प्रमुख समाचार

प्रधानमन्त्रीले किन डाके सुरक्षा परिषद्को बैठक ?

इकागज |
फागुन १०, २०७७ सोमवार २१:२७ बजे

फाइल तस्बिर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक राख्ने भएका छन् । उनले मंगलबार उक्त बैठक राख्‍न लागेका हुन् । गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो  बैठक बोलाइन्छ । यसलाई भने प्रधानमन्त्री ओलीले नियमित बैठक भनेका छन् ।

प्रधानसेनापती पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच सोमबार भेटवार्ता हुनु र मंगलबार प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाउने विषय आफैँमा अर्थपूर्ण छ । 


यद्यपि सोमबार भएको भेट सेनाले उपयोग गरेको जग्गा सर्वोच्च अदालतका लागि आवश्यक परेर दिनेसम्बन्धी प्रक्रियाको अन्तिम टुंगो लगाउने विषयमा भनिए पनि उत्पन्न राजनीति परिदृष्यमा छलफल भएको बताइएको छ । 

रक्षा सचिव एवं सुरक्षा परिषद्का सदस्य सचिवसमेत रहेका रेश्‍मीराज पाण्डेले मंगलबार बिहान सुरक्षा परिषद्को नियमित बैठक बोलाइएको जानकारी इकागजलाई दिए । 'उक्त बैठकमा उत्‍पन्‍न समसामयिक विषयमा नै छलफल हुनेछ,'  उनले भने, 'लामो समयदेखि छलफलका थाँती छन् ।' 

पछिल्लो समय विकसित हुँदै गरेको राजनीतिक घटनाक्रम र आगामी वैशाखमा हुने भनिएको निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बालुवाटार उच्च स्रोतले बतायो । सुरक्षा परिषद्‍मा रक्षा सचिव सदस्य सचिव रहन्छन् भने रक्षा, परराष्ट्र, अर्थ र गृहमन्त्रीका साथै मुख्यसचिव र प्रधानसेनापति यसको सदस्य हुन्छन् ।

बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति थापा सहभागी हुनेछन् । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । अहिले रक्षा मन्त्रालय पनि प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् ।    


Author

थप समाचार
x