इकागजलाई बताउँदै भने, ‘भारतसँगको खोप आईपुगेको छ । अन्य मुलुकसँग पनि खोपको लागि छलफल भैरहेको छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया