प्रमुख समाचार

राजनीतिक दल र विज्ञसँग छलफलपछि मात्र राजीनामाबारे निर्णय हुन्छ : ओली

इकागज |
फागुन १२, २०७७ बुधबार १६:५४ बजे

फाइल तस्बिर

काठमाडौँ : सत्तारुढ नेकपाको ओली समूहले सर्वोच्चको फैसलालले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्‍न हुने निष्‍कर्ष निकालेको छ । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने तर त्यो फैसलाले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रकारको भएको ओली समूहको निर्णय छ । प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग परामर्श गरेपछि राजीनामा दिने या नदिने टुंगोमा पुग्‍ने सहमति बनेको छ ।

विभिन्‍न राजनीतिक दल र विज्ञहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने अनि मात्र राजीनामा दिने तयारी रहेको बैठकमा सहभागी एक सदस्यले बताए । राजीनामा दिएर पनि लामो समयसम्म नयाँ प्रधानमन्त्री बन्‍न नसकेर कामचलाउ सरकारले काम गरेको विगतलाई मध्यनजर राखेर छलफलपछि मात्र राजीनामाबारे निष्कर्षमा पुग्‍ने ओली समूहले स्पष्ट पारेको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । राजनीतिक परिस्थिति र आगामी दिनमा आफूहरु कसरी अघि बढ्ने भन्दै बैठकमा छलफल भएको एक नेताले बताए । 

मुलुकलाई अनिर्णयको बन्दी नबनाउने तर राजीनामाबारे केन्द्रीय कमिटी र संसदीय दलमा छलफल  गरेर निष्कर्षमा पुग्‍ने निर्णयसमेत भएको छ । ओली समूहका व्यक्तिहरु छलफलमा रहेको अवस्थमा अर्को पक्ष अर्थात दाहाल नेपाल-समूहले संसदीय दलको बैठक बोलाइसकेका छन् । संसदीय दलको बैठक दलको नेता वा उपनेताले बोलाउने गर्छ । 

ओली खेमाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको बैठकमा उत्पन्‍न परिस्थितिबारे छलफल भएको बताए । संविधानको व्याख्या गर्ने र रक्षा गर्ने कार्य सर्वोच्च अदालत भएकोले अदालतको फैसला स्वीकार गर्दै त्यसबाट निस्कने परिणामहरुबारे छलफल भएको उनले बताए । यो निर्णयले मुलुकलाई कता लैैजान्छ भन्‍ने विषयमा छलफल विज्ञ र नेताहरूसँग छलफल गरिने पनि उनले बताए ।  


Author

थप समाचार
x