प्रमुख समाचार

नेपालका लागि जापानी राजदूतमा किकुता

संगीता कुँवर |
फागुन ११, २०७७ मगलवार १२:४२ बजे

जापान : जापानले नेपालमा किकुता युताकालाई नयाँ राजदूतको रुपमा पठाउने भएको छ । किकुतालाई जापान सरकारले नेपालको लागि राजदूतमा नियुक्त गर्दै तत्काल नेपाल पठाउने निर्णय लिएको हो । भारतमा रहेर काम गरिसकेका कूटनीतिज्ञ किकुतालाई जापान सरकारले नेपालमा राजदूतको जिम्मेवारीसहित पठाउन लागेका हुन् ।

जापान सरकारको मन्त्रिपरिषद्को बैठकले राजदूतका रूपमा किकुतालाई नेपाल पठाउने निर्णय सोमबार गरेको हो । मसामिची साइगोको कार्यकाल पुरा भएपछि सरकाले किकुतालाई जापानी राजदूतका रूपमा नेपाल पठाउन लागेको हो । साइगाे शुक्रबार कार्यकाल सकेर फर्कदै छन् । उनी यतिबेला काठमाडौँमा विदाई भेटमा व्यस्त छन् । 


किकुता नाइजेरियाको लागि जापानी राजदूत भएर काम गरिसकेका व्यक्ति हुन । सन् १९८४ मा जापानको कूटनीतिक सेवामा प्रवेश गरेका उनीसँग भारतका लागि जापानी दुतावासमा उपनियोग प्रमुख भएर काम गरेको अनुभव पनि छ ।

५९ वर्षीय किकुता जापानको फुकुसिमामा जन्मेका हुन् । जापानले विगतदेखि नै नेपालमा वरिष्ठ कूटनीतिज्ञलाई नै राजदूतको रुपमा पठाउने गरेको छ । सन १९५६ सेप्टेम्बर १मा नेपाल र जापानबीच औपचारिक कूटनैतीक संबन्ध स्थापना भएको हो । त्यसयता जापान नेपालको सधै अनन्य मित्रको रुपमा रहँदै आएको छ ।

हुन पनि जापान र नेपालमा आवाशिय दूतावास दुवै मुलुकको नहुँदासम्म नयाँ दिल्ली स्थित दूतावासले एक अर्कालाई हेर्थे । सन १९६५ मा जापानमा नेपालको आवसिय दूतावासको स्थापना भयो भने जापानले पनि त्यसको तीन वर्षपछि नेपालमा आवासिय दूतावास स्थापान गरेको थियो । त्यसपछि एक अर्का मुलुकमा आवासीय राजदूत रहँदै आएका छन् । नेपालले बेलावखतमा राजदूत पठाउन ढिलाई गरेर कार्यबाहकबाट सञ्‍चालन गर्ने गरेपनि जापानले प्रायः राजदूत छुटाएको छैन् ।

हुनत सन् १८९९ देखि नै जापानीहरु नेपाल गएको देखिन्छ । त्यतीबेला तिब्बती बौद्ध धर्मको अध्ययन र अनुसन्धान गर्न जापानीहरू नेपाल गएको भेटिन्छ । त्यतीबेला नेपाल गएकाहरु अधिकांश बिभिन्‍न धार्मिक स्थलहरूको पहिचान एवं धर्मग्रन्थहरुको संकलनमा बिताउथे ।

सन १९०३ मा जापानी नागरिक बौद्ध भिक्षु एकाई कावागुचीले ल्हासाको जेलमा रहेका आफ्न साथीहरुलाई मुक्तका लागि नेपाल सरकारको सहयोग मागेका थिए । तत्‍कालिन प्रधानमन्त्री चन्द्र शमशेरको पहलमा दलाई लामाले तिब्बती जेलबाट कावागुचीका साथीहरुलाई मुक्त गरेका थिए ।

त्यसयता नेपाल र जापानबीच सहकार्य बढ्दै गएको हो। नेपालको विकासमा जापान एक सहयोगी मुलुकको रुपमा रहँदै आएको छ । ठूलो दातृ मुलुक जापानले नेपालको विकासमा टेवा पुर्‍याउँदै आएको छ । शिक्षा, प्रशासनिक सुधार, ब्यबसायिक शिक्षा, उध्योग तथा बैंकको स्थापना, खनिज सम्पदाको उत्खनन तथा आर्थिक सामाजिक पूर्वाधारको बिकासलगायतमा जापान सरकको सुझाव तथा सहयोग रहेको छ ।

जापानमा यतिबेला ठूलो नेपाली समुदाय रहेको छ भने नेपालमा पनि जापानीहरू विभिन्‍न क्षेत्रमा कार्यरत छन् । जापान सहयोग नियोग जाइका मार्फत नेपालको विकासमा जापान ले सहयोग गर्दै आएको छ । पछिल्लो समय अमेरिका, भारत, जापान र अस्ट्रेलियाको अनौपचारिक सहकार्य 'क्‍वाड' निकै चर्चामा रहेकाले भारतमा कार्यरत कूटनीतिज्ञको नेपाल नियुक्ति अर्थपूर्ण नै छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x