प्रमुख समाचार

स्वास्थ्यमन्त्री भन्छन् : ढुक्क भएर लगाउनुहोस् दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप

इकागज |
फागुन १७, २०७७ सोमबार १६:१६ बजे

काठमाडौँ : फागुन २३ देखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो खोप ३७ लाख हाराहारीलाई लगाइने मन्त्रालयले जनाएको छ । जसमा ५५ वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखिने भएको छ । 

खोप बिना संकोच ढुक्कसँग लगाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले अनुरोध गरे । ‘पहिलो चरणमा साढे चार लाख खोप लगाएकामध्ये ९ सय ९१ जनामा ज्वरो आएको थियो,’ उनले भने, ‘सामान्य औषधि उपचारपछि उनीहरूलाई निको भएको थियो । त्यसैले, भ्याक्सिनदेखि डराउनुपर्ने अवस्था छैन । खोप लगाएकाहरूमा एन्टीबडीसमेत डेभलप भइसकेको छ ।’
 
जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले खोपले आफ्नो शरीरमा कोभिडविरुद्ध उल्लेखनीय एन्टिबडी उत्पन्‍न गरेको बताएका छन् । ‘मैले कोभिशिल्ड लगाएको १ महिना भयो,’ उनले भने, ‘अहिले मेरो शरीरमा एन्टिबडी तयार भएको छ । यो खोपले काम गर्छ कि गर्दैन भन्‍ने जिज्ञासा धेरैको मनमा छ । मेरो शरीरमा काम गर्‍यो भने अरुको शरीरमा पनि पक्कै गर्ला ।’
 
खोपको दोस्रो मात्रा सरकारले दिएको तालिका अर्थात् पहिलो खोप लगाएको ८ देखि १२ हप्तामा लगाउने समेत उनले जानकारी दिए । नेपालमा अहिले भारतबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोप लगाइएको छ । दोस्रो चरणमा भने भारतबाट खरिद गरेर ल्याइएको कोभिशिल्ड खोप लगाउने हो । 


अबको केही समयमा चीनबाट पनि खोप ल्याउने तयारी सरकारको छ । चिनियाँ खोप ‘भेरो-सेल’ पनि पाँच लाख डोज अनुदानमा नै आउन लागेको हो । त्यसबाहेक सरकारले निजी क्षेत्रलाई पनि सर्वसुलभ ढंगले खोप लगाउन दिने प्रक्रिया पनि सँगै अघि बढाएको छ । 


 


Author

थप समाचार
x