प्रमुख समाचार

नेकपाको झगडा कुर्सीका लागि हो : कमल थापा

इकागज |
माघ २९, २०७७ बिहीबार १९:९ बजे

फाइल तस्बिर

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको  भएको बताएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले नेकपाले देश निर्माणमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादीको अँध्यारो सुरुङमा फसाएको बताए ।

नेकपा र नेपाली कांग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको थापाले बताए । कांग्रेस कर्तव्यबिमुख र निरीह देखिएको थापाको भनाइ छ । मुलुकमा अहिले भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रूपमा देखिएको बताउँदै थापाले लोकतन्त्रको लागि अब कहिल्यै लड्नु पर्दैन, राजा हटाएपछि लोकतन्त्र मजबुत हुन्छ भन्‍नेहरू नै  लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको बताए। 


राजसंस्था बवकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यवहार र चरित्रमा प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिए । धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे। राप्रपालाई कांग्रेस कम्युनिस्टको विकल्पको रूपमा राष्ट्रवादी शक्ति बनाउन संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापा नेता कार्यकर्तालाई आग्रह गरे । 


Author

थप समाचार
x