प्रमुख समाचार

किर्ते गरेको आरोपमा सिम्रौनगढका प्रशासकीय अधिकृतसहित तीन पक्राउ

सुभाष कर्ण |
फागुन २, २०७७ आइतबार १९:६ बजे

जनकपुरधाम : बारा प्रहरीले किर्ते हस्ताक्षरको आरोपमा जिल्लाको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ । असारको अन्तिम साता सम्पन्‍न नगरसभाको माइन्यूटमा किर्ते हस्ताक्षर गरी पास गरेको उजुरीको आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाल, योजना शाखाका जितेन्द्र यादव र लेखा अधिकृत सर्वेन्द्र चौधरीलाई पक्राउ गरेको हो । 

अधिकृत जयसवाल आफै हाजिर भएको तथा योजना शाखाका यादव र लेखा अधिकृत चौधरीलाई नगरपालिका कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले किर्ते जालसाजी मुद्दाको आरोपमा अनुसन्धानका लागि तीन दिनअघि नै यादव र चौधरीलाई पक्राउ गरिएको  र उनीहरूको बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई पनि हाजिर गराइएको जानकारी दिए । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी मुद्दाको थप अनुसन्धान सुरु गरिएको उनले बताए । 


नगर सभा सम्पन्‍न भएपश्‍चात उपमेयर रिमा देवीसहितका नगर कार्यपालिका बोर्डका १७ जनाले मेयर विजयशंकर यादवसहित नगरपालिकाका कर्मचारीविरुद्ध जिल्ला अदालतमा दिएको उजुरी आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

मेयर यादवविरुद्ध पनि मुद्दा रहेकोले उनी गत साता नै अदालतमा हाजिर भइ १५ दिने म्यादको तारिखमा रिहा भइसकेको उपमेयर रिमा देवीले जानकारी दिइन । उपमेयर देवीले  आफूसहित कार्यपालिका बोर्डको सदस्यहरूको हस्ताक्षर किर्ते गरी नगर सभा सम्पन्‍न गरी, नगर सभाबाट पारित योजनाहरू कार्यान्वयनमा ल्याउन खोज्दा थाहा भएपछि उजुरी दिन बाध्य भएको बताइन ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x