प्रमुख समाचार

चीनको सीमाबाट सैन्य दस्ता हटाउने प्रक्रिया सजिलै पूरा हुँदैन : भारतीय सेना प्रमुख

इकागज |
फागुन १३, २०७७ बिहीबार १४:५४ बजे

काठमाडौँ : भारत र चीन सीमाको ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’ मा रहेको पूर्वी लद्दाखबाट दुवै मुलुकका सैन्य दस्ता हटाउने सहमती भएको दुई साता भयो । सीमा सुरक्षाकर्मीका साथै अन्य सैन्य सामाग्री त्यस स्थानबाट हटाउन सुरु गरिएको देखिए पनि उनीहरू आ-आफ्नो बेस (शिविर)सम्म भने अझै पुगिनसकेको बताइएको छ । 

जसको सन्देश हो, भारत-चीन सीमा अप्रिल २०२० को अवस्थामा पुग्‍न भने समय लाग्‍नेछ । भारतीय अखबार दि ट्रिब्युनका अनुसार भारत र चीनको सैन्य नेतृत्वबीच विश्‍वासको संकट भएकाले सीमामा सैन्य दस्ता पूर्ण रूपमा हट्न समय लाग्‍नेछ ।
 
गत फेबु्रअरी १० बाट भारत र चीनले प्याङयोङ तालको दुवैतर्फको किनारबाट सीमा सुरक्षा दस्ता हटाउने सहमति गरेका थिए । एक सय ३५ किलोमिटर लामो सो तालको वरपर दुवै मुलुकले सयौँको संख्यामा सीमा सुरक्षा दस्ता तैनाथ गरेका थिए । 


पहिलो चरणमा प्याङयोङ तालको किनारबाट सैन्य दस्ता हटाउने र त्यसपछि देप्साङ, गोग्रा र हट स्प्रिङलगायतका स्थानबाट पनि हटाउँदै जाने बताइएको थियो । 
यसैबीच भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवाणेले बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै सीमामा सुरक्षा दस्ता हटाउने प्रक्रिया सजिलै पुरा नहुने बताए ।
 
दि ट्रिब्युनले भारतीय सेनभित्रको उच्च स्रोतको हवाला दिँदै लेखेको छ, ‘दुई मुलुकबीच विश्‍वासको संकट छ । दुवै पक्षबाट परिचालन गरिएका सीमा सुरक्षादस्ता तत्काल आ–आफ्नो बेसमा फर्कन चाहँदैनन् । किनभने सीमामा तनावको अवस्था सिर्जना भयो भने फेरि फर्कनु पर्ने हुन्छ । अहिले नै किन बेसमा सिमित गर्ने ?’
 
हाल दुवै मुलुकबाट सीमामा परिचालन गरिएका सीमादस्ता, ट्याङकलगायतका सैन्य सामाग्री एक अर्काको नजिक नभएपनि ‘स्ट्राइकिङ रेन्ज’ मै राखिएको बताइएको छ । यसबाट पनि दुई मुलुकबीच रहेको अविश्‍वास प्रष्ट हुने दि ट्रिब्युनको विश्लेषण छ । 


Author

थप समाचार
x