प्रमुख समाचार

अर्थतन्त्र खुम्चिँदा सेयर बजारमा उछाल किन अस्वाभाविक ?

पवन तिमिल्सिना |
माघ १०, २०७७ शनिबार ९:२४ बजे

काठमाडौं : बिहीबार सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ऐतिहासिक बिन्दूमा पुग्यो । ४४ वर्षको इतिहासमा पहिलोपटक नेप्से दुई हजार चार सय बिन्दूको नजिक पुगेको छ । नेप्से परिसूचकले यसअघिको रेकर्ड यही मंसीर १७ मा तोडेको थियो ।

पछिल्लो तीन सातायता नेप्सेको उकालो यात्रा रोकिएको छैन । कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले बन्दाबन्दी लगाएपछि ४९ दिन बन्द भएको सेयर बजार खुल्ने बित्तिकै घटेर १२२६ बिन्दूमा पुगेको थियो । बैशाखको अन्तिम कारोबार दिन यो १२०१ बिन्दूमै झर्‍यो ।


असार १५ मा सेयर बजार परिसूचक- नेप्से ११८८ बिन्दूसम्म पुग्यो । पछिल्लो सात महिनामा सेयर बजार दुई गुणाले बढेको देखिन्छ । यसबीचमा नेपाल पुनर्बीमा कम्पनीको सेयरलाई उदाहरण लिने हो भने, पुनर्बीमा कम्पनीको सेयर सुरुवाती कारोबारमा प्रतिकित्ता ३८२ रुपैयाँबाट प्रति कित्ता १५ सय १५ रुपैयाँ पुगेको छ । अर्थात, पुनर्बीमा कम्पनीका लगानीकर्ताले चार गुणा नाफा कमाए । यति कम समयमा अन्य क्षेत्रमा लगानी गरेर नाफा आर्जन गर्न सम्भव छैन ।

पछिल्लो समय सेयर बजारमा सूचीकृत कम्पनीहरूको संख्या वृद्धि, बैंकहरूको थप सेयर निष्काशनले सेयरको आपूर्ति अधिक बढेको छ । त्यस आधारमा सेयर बजार यसअघिको रेकर्ड तोडेर अघि बढ्नु अस्वभाविक होइन । तर अर्थतन्त्र खुम्चिदों छ, अधिकांश कम्पनीहरूको नाफा ओरालो लागेको छ । यस्तो अवस्थामा सेयर बजारमा उछाल आउनु अस्वभाविक रहेको जानकारहरू बताउँछन् ।

सट्टेबजारमा उछाल आउँदा अर्थतन्त्र किन कमजोर ?
सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ । अर्थतन्त्रलाई प्रतिबिम्बित गर्ने प्रमुख सुचकमध्ये सेयर बजार पनि एक हो । सेयर बजारले सही रूपमा अर्थतन्त्रलाई किन प्रतिबिम्बित गर्न सकेन ?  नेपाल मात्रै होइन छिमेकी मुलुक भारत लगायतका देशहरूमा समेत यस्तै प्रवृत्ति देखिएको छ । भारतको अर्थतन्त्र त सन् २०२० मा १०.३ प्रतिशतले खुम्चिएको प्रक्षेपण छ । अमेरिका र युरोपमा पनि यस्तै प्रवृत्ति देखापरेको छ ।

यद्यपि, अर्थतन्त्रमा लगानीका अन्य क्षेत्र संकुचन भएकाले लगानीकर्ता सेयर बजारमा ओइरिदाँ विश्वभर सेयर बजारमा ‘वेभ’ आएको हो । नेपालमै पनि २०७२ सालको महाभूकम्प र नाकाबन्दीपछि नेपालको सेयर बजार उच्चतम् बिन्दूमा पुगेको थियो । त्यतिबेला नेप्सेले यसअघिको उच्च रेकर्ड बनाएको थियो । जबकी भुकम्प गएको वर्ष मुलुकको आर्थिक वृद्धिदर ०.०१ प्रतिशतमा खुम्चिएको थियो ।

विश्व बैंकको पछिल्लो अध्ययनले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ६ प्रतिशतमा सीमीत रहने प्रक्षेपण गरेको छ । अघिल्लो वर्षमा आर्थिक वृद्धिदर ० दशमलव २ प्रतिशत रहेको उसको अनुमान छ ।

अर्थतन्त्रको ऐना मानिने सेयर बजारले मुलुकको आर्थिक असमानताको स्पष्ट दृश्य छर्लंग पारेको अर्थविद् केशव आचार्य बताउँछन् । किनकी धेरै मानिसहरू दैनिक छाक टार्न समस्यामा हुँदा  हुनेखाने वर्ग भने सेयर बजारमा लगानी बढाइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरू पनि लगानी गर्ने ठाउँ सेयर बजारलाई बनाए । ब्याज सस्तो भएपछि लगानीकर्ता पनि ऋण लिएरै लगानी गर्न हौसिएकाले अहिले बजारमा उछाल आएको उनको विश्लेषण छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विगतमा चालेको कदमले मुलुकको आर्थिक क्रियाकलाप ठप्प भयो । यसले माग र आपूर्तिबीचको सन्तुलनलाई खलबलायो ।

गत बैशाख ८ गते विश्व बैंकले प्रकाशन गरेको एउटा ‘डेटा ब्लग’मा कोभिड-१९ का कारण विश्वमा कम्तीमा ४ करोड ९० लाख व्यक्ति गरिबीको रेखामुनि धकेलिने उल्लेख थियो। त्यसमध्ये दक्षिण एसियामा १ करोड ६० लाख गरिब थपिने प्रक्षेपण गरिएको थियो । राष्ट्र बैंकको पछिल्लो प्रक्षेपणले उद्योग व्यवसायमा कार्यरत २२ प्रतिशत कामदारले रोजगारी गुमाएको देखाएको छ । मुलुकको खस्किदाें अर्थतन्त्रका कारण गरिबी बढीरहेको छ ।

राष्ट्र बैंककै तथ्यांकअनुसार कोभिड-१९ ले रेमिट्यान्स आप्रवाहमा ठूलो असर परेन । कोभिड-१९ ले लगानीका प्रमुख क्षेत्रहरू प्रभावित छन् । जसले  पैसा हुने र धनीमानी वर्गका लागि सेयर बजार छिटो लगानी गरेर प्रतिफल लिने ठाउँ भएको आचार्यको भनाइ छ । ‘कोभिड-१९ ले गरिब वर्गलाई के खाने, कसरी बाँच्‍ने चिन्ता छ भने पैसा हुने वर्ग लगानी सुरक्षित हुने ठाउँको खोजिरहेका छन् । बजारमा अत्यधिक तरलताको उपलब्धताले सेयर बजारमा पैसा गएको हो,’ उनले भने ।

सेयर बजार बाहेक सट्टेबाजले लगानी गर्ने ठाउँ घरजग्गा हो । सरकारले  कित्ताकाट खोले पनि सर्वोच्च अदालतले रोकिदिएपछि घरजग्गा कारोबार बढ्न सकेको छैन । सुनमा लगानी गर्न अन्तर्राष्ट्रीय बजारकै प्रभावस्वरुप सुन महंगिएको छ । पर्यटन, कृषि तथा लगानीका अन्य आकर्षक क्षेत्र प्रभावित छन् । पैसो हुनेहरूका लागि सेयर बजार लगानीको सजिलो र छिटो माध्यम भएको उनको भनाइ छ ।

अर्कोतर्फ बैंकहरूले निक्षेपमा ब्याज घटाएपछि मानिसहरू बैंकमा पैसा राख्नुभन्दा लगानी गर्न उत्प्रेरित भएका छन् । बैंकले निक्षेपमा दिने ब्याजदरसँग सेयर लगानीमा प्रत्यक्ष सम्बन्ध छ । मुद्दती निक्षेपमा पनि राम्रो ब्याज आउने अवस्था छैन ।

साधरण निक्षेपको ब्याजदरको तुलनामा मुद्रास्फिती बढी छ । राष्ट्र बैंकका अनुसार पछिल्लो चार महिनाको औसत मुद्रास्फिती ४.०५ प्रतिशत छ । लामो समयदेखि अधिक तरलताको स्थिति छ । अपेक्षा अनुसार कर्जाको माग समेत छैन ।

अधिक तरलता खेपेका बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाइरहेका छन् । कोभिड-१९ सुरू हुनुअघि अधिकतम करीब साढे ९ प्रतिशतसम्म ब्याज व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएका थिए । अहिले वाणिज्य बैंकहरूले मुद्दती निक्षेप घटाएर न्यूनतम् ३ प्रतिशतसम्म झारेका छन् ।

सेयर बजारमा आउने उतारचढावमा लगानीकर्ताको ‘मनोवैज्ञानिक’ प्रभाव अर्को मुख्य कारण भएको अर्थविद् आचार्य तर्क गर्छन् । पूर्व अर्थमन्त्री युवराज खतिवडा र बजारबीचको सम्बन्ध सधै पानी बाराबार चल्यो । सार्वजनिक कार्यक्रममा उनले गरेका भाषण र उनको सेयर बजारप्रतिको दृष्टिकोणलाई लिएर लगानीकर्ताहरूले आफ्नो मनोबल कमजोर बनाउने गरेको टिप्पणी समेत भयो । ‘सरकारले सेयर बजारसँग कस्तो संवाद गर्छ भन्ने विषयले महत्व राख्छ,’ आचार्यले भने ।

सेयर बजार बढाउने अर्को कारण हो, ब्रोकर कमिसन । केही समय अगाडी मात्रै धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा ऋण खुकुलो पारेको कारणले सरकार सेयर बजारप्रति सकारात्मक रहेको सन्देश प्रवाहित भएको आचार्यको तर्क छ ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x