प्रमुख समाचार

सहयोग प्रक्रिया पूरा गरेलगत्तै नेपालले चिनियाँ खोप पाउने

विकासोन्मुख मुलुकलाई एक करोड खोप दिने चीनको प्रतिबद्धता

अजय अलौकिक |
माघ २८, २०७७ बुधबार १८:५८ बजे

बेइजिङः चीनले हालसम्म ५३ वटा विकासोन्मुख देशहरुलाई कोभिड-१९ विरूद्धको खोप सहयोग गरेको बताएको छ । साथै २२ वटा देशहरुमा खोप निर्यात गरिएको पनि जनाएको छ । यसबाहेक चीनले विकासोन्मुख देशहरुलाई १ करोड खोप दिने निर्णय पनि गरेको छ । यसै गरी चीनले नेपाललाई पनि ५ लाख खोप सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

चीनका परराष्ट्रमन्त्री वाङ यीले फेब्रअरी ५ तारिखमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन संवाद गर्दै नेपाललाई ५ लाख कोभिड-१९ विरूद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । संवादका क्रममा नेपाललाई पहिलो चरणको खोप सहायता गर्ने निर्णय गरेको तथा थप खोप खरीदकालागि सहज वातावरण बनाउन तयार रहेको पनि बताएका थिए । पहिले काठमाडौँस्थित चिनियाँ दूतावासले अनुदान स्वरूप ३ लाख खोप दिने भनिएकोमा पछि २ लाख थप गरिएको हो । 


बढ्दो आन्तरिक तथा अन्तर्राष्ट्रिय माँग भए पनि चीनले नेपाललाई खोप अनुदान दिने प्राथमिकतामा राखेको छ । यसबाट चीनले चीन-नेपाल मित्रतामा उच्च ध्यान दिएको स्पष्ट हुन्छ । तत्काल नेपालमा खोपको आवश्यकता छ साथै चीन सहयोग गर्न आतुर छ । तर नेपालबाट आवश्यक तयारी भएको देखिँदैन । 

यसैबीच चीनबाट प्राप्त हुने भनिएको खोप कहिलेसम्म नेपाललाई प्राप्त हुन्छ भन्‍ने इकागजको जिज्ञासामा राजदूत महेन्द्रबहादुर पाण्डेले नेपाल सरकारको सम्बन्धित निकायले  सहयोगलाई स्वीकार गर्ने प्रक्रिया पूरा गर्ने बित्तिकै भन्‍ने उत्तर दिएका छन् । नेपाल सरकारले सहयोगका लागि आवश्यक प्रक्रिया पूरा गरेलगत्तै प्राप्त हुने छ, राजदूत पाण्डेले भने । यसबाट पनि नेपाल सरकार चिनियाँ सहयोग प्राप्त गर्न आनाकानी गरिरहेको बुझ्‍न सकिन्छ । 

यसैबीच फेब्रअरी ९ तारिख चिनियाँ उप-परराष्ट्रमन्त्री ल्वो चाओहुई र चीनकालागि नेपाली राजदूत पाण्डेबीच भेटवार्ता भएको छ । दुई मुलुकबीच सहकार्य, सहयोग र दुई देशका हितसम्बन्धित् अन्य विविध पक्षमा कुराकानी भएको भेटमा राजदूत पाण्डेले चीनले खोपलगायत कोभिड-१९ विरूद्धका विविध स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

चीनद्वारा प्रदान गरिएको पहिलो चरणको सहयोगात्मक खोप पाकिस्तान, कम्बोडिया, लाओस, ईक्‍वेटोरियल गिनी, पेरूमा पुगिसकेको छ । आगामी दिनमा अरू देशहरूमा निरन्तर रूपमा प्रदान गर्ने बताइएको छ । 

साथै हालसम्म चिनियाँ खोप खरिद गर्नकालागि १६ वटा देश तथा क्षेत्रहरूले ५० करोड डोजको सम्झौता गरेको जनाइएको छ । सर्बिया, कम्बोडिया, पेरू, मलेसिया, हंगेरीलगायत विभिन्न मुलुकले चिनियाँ खोप खरिद गरिसकेका छन् ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले फेब्रअरी ८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले २२ वटा देशहरुमा खोप निर्यात गर्नुकासाथै ५३ वटा विकासोन्मुख देशहरुलाई खोप सहयोग प्रदान गरेको बताएका हुन् । सोही क्रममा प्रवक्ता पिनले चीनले विश्‍व स्वास्थ्य संगठनको कोभिड-१९ विरूद्धको खोप कार्यान्वयन योजनामा सक्रिय रूपमा भाग लिनुका साथै योजनाअन्तर्गत विशेष गरी विकासोन्मुख देशहरुलाई १ करोड खोप दिने निर्णय गरेको पनि बताए । 

साथै उनले राष्ट्रपति सी चिनफिङको खोपको विकास गर्ने र विकासोन्मुख देशहरूमा उपलब्ध गराएर विश्‍वव्यापी सार्वजनिक स्वास्थ्य उत्पादनको रूपमा प्रदान गर्ने महत्त्वपूर्ण घोषणालाई कार्यान्वयन गरेको पनि औंल्याए । चीनका राष्ट्रपति सी चिनफिङले ७३ औँ विश्‍व स्वास्थ्य सभामा चिनियाँ खोप आएपछि विश्‍वव्यापी सार्वजनिक स्वास्थ्य उत्पादन वस्तुका रूपमा विकासोन्मुख मुलुकमा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । 

यसै बीच विश्‍वका लागि चीनद्वारा निर्मित कोभिड-१९ विरूद्धको तेस्रो खोप पनि तयार भएको छ । चीनको क्यानसाइनल बायो कम्पनीको खोप चीनको तेस्रो सफल खोपको रूपमा दर्ज हुने देखिएको हो । यसको प्रभावकारिता दर ६५.७ प्रतिशत रहेको बताइएको छ ।
 


Author

थप समाचार
x