प्रमुख समाचार

साम्प्रदायिकताको खतरामा भारतीय क्रिकेट

इकागज |
फागुन १०, २०७७ सोमबार ६:३६ बजे

काठमाडौँ : भारतमा वर्षौसम्म क्रिकेटले सामाजिक एकताको प्रतिकको दर्जा पाइरह्यो । विभिन्‍न धर्म मान्‍ने समुदायलाई जोड्ने सेतु बनिरह्यो । तर पछिल्लो समय यस खेलले भारतीय समाजमा पाउँदै आएको विशेष स्थान धारापमा पर्न थालेको छ । भारतमा धर्मनिरपेक्षतामाथि नै आक्रमण हुन थालेको भन्‍ने दाबी प्रस्तुत भइरहँदा, क्रिकेट खेल पनि त्यसमा मुछिदै गएको हो ।

यसको पछिल्लो उदाहरण हो वासिम जाफरमाथि लगाइएको आरोप । जाफर भारतीय क्रिकेट इतिहासमै सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । मुस्लिम धर्म मान्‍ने जाफरले करिब दुई साता पहिले उत्तराखण्ड क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिए । किनभने ४३ वर्षिय जाफरलाई अचम्मको आरोप लाग्यो । उनले खेलाडी छनौट गर्दा मुस्लिम धर्म मान्‍नेलाई प्राथमिकतामा राखेको भनियो ।  


त्यसो त जाफरले पहिलाबाटै उत्तराखण्ड क्रिकेट संघले आफूलाई स्वतन्त्रपूर्वक काम गर्न नदिएको भनिरहेका थिए । त्यही निहुमा उनले राजीनामा दिए । गत जुनबाट उत्तराखण्डको प्रशिक्षक रहेका जाफरले पदत्याग गरेपछि उनलाई लगाइएको आरोप सतहमा आयो । उत्तरी भारतमा प्रख्यात रहेको हिन्दी पत्रिका जागरणमा जाफरमाथि आरोप लगाउँदै उत्तराखण्ड क्रिकेटका अधिकारीहरूले अन्तर्वार्ता दिए । उत्तराखण्ड टिम म्यानेजर नबनित मिश्राको थप आरोप थियो,‘जाफरले खेलाडीहरूलाई प्रार्थनाका क्रममा हिन्दु देवीदेवताको नाम समेत लिन दिदैन थिए ।’ 

उता जाफरले आफूमाथि लागेको आरोप मिथ्या भएको भनिरहे । ‘साम्प्रदायिक कोणबाट लगाइएको आरोपले मलाई निराश बनाएको छ । मैले नेतृत्व गरेको टिममा धर्ममा आधारमा होइन, कौशलका आधारमा खेलाडी छनौट भएका हुन्,’ जाफरले भने,‘म उत्तराखण्ड टिमको प्रशिक्षक बन्‍नुअघि पनि कुनै किसिमको हिन्दु नारा थिएन । बरु शिख धर्मसँग समबन्धित स्लोगन गाउने गरिन्थ्यो । मैले धार्मिक नारा भन्दा पनि पुरा उत्तराखण्डलाई नै समेट्न नारा बनाउ भनेर भनेको हो । किनभने हामीले खेल्ने कुनै एक धर्मका लागि होइन, उत्तराखण्ड राज्यका लागि हो,’ आफूले धार्मिक पूर्वाग्रह राखेको भए उत्तराखण्ड क्रिकेट संघले पहिल्यै बर्खास्त गर्ने तर्क पनि जाफरको थियो ।

भारतीय क्रिकेटमा साम्प्रदायिक रंग यसअघि कहिले पनि देखिएको थिएन । सन् १९११ मा भारतीय क्रिकेट टिमको गठन भएदेखि नै हिन्दु र मुस्लिमले सँगै खेल्दै आएका छन् । तर भारतीय राजनीतिमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले साम्प्रदायिकतालाई प्रश्रय दिएपछि क्रिकेटमा पनि त्यसको प्रभाव पर्ने डर बढ्दै गएको छ । जसको पुष्टी भारतीय कंग्रेसका नेता राहुल गान्धीको टुइटले गर्‍यो । ‘पछिल्ला वर्षमा धर्मको नाममा घृणा फैल्याउने काम भएको छ । जसको असर हामी सबैले मन पराउने खेल क्रिकेटमा पनि देखिएको छ,’ जाफरमाथि आरोप लागेपछि गान्धीले यस्तो टुइट गरेका थिए ।

क्रिकेटमा कलम चलाउने प्रतिष्ठित भारतीय पत्रकार शारदा उग्रा राजनीतिमा देखिएको साम्प्रदायिक भावना खेल सम्म आइपुग्नु राम्रो संकेत नभएको बताउछिन् । ‘यस्तो विचार र व्यबहार राजनीतिमा देखिन्थ्यो । तर विस्तारै क्रिकेटलाई छोएको छ । जाफर भारतीय क्रिकेटमा नाम बनाएका ब्यक्ति हुन् । उनी मुस्लिम भएकैले मिथ्या आरोप लाग्यो । तर उनको समर्थनमा न त क्रिकेट बोर्ड देखियो न अन्य नियामक संस्था नै,’ उग्राले निराशा ब्यक्त गरिन् । 

कुनैबेला भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गाङ्गुलीसँगै राष्ट्रिय टिमबाट खेलेका जाफर हिन्दु भएको भए त्यस्तो आरोप खेप्‍नु पर्थ्यो ? प्रश्न उब्जिन्छ । अथवा हिन्दु धर्म मान्‍ने सचिन तेन्दुलकर जाफरको स्थानमा भएका भए, के उनलाई त्यस किसिमको आरोप लगाउने हिम्मत गरिन्थ्यो ?

यस सन्दर्भमा लेस्टर विश्वविद्यालयका प्राध्यापक प्रशान्त किदम्बीले साम्प्रदायिक गन्ध क्रिकेट समर्थकसम्म नपुगिसकेको बताउँछन् । ‘भारतीय क्रिकेटमा यसअघि कहिले पनि धर्मका आधारमा विभेद गरिएन । घरेलु क्रिकेट वा अन्तराष्ट्रिय क्रिकेट खेल्ने भारतीय खेलाडीलाई धर्मका आधारमा आरोप लगाएको देखिएको छैन । मुस्लिम खेलाडीले सधैँ भारतीय टिममा महत्वपूर्ण भूमिका खेलेका छन्, योगदान गरेका छन्,’ क्रिकेट कन्ट्री नाम गरेको पुस्तक लेखेका कादम्बी भन्छन्, ‘यदि साम्प्रदायिक राजनीतिको प्रभाव क्रिकेटमा देखिन सुरु भएको हो भने यो खतरा हो । यसले खेल र समाज दुबैलाई हानी गर्छ ।’ (बेलायती अखबार दी गार्डियनबाट) 


Author

थप समाचार
x