प्रमुख समाचार

भारतले अनुदानमा उपलब्ध गराएको कोरोना खोप आइतबार सबै प्रदेशमा पुग्‍ने

इकागज |
माघ १०, २०७७ शनिबार १५:५२ बजे

काठमाडौँ  : कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आइतबार सबै प्रदेशमा पुग्‍ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले जानकारी दिए । खोप आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको उनले बताए । 

भारतबाट ल्याएपछि स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप प्रदेशबाट जिल्ला अस्पतालमा आवश्यकताका आधारका वितरण गरिनेछ । 


पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । प्रवक्ता गौतमले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्‍न अस्पतालबाट खोप लगाइने बताए । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ । 

खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । 

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता गौतमले बताए । खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ । 

भारत सरकारले बिहीबार अनुदानमा सरकारलाई १० लाख मात्रा खोप  अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्‍न सकिने कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । 

सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड-१९ विरुद्ध खोप लगाउने योजना बनाएको बताएको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ । (रासस)
 


Author

थप समाचार
x