राष्ट्रिय जनावरको बिजोग : बाच्छी घरमा, बाच्छा जति सडकमा
काठमाडौँ : आफ्ना लागि बाँच्नेहरूको भीडमा अबोध प्राणीको जीवन बचाउने प्रयासमा छन्, उत्तम पुडासैनी । यसमा उनलाई साथ दिएका छन् माया भट्टराईलगायत आधा दर्जन सहृदयी मनले । पुडासैनी बागमती सरसफाइ अभियानमा सुरुदेखि नै सहभागी थिए । सरसफाइमा जाँदा उनी बागमतीको किनारमा जनावरका हड्डी, टाउको, सिङ र छाला भेट्थे ।
सरसफाइका क्रममा सयौँ मृत गाईबाच्छालाई गाडेको नमीठा सम्झना पनि उनीसँग छन् । यो बिजोग उनी र उनको टिमले ट्वाल्ट्वाल्ती हेर्न सकेन । त्यसपछि स्थानीय व्यक्ति, नगरपालिका, प्रहरी प्रशासन जताततै पहल गर्न थाल्यो । तर, कतैबाट पनि केही सहयोग नमिलेपछि सुरु भयो, ‘छाडा गाईबाच्छा संरक्षण अभियान’ पुडासैनी यस अभियानका संयोजक हुन् ।
काठ क्षेत्रमा गाईपालनपछि बाच्छी जन्मे घरमा र बाच्छो जन्मे सडकमा छाड्ने प्रवृत्ति छ । दूध दिन छाडेपछि बूढा गाई पनि त्यसरी नै छाडिन्छन् । तीमध्ये कति गाईबाच्छ पानी पिउन नपाएर मर्छन् । कति खानेकुरा खान नपाएर प्लास्टिक खाएर मर्छन् । पुडासैनीले केही बाच्छालाई कुकुरका झुण्डले लखेटी लखेटी मारेको पनि देखेका छन् ।
‘हामीले प्लास्टिक खाएर जीर्ण भएका, कुकुरको टोकाइले रेबिज लागेका गाईबाच्छालाई बचाउने कोसिस गर्यौँ,’ पुडासैनी भन्छन्, ‘चर्ने बेला फलाम लगायतका वस्तु पेटमा परेर टिटानस भएका, खान नपाएर भित्री पेटको विकास हुन नसकेका गाईबाच्छाको उपचार गर्नु सोचेजस्तो सजिलो भएन ।’ यस्ता कयौँ कहालीलाग्दा कथाहरूको सँगालो छ उनीसँग । ‘तीमध्ये कतिलाई बचाउन सक्यौँ, कतिलाई सकेनौं,’ उनी भन्छन् ।
यस्तो दृश्य देख्न नपरोस् भनेर सडकबाट उनीहरू गाइबाच्छा उठाउँछन् । फेसबुकमा उनीहरूले ‘गाईबाच्छा संरक्षण अभियान’ भनेर पेजसमेत खोलेका छन् । त्यहाँबाट कतै घाइते, असक्त र असहाय गाईबाच्छा देखे सम्पर्क गर्न आग्रह गरिएको छ । ती बिचल्लीमा परेर सडकमा घुमिरहेका गाईबाच्छालाई यो संरक्षण अभियानले उद्धार, उपचार, खाना र छानाको व्यवस्था गर्छ । यसका लागि उनीहरू स्वयं आलोपालो गरेर दिनमा चार-पाँच घन्टा खट्छन् ।
असहाय गाईबाच्छा संरक्षण न उनीहरूको रहर हो न बाध्यता । यसलाई उनीहरू समुदायमा गाईबाच्छामाथि भएको अत्याचारप्रतिको खबरदारी मान्छन् । यस अभियानलाई सफल बनाउने हात अरु पनि धेरै छन् । केक काटेर जन्मदिन मनाउने धेरै मानिस अहिले उनीहरूको अभियानको सहयात्री बनेका छन् । जसले आफ्नो जन्मदिनको अवसरमा केक काट्ने पैसा पिठो, पराल, औषधि आदि आवश्यक सामग्री ल्याइदिन सहयोग गर्छन् ।
‘हाम्रो सम्पर्कमा आएका धेरैले जन्मदिनमा केक काट्न छाडेका छन्,’ पुडासैनी भन्छन्, ‘उनीहरूसँग हामी पैसा लिदैनौँ । त्यसको सट्टामा जति मन लाग्छ, त्यति खानेकुरा वा आवश्यक सामग्री ल्यादिनुस् भन्छौँ । कसैले पिठो, कसैले पराल, कसैले औषधि बोकेर आउँछन् ।’
अहिले महिनामा आठ/दश जनाले उनीहरूको गोठमा गएर जन्मदिन मनाउने गरेका छन् । दुई वर्षअघि सुरु भएको यो अभियान चारओटा बेवारिसे बाच्छाबाट सुरु भएको थियो । अहिले यो टोलीसँग दुई सयभन्दा बढी बेवारिसे गाईबाच्छा छन् । काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेको बनेपा र धुलिखेलबाट थुप्रै यस्ता गाईबाच्छाहरू ल्याइएका छन् । सडकबाट उद्धार गरेर ल्याइएका ती गाईबाच्छालाई पशुपति क्षेत्र विकास कोषको गोठाटारमा रहेको जग्गामा राखिएको पुडासैनी बताउँछन् ।
गाईबाच्छा जस्तो राष्ट्रिय जनावरमाथिको यो अन्याय र क्रुरता अन्त्य गरिनुपर्ने पुडासैनी बताउँछन् । ‘सडकमा घाइते गाईबाच्छाको उपचारमा राज्यले खर्चको व्यवस्था गर्नुपर्छ,’ उनी भन्छन्, ‘कृषकलाई अनुदान दिएरै भए पनि बाच्छाहरूलाई छाड्न नपाइने, दूध दिन नसक्ने गाईलाई बेवारिसे छाड्ने नपाइने व्यवस्था गर्नुपर्छ । उनीहरूको मलमूत्रबाट कम्पोस्ट मल निर्माण गरी अर्गानिक उत्पादनमा राज्यको ध्यान जानुपर्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया