प्रमुख समाचार

सम्‍पदा संहार

नाम लेखाउने रहरमा शासकसँगै नागरिक पनि

सुनीता साखकर्मी |
फागुन ५, २०७७ बुधबार ६:५२ बजे

तस्बिर : सरोज बैजु

काठमाडौं : नामैनामले भरिएका भित्ता । ती नामहरूका बीचमा मुस्किलले भेटिएको खाली ठाउँमा उनले लेखिन् -दीपिका । स्वयम्भूको सरस्वती मन्दिरका भित्तामा मंगलबार दिपिकाले मुस्किलले आफ्नो नाम लेखिन् । उनी जस्तै थुप्रै बालबालिकाले ति भित्तामा खाली ठाउँ खोज्दै आफ्नो नाम लेखे ।

कतिपय अभिभावकले छोराछोरीको हात समातेर अक्षर लेख्‍न सिकाउँदै थिए । बिहानभरीमा मन्दिरका राता भित्ता सेतो, पहेलो, निलो रंगका नामैनामले भरिए । माघ शुक्ल पूर्णिमाको दिन अर्थात् बसन्त पञ्चमीको दिन यहाँ सरस्वतीको पुजाआराधना गर्नेका साथै छोराछोरीलाई अक्षरारम्भ गराउनेहरूको भीड लाग्‍ने गरेको छ ।


यहाँ बच्चाले मात्रै होइन, मंगलबार ठूलाले पनि मन्दिरका भित्तामा नाम लेख्दै थिए । नाम मात्रै होइन, चित्रहरू पनि कोर्दै थिए । यसरी मन्दिरका भित्तामा लेखे, सो बच्चा अध्ययनशील हुने विश्वास हाम्रो समाजमा प्रचलित छ । तर यसरी सयौँको संख्यामा आएका श्रदालुहरूले भित्तामा रंगीविरंगी चकले लेख्दा मन्दिरको स्वरुप नै कुरुप भएको छ ।

सरस्वती पूजाका दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा परापूर्व कालदेखि नै चलिआएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । तर यसरी मन्दिरका भित्तामै लेख्‍ने चलन भने कहिले सुरु भयो उनलाई यकिन थाहा छैन । तर यसरी लेख्दा मन्दिरको मौलिक स्वरुप, महत्वलाई नै असर गर्ने धौभडेल बताउँछन् ।

‘पहिलेका मानिसहरू यस दिन कालो स्लेटमा सेतो खरीले लेखेर अक्षरारम्भ गर्थे,’ उनी भन्‍छन्, ‘अहिले कापी कलमको जमाना आएको छ । त्यसमै लेखेर अक्षरारम्भ गरे हुन्‍छ । मन्दिर फोहोर बनाउने गरी यसरी जथाभावी लेख्‍न लगाउँदा राम्रा मन्दिरहरु पनि कुरुप देखिन्‍छन् ।’ धौभडेलका अनुसार मन्दिरहरू नेपालको अमूल्य सम्पदा पनि हुन् । चेत नखुलिसकेका अबोध बालबालिकालाई अभिभावकले नै यसरी मन्दिरमा लेख्‍न लगाएपछि ठूलो भएपछि उनीहरूले सम्पदाको महत्व नबुझ्‍ने हुनसक्ने पनि उनले चिन्ता व्यक्त गरे ।

अहिले पनि विभिन्‍न मन्दिरका भित्तामा हेर्ने हो भने थुप्रै युवाहरूले तिनमा प्रेमीप्रेमिकाका नाम लेखेका देखिन्‍छन् । उनीहरूले केरेर देउताका मूर्ति, शिलालेखलगायतलाई कुरुप पार्ने गरेका छन् । उत्शृङ्खल शव्दहरु लेखेका छन् । वर्षेनी यसरी कोर्दा हाम्रा अमूल्य कलाकृति र सम्पदाको आयु घटिरहेको प्रति हेक्का छैन । 

अहिले भएका सम्पदाहरू नासिँदै जाने क्रम बढिरहेका बेला झनै बालबालिकालाई यस्ता क्रियाकलाप गराउन नहुने उनका तर्क छ । उनी भन्‍छन्, ‘हामीले बालबालिकालाई सम्पदाप्रति संवेदनशील बनाउनुपर्नेमा कतै हामीले यसरी मन्दिरका भित्तामा लेख्‍न सिकाएर सानैदेखि गलत बाटो त देखाइरहेका छैनौँ ? भनेर अभिभावकले सोच्‍नुपर्छ ।’

समय परिवर्तन भएसँगै हाम्रा आचरण पनि बदल्दै लैजानुपर्ने उनी बताउँछ्न । भन्‍छन्, ‘पहिले पो कापी कलम थिएन । अहिले त छ नि । त्यसैले बच्चालाई कापीमै लेख्‍न सिकाउनुपर्छ । मन्दिरलाई सफा रहन दिनुपर्छ । अब अभिभावकहरू पनि समय अनुसार परिवर्तन हुँदै जानुपर्छ ।’

भक्तपुरस्थित बागीश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानसागर प्रजापतिका अनुसार पनि मन्दिरका भित्ताहरूमै लेख्‍ने परम्परा गलत हो । उनका अनुसार यसरी सानैदेखि मन्दिरलगायतका भित्तामा लेख्‍न सिकेकाहरुले नै सार्वजनिक ठाउँमा भएका शिलालेख, ताम्रपत्रलगायत महत्वपूर्ण दस्तावेजहरूमा किला वा धारिलो सामग्रीले कोरेर मासिदिने गर्छन् । त्यस्तै मूर्तिमै केरमेट गरी कुरुप पारिदिने पनि गर्छन् । अभिभावकले आफ्ना सन्तानलाई सम्पदाको महत्व बुझाउन नसक्दा यस्ता दुर्घटनाहरु निम्तिने उनको भनाइ छ ।

‘हामीले देउताले दिएको शिक्षा लिने भन्दा पनि जसरी हुन्‍छ, मूर्ति पुज्‍ने संस्कार मौलाएको छ,’ उनी भन्‍छन्, ‘सरस्वतीलाई मूर्तिको रुपमा नभई प्रतीकको रुपमा हेर्नुपर्छ भनेर कसैले सिकाएन । सरस्वतीको सुमधुर वाणीले मानिसलाई मधुर हुन प्रोत्साहन दिन्‍छ । उनको हातमा हुने पुस्तकले अध्ययन गर्न प्रोत्साहन गर्छ । उनको वाहण राजहंशले दुधको दुध, पानीको पानी छु्ट्याउँछ, यो भनेको विवेक हो । यसरी सरस्वतीको प्रतीकलाई नबुझी मूर्ति पुज्‍न थाल्दा यस्तो भएको हो । त्यसैले सम्पदा र त्यसको मर्म बुझाउनतिर लाग्‍नुपर्छ । तब मात्रै यो समस्या निराकरण हुन्‍छ ।’


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x