प्रमुख समाचार

प्रतिनिधि सभा विघटन मुद्दाको पेशी आज, कहिले आउँछ फैसला ?

इकागज |
फागुन ११, २०७७ मंगलबार ८:२१ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पेशी तोकिएको छ । गएको पुस ६ गते सर्वोच्चमा दर्ता भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि मंगलबार पेशी तोकिएको हो । यसअघि सोमबार दुवै पक्षका वकिलले बहस नोट बुझाएका थिए ।

त्यसअघि एमीकस क्युरीका अन्तिम सदस्य गीता ढकालले शुक्रबार राय दिएपछि सोमबार बहस नोट बुझाउन भनिएको थियो । एमीकस क्युरीका पाँच सदस्यमध्ये चार जनाले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने पक्षमा राय दिएका थिए ।


झण्डै दुई महिना लामो बहसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरेको छ । फैसला कहिले आउँछ भन्‍ने एकिन नभए पनि यसै हप्ता हुन सक्ने अनुमान गरिएको छ । 

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा विभाजनको अन्तिम तयारीमा छ । अहिले ओली समूह प्रतिनिधि सभा विघटनको बचाउमा छ । बैशाख १७ र २७ गते चुनाव हुने दाबी ओली समूहको छ ।

तर पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपा भने प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनका कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भने पनि चुनावमा जानुपर्ने आशय व्यक्त गर्दै आएको छ । राजनीतिक दल र आम नागरिकको चाँसो रहेकाले पनि सर्वोच्चको फैसलाको प्रतिक्षा भइरहेको छ । 


Author

थप समाचार
x