प्रमुख समाचार

भागरथी हत्या प्रकरण : कांग्रेस केन्द्रीय प्रतिनिधि बैतडीमा

इकागज |
फागुन २, २०७७ आइतवार १०:३७ बजे

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुगेका छन्  । कांग्रेस केन्द्रीय सदस्य लेखकले घटनाको स्थलगत अध्ययन गरी पार्टीलाई प्रतिवेदन बुझाउने जनाइएको छ ।

लेखकले आज घटनास्थलको अवलोकन, पीडित परिवारसँग भेटघाट, स्थानीय जनप्रतिनिधिसँग छलफल र घटनाका बारेमा प्रहरीले गरेको अनुसन्धानका विषयमा प्रदेश प्रहरी प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।


स्थलगत अध्ययन र विभिन्न व्यक्तिसँगको छलफलपछि नेता लेखकले प्रतिवेदन पार्टीलाई बुझाउने उनले बताए । लेखकले यसअघि शनिबार कांग्रेस जिल्ला समितिसँग पनि छलफल गरेका थिए । कांग्रेसले लेखकलाई घटनाको सत्यतथ्य बुझ्न, घटनाको अध्ययन गरी देखिएका विषयवस्तु समेटेर पार्टीलाई बुझाउने जनाइएको छ ।

घटनापश्‍चात  विभिन्‍न पार्टीका नेता, कार्यकर्ता घटनास्थल र पीडित परिवारलाई भेट्ने क्रम चलिरहेको छ ।  यसअघि  नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापा, कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेशसभा सदस्य कर्ण मल्ल, लीलाधर भट्ट, पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीलगायतका नेता कार्यकर्ताले घटनास्थलको अवलोकन र पीडित परिवारलाई भेटेका थिए ।

भागरथी गत माघ २२ गते बलात्कारपछि हत्या गरिएकी अवस्थामा स्थानीय लवलेक जङ्गलमा फेला परेकी हुन् । हालसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान राखेका छन् । जिल्ला अस्पतालमा रहेको शवलाई सुरक्षित राख्न समस्या भइरहेको अस्पतालले जनाएको छ । यता प्रहरीले भने अपराधी नजिक पुगेकाले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । 

घटनापश्चात  घटनाको अनुसन्धानका लागि सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले  गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । यस्तै घटना भएको ११ दिन बितिसक्दासमेत अपराधी पत्ता नलागेको भन्दै शान्तिपूर्ण आन्दोलन पनि जारी छ । आज पनि स्थानीय सिल्लेगडा र खोचलेक बजार सिठ्ठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य भोजराज जोशीले जानकारी  दिए । 


Author

थप समाचार
x