प्रमुख समाचार

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आर्मी र एपीएफ भिड्‍ने

इकागज |
माघ १५, २०७७ बिहीबार १७:१ बजे

काठमाडौँ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबसँग भिड्ने भएको छ । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

यसअघि एपीएफ नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
 
कीर्तिपुरस्थित त्रिभुवन विश्‍वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २९ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको बागमती एक सय ३५ रनमा अलआउट भयो ।
 
विजयी आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रन बनाए । उनले ९१ बलको समाना गर्दा दुई छक्का र चार चौका प्रहार गरे । त्यस्तै भिम सार्की पनि मुख्य योगदानकर्ता ठहरिए । उनले ६१ बलमा एक छक्का र पाँच चौकाको मद्दतमा ४० रन बनाए । तल्लोक्रमका विक्रम सोबले ३५ रनको योगदान गरे ।  


त्यसअघि आर्मीको सुरुवात कमजोर रह्यो । विभागीय टोलीका ओपनरद्‍वय हरी चौहान र अनिल मण्डल सस्तोमा पभेलियन फर्के । चौहानले तीन रन बनाए भने मण्डल दुई रनमा सिमित भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित पौडेल त झन् शुन्यमै आउट भए ।
 
बलिङतर्फ बागमतीका गौतम केसी बलियो लयमा देखिए । उनले ६१ रन खर्चेर पाँच विकेट लिए । त्यस्तै रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले एक-एक विकेट हात पारे ।
 
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्य बोहक कुनै पनि खेलाडीले उल्लेख्य स्कोर गर्न सकेनन् । कप्तान मल्लले चार चौकाको मद्दतले ४७ रन बनाउँदा आचार्यले २३ रनको योगदान गरे । बागमतीलाई ओपनरद्वयले खराब सुरुवात दिलाए । 

आकाश थापा शून्यमा आउट हुँदा आदिल खान १० रनमा सिमत भए । तेस्रो र चौथौँ नम्बरमा ब्याटिङ गर्न आएका विभात्सु थापा र पृथु बास्कोटाले क्रमशः चार र एक रन मात्रै बनाउन सके ।
 
आर्मीका लागि सोब, जितेन्द्र मुखिया र शुसन भारीले समान तीन विकेट लिए । सोवले पाँच मेडन राख्दै २४ रन खर्चेर तीन महत्वपूर्ण विकेट हात पार्दा मुखियाले त्यत्ति नै विकेट लिन २० रन खर्चिए ।  
 


Author

थप समाचार
x