प्रमुख समाचार

काठमाडौँमा फेरि भेटियो बर्डफ्लु, कहाँबाट भित्रियो भन्‍नेमा अन्यौल !

कृषि मन्त्रालय भन्छ- 'चराचुरुंगीको विष्ट्याईबाट कुखुरालाई जोगाउनुपर्छ'

इकागज |
फागुन १४, २०७७ शुक्रबार १०:२७ बजे

काठमाडौँ : राजधानी काठमाडौँमा फेरि बर्डफ्लु भेटिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका-१ साङ्लाफाँटमा फेरि बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि १२ हजार बढी कुखुरा नष्ट गरिएको छ ।

गएको माघमा पनि तारकेश्वरमा बर्डफ्लु भेटिएको थियो । त्यसयता कुखुरा नष्ट गर्न बाहेक अरु काम नगर्दा फेरि बर्डफ्लु भेटिएको पाइएको छ । काठमाडौँपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा केही स्थानीय जातका कुखुरामा पनि बर्डफ्लु भेटिएको थियो ।


बर्डफ्लु कहाँबाट भित्रियो भन्नेमा सरकारसँग स्पष्ट जानकारी छैन् । यसबारे अनुसन्धान गर्न पशु सेवा विभागका कृषि वैज्ञानिकहरुलाई निर्देशन दिइएको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए ।

‘बर्डफ्लु भेटिएको खबर आएपछि विभागका वैज्ञानिकहरुलाई थप अनुसन्धान गर्न भनेका छौँ’ उनले इकागजसँग भने, ‘अब विभागले जानकारी दिएपछि अरु कुरा थाहा होला ।’

कहाँबाट भित्रियो बर्डफ्लु ?

काठमाडौँपछि सुर्खेतमा पनि बर्डफ्लु भेटिएपनि कहाँबाट भित्रियो भन्नेमा अन्यौल छ । कृषि मन्त्रालय पनि यसबारेमा अहिलेसम्म एकिन कारण पत्ता नलागेको बताउँछ ।

‘अहिलेसम्म बर्डफ्लु कहाँबाट भित्रियो ? भन्नेमा स्पष्ट कारण पत्ता लागिसकेको छैन’ कृषि मन्त्रालयका प्रवक्ता घिमिरे भन्छन्, ‘जंगली चराचुरुंगीबाट सरेको हो कि ? भन्ने आशंका छ ।’

उनले कुखुरा पाल्ने व्यवसायीले सुरक्षित खोर बनाएर व्यवसाय गर्नुपर्ने सुझाव समेत दिए । सुरक्षित तबरले कुखुरा पालन व्यवसाय गरे बर्डफ्लुबाट जोगाएर लाखौँको नोक्सानीबाट जोगिन सकिने उनको भनाई छ ।

‘आकाशमा उड्ने जंगली चराले बिष्ट्याउँदा पनि बर्डफ्लु सर्छ भनेर भनिन्छ’ उनले थप अगाडि भने, ‘अब कुखुरा पाल्दा जंगली चराको बिष्टयाईबाट समेत जोगाउनुपर्छ ।’ 
 


Author

थप समाचार
x