प्रमुख समाचार

सुदूरपश्‍चिम सरकारको तीन वर्ष

१२८ किलोमिटर सडक कालोपत्रे, ३०८ मन्दिर निर्माण

नवराज पनेरु |
फागुन ८, २०७७ शनिबार १८:४ बजे

धनगढी : सुदूरपश्‍चिम प्रदेश सरकारले तीन वर्षमा १२८ किलोमिटर सडक कालोपत्रे र ३०८ मन्दिर निर्माण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । ०७४ फागुन ५ गते गठन भएको सुदूरपश्‍चिम प्रदेश सरकारले शनिबार औपचारिक कार्यक्रम गर्दै तीन वर्षको प्रगति विवरण सार्वजनिक गरेको हो ।

फागुन ५ गते प्रदेश सरकार गठन भएको तीन बर्ष पूरा भए पनि आज प्रगति विवरण सार्वजनिक गरेको हो । प्रदेश प्रमुख शर्मिला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रूपमा प्रदेश सरकारको प्रगति विवरण समेटिएको पुस्तक लोकार्पण गरे ।


‘जनताका आकांक्षा र माग पूरा गर्न प्रदेश सरकारले काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसको परिणाम आउन भने समय लाग्छ ।’ उनले देशमा ढिलासुस्ती गर्ने प्रवृत्ति पहिलेदेखि नै रहेको हुँदा प्रदेश सरकारलाई त्यसलाई चिर्दै अगाडि बढ्न निकै कठिन भएको बताए ।
 
सुदूरपश्‍चिम प्रदेश सरकारले प्रदेशभर तीन सय २२ किलोमिटर ग्रावेल, सात सय ८ किलोमिटर सडक निर्माण, १० पुल निर्माण, १८ झोलुङगे पुल निर्माण गरिएको प्रगति विवरणमा समावेश गरेको छ । प्रदेशका नौ जिल्लामा ९ सडकलाई प्रादेशिक गौरवका सडकको रूपमा निर्माण थालिएको प्रतिवेदनमा उल्लेख छ ।
 
५७ सामुदायिक भवन निर्माण, एक हजार सात सय ४७ जनता आवासबाट घर निर्माण, नौ हजार ८ सय ९० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार, एक सय ८० किलोमिटर कुलो निर्माण, ४८ किलोमिटर तटबन्ध निर्माण गरिएको प्रदेश सरकारको दाबी छ ।
 
तीन सय ८ मन्दिर निर्माण, १० गुम्बा, ६ चर्च, ४० पदमार्ग, १२ धर्मशाला निर्माण गरिएको दाबी प्रदेश सरकारको छ । प्रदेश सरकारको लगानीमा नौगाड जलविद्युत आयोजना र सुर्नयागाड जलविद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम पूर्ण भएको प्रतिवेदनमा दाबी गरिएको छ । 
 


Author

थप समाचार
x