प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई
काठमाडौँ : त्रिभुवन आर्मी क्लबले शनिबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो । प्रतियोगिता उपाधि उचालेसँगै आर्मीले १० लाख प्राप्त गर्यो भने उप-विजेता एपीएफले पाँच लाख हात पार्यो ।
कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ११ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।
एपीएफ अपराजित रहँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो । आर्मी भने लिग चरणमा एपीएफसँग पराजित भएको थियो । आर्मीले यस प्रतियोगिता सुरु भएदेखि नै प्रत्येक संस्करणको फाइनल खेल्दै आएको छ । २०७४ मा भएको पहिलो संस्करणमा आर्मीले विभागिय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबसँग उपाधि बाढेको थियो । दोस्रो संस्करणमा भने एपीएफसँग पराजत भएको थियो ।
शनिबारको फाइनलमा आर्मीका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए । एक सय दुई बलको सामना गर्दा चौहानले ६ चौका प्रहार गरे । त्यसअघि आर्मीलाई ओपनरद्वय शुसन भारी र अनिल मण्डलले औसत सुरुवात दिलाए । भारीले ३४ बलमा १३ रन बनाउँदा अर्का ओपनर मण्डलले २१ बलको समाना गर्दा ११ रनको योगदान गरे ।
आर्मीका लागि मध्यक्रममा ब्याटिङ गरेका राजेश पुलामीले २८ रन जोडे भने शहबव आलमले अविजित २५ रनको योगदान गरे । विभागीय टोलीका लागि लोकेश बमले १५ रन बनाए भने रोहित पौडेलले १३ रन जोडे ।
बलिङतर्फ एपीएफका लागि अभिनास बोहोराले २५ रन खर्चेर चार विकेट लिए । त्यस्तै, किशोर महतोले दुई विकेट हात पारे भने कमल ऐरी, भुवन कार्की र शरद भेष्वाकरले एक-एक विकेट दर्ता गरे ।
एपीएफका लागि ओपनर आसिफ शेखले उत्कृष्ट सुरुवात गरे । सुवास खकुरेलसँगै ब्याटिङ गर्न आएका शेखले अर्धशतक प्रहार गरे । जितेन्द्र मुखियाको बलमा आउट हुनुअघि शेखले ७१ बल सामना गर्दा एक छक्का र आठ चौका प्रहार गर्दै ६१ रन बनाए । खकुरेलले १५ बल सामना गर्दा १४ रन बनाए । उनले तीन चौका हिर्काए ।
एपीएफका मुखियाले उत्कृष्ट बलिङ गरे । उनको बलिङमा आर्मीका ओपनरद्धय खकुरेल र शेखबाहेक विभागिय टिमका कप्तान शरद भेष्वाकर पनि पभेलियन फर्के । भेष्वकार शुन्यमा आउट भए । त्यस्तै मध्यक्रमका शंकर राना र सुमित महर्जनले क्रमशः २१ र १९ रनको योगदान गरे ।
पराजित एपीएफका लागि सन्लिप जोराले ३७ बलमा २९ रन बनाउँदा उनी पछिकाकुनै पनि ब्याट्सम्यानले उल्लेखिय रन बनाउन सकेनन् । भुवन कार्की नौ रनमा पभेलियन फर्कदा अमर रौतेला र कमल ऐरी क्रमशः एक र दुई रनमा आउट भए । तल्लोक्रमका किशोर महतो र अविनाश बोहोरा शुन्यमा सिमित भए । उता आर्मीका विक्रम सोब र शहहब आलमले समान तीन विकेट लिए भने शुसन भारीले एक विकेट थपे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया