डाक्टर पनि त बिरामी हुन्छन् नि
काठमाडौँ : ‘म बिरामी छु’ भनेर कोही डाक्टरले भन्नासाथ हामीमध्ये धेरैलाई अचम्म लाग्छ । हामी सोच्छौँ- डाक्टर पनि बिरामी हुन्छन् र ? हो, डाक्टर पनि बिरामी हुन्छन् । नेपालमा बिरामीको उपचार गर्दागर्दै आफैँ बिरामी परेका डाक्टर धेरै छन् । ड्युटीको समयमा खाना खान नपाउँदा ग्यास्ट्रिक बोकेका छन्, केही डाक्टरले ।
कोही मनोचिकित्सक एन्जाइटीको उपचार गर्दागर्दै आफैँ एन्जाइटीको सिकार भएका छन् । कामको चाप थेग्न नसकेर कोही डाक्टर प्रेसरको औषधि खाने भएका छन् । कसैले बिरामीको उपचार गर्दागर्दै आफैँ कोभिड संक्रमित भएको अनुभवसमेत सुनाएका छन् । यस्तै केही अनुभव उनीहरूकै शब्दमा :
डा.उत्सवमान श्रेष्ठ, स्तन क्यान्सर रोग विशेषज्ञ
सर्जन भएकाले हरेक दिन लामो समय उभिएर अपरेसन गर्नुपर्ने हुन्छ । लामो समयसम्म उभिएर अपरेसन गर्दा खुट्टामा नशा फुल्ने समस्या हुन्छ । यसलाई मेडिकल भाषामा ‘भेरिकोज भेन’ भनिन्छ । प्रायः सर्जनहरूको त्यस्तो समस्या हुन्छ । मलाई पनि छ । यसले खुट्टा सुन्निने, दुख्ने हुन्छ । कहिलकोहीँ औषधि नै खानुपर्ने हुन्छ । त्यस्तै यो बीचमा बिरामीको उपचार गर्दागर्दै मलाई कोभिड पनि भयो । खानेकुराको समय नमिलेर ग्यास्ट्रिकको समस्या पनि छ । बिहानदेखि बेलुकासम्म अस्पतालमै भइन्छ । अपरेसन थियटरमा छिरेपछि दानापानीको समय मिल्दैन । लगातार १०-१२ घन्टा अपरेसन थियटरमै बिताउनु पर्ने पनि हुन सक्छ ।
डा. जसवन शाक्य, प्लास्टिक सर्जन
मेरो कोलेस्टोर घटबढ भइरहन्छ । औषधि खाएको बेला ठिक हुन्छ । औषधि खान छाडेपछि बढिहाल्छ । डाक्टरको सल्लाह अनुसार आफूलाई गाह्रो भयो भने औषधि खान्छु । ठिक भएको बेलामा खादिनँ । मेरो मामा र आमातिर धेरैजनालाई भएको भएर वशांणुगत रुपमा मलाई पनि भएको हो । धेरैलाई डाक्टरलाई रोग लाग्दैन भन्ने भ्रम छ । तर, रोगले न डाक्टर भन्छ न इन्जिनियर । रोगले मेडिकल मान्छे, नन-मेडिकल मान्छे केही भन्दैन । तर, डाक्टर हुनुको एउटा फाइदा भने छ ।
मेडिकल पढेको मान्छेलाई लक्षण देखिएपछि रोगबारे जानकारी हुन्छ । सुरुमा नै थाहा पाइहाल्ने भएकाले उपचारमा ढिलाइ वा जटिलता हुँदैन । तर, सर्वसाधारणलाई कुनै रोग लागेपछि उनीहरू ‘केही दिन हेरौँ, ‘मेडिकलको औषधि खाएर हेरौँ’ भन्नेतिर लाग्छन् । जसले जटिलता निम्त्याउँछ । हामीलाई केही हुने बित्तिकै साथी सर्कलमा सल्लाह गरिहाल्छौँ । लक्षण देखिने बित्तिकै उपचार गराइहाल्छौँ । तर, कहिलेकाहीँ डाक्टरहरूलाई पनि लास्ट स्टेजमा आफूलाई रोग लागेको हुन्छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. लव जोशीको ब्लड क्यान्सर एकदमै ढिला पत्ता लागेको थियो ।
डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक
धेरैजनाले डाक्टर बिरामी भएको कुरा पत्याउनै गाह्रो मान्छन् । तर, डाक्टरलाई पनि रोग लाग्छ । उनीहरू पनि बिरामी हुन्छन् । म मानसिक रोग विशेषज्ञ भएको हिसाबले मकहाँ एन्जाइटी भएका बिरामीहरू धेरै आउँछन् । उनीहरूलाई म आफैलाई एन्जाइटी भएको छ ।
त्यस्तै, मेरो रगतमा प्लेटलेट्स कम छ । त्यसले गर्दा पनि मैले कोभिडको भ्याक्सिन लगाएको छैन । मानिसको शरीरमा सामान्यतया तीन लाख प्लेटलेट्स हुन्छ । तर, मेरोमा १ लाख मात्रै छ । प्लेटलेट्सको कमि हुँदा रगत जम्न गाह्रो भएर शरीरमा निल डाम हुने, रक्तश्राव हुने हुन्छ । मेडिकल पढेको व्यक्ति सरुवा रोगप्रति भने सचेत हुन्छन् । नसर्ने खालका रोग जस्तैः मुटु रोग, क्यान्सर, मानसिक स्वास्थ्य समस्या त डाक्टर, नन डाक्टर जसलाई पनि लाग्छ ।
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
डाक्टर हुँदैमा हामीलाई रोग नै नलाग्ने भन्ने हुँदैन । मैले ज्वरो, रुघाखोकी, पाखाला सबैको अनुभव गरेको छु । ग्यास्ट्रिक नभएको मान्छे नेपाली नै होइन भन्छन् । त्यस्तै, मलाई पनि ग्यास्ट्रिकको समस्या छ । जापानमा हुँदा पढाईको चक्करमा खानपिन नै गर्न बिर्सिन्थे । जसले मलाई ग्यास्ट्रिकको समस्या देखियो ।
अहिले पनि रातिसम्म कोभिडको बारेमा अध्ययन गरिरहेको हुन्छु । ग्यास्ट्रिकको साथै स्टे«स पनि भइरहेको हुन्छ । हामी डाक्टरहरू प्रायः बिरामीलाई यसो गर्नुस् र उसो गर्नुस् भनिरहेका हुन्छौँ । तर, कतिपय अवस्थामा हामी आफूले नै ति नियमहरू फलो गरिरहेका हुँदैनौँ । तर, रोगको बारेमा जानकार भने हुने भएकाले समस्या आउने बित्तिकै समाधानका लागि साथीभाइलाई गुहारिहाल्छौँ ।
डा. धर्मेन्द्र कर्ण, छाला रोग विशेषज्ञ
मैले प्रेसरको औषधि खान थालेको २० वर्ष भयो । मेरो आमालाई पनि प्रेसर भएको कारण मलाई पनि प्रेसरको समस्या छ । डाक्टर भएपनि व्यस्त जीवनशैली हुन्छ । तर, म सकेसम्म आफ्नो तालिकालाई व्यवस्थित बनाउँछु । सरसफाइ र खानपानमा एकदमै ध्यान दिन्छु । म आफूलाई एकदमै माया गर्ने मान्छे हुँ । आफूलाई माया गर्दागर्दै रोगले भेटिहाल्छ ।
प्रायः डाक्टरहरू आफू गर्दैनन् बिरामीलाई मात्र सल्लाह सुझाव दिन्छन् । म चाहिँ त्यसो गर्दिनँ । छाला रोग विशेषज्ञ भएको हिसावले छालाको एकदमै ख्याल राख्ने मेरो बानी छ । घाममा हिँड्दा सन स्क्रिन र म्वइस्चराइजर लगाउँछु । बिरामीलाई जस्तो सल्लाह दिन्छु आफू पनि त्यही अनुसार दैनिकी बिताइरहेको छु ।
डा. मदन कुमार पिया, वरिष्ठ छाती रोग विशेषज्ञ
भिटामिन ‘डी’ को कमी भएकाले म बेलाबेलमा भिटामिन ‘डी’ क्याप्सुल खान्छु । स्वास्थ्यमा समस्या होला भनेर मैले चार वर्षदेखि एकछाक मात्र खाना खान थालेको छु । बुढेसकालमा स्वास्थ्यलाई हानी होला भनेर यसो गर्न थालेको हुँ । एक छाक फलफुल र ड्राइ फुड खान्छु । खाना बेलुका मात्रै खान्छु । मलाई एकछाक खानु भनेर कसैले भनेको होइन । आफैले जानेर यो उपाय अपनाउन थालेको हुँ ।
खाना नियन्त्रण नगर्दा प्रेसर, सुगर बढ्ला भन्ने चिन्ताले पहिला नै सतर्क भएको हुँ । डाक्टर बिरामी हुँदा उपचारमा जानै गाह्रो हुन्छ । डाक्टरलाई धेरै कुरा थाहा हुन्छ । बाइक चलाउन आउने मान्छे अर्काको बाइकमा चढ्दा जस्तो खालको डर लाग्छ डाक्टरलाई पनि त्यस्तै हुन्छ । के गर्ने, कसो गर्ने, कहाँ जाने भनेर आत्तिन थाल्छ ।
प्रा.डा. जगदिश अग्रवाल, वरिष्ठ चिकित्सक
मलाई जनस्वास्थ्यको मापदण्ड अपनाउँदा अपनाउँदै कोभिड भयो । एक हप्ता अलि गाह्रो भयो । निको हुनलाई दुई हप्ता जति लाग्यो । उमेर बढ्दै गएपछि धेरैलाई सुगर, प्रेसर हुन थाल्छ । मैले पहिलादेखि नै यस्ता रोग नलागोस् भनेर विचार गरे । शारीरिक व्यायम र खानपान जस्ता कुरामा ध्यान दिएँ । त्यसैले पनि अहिलेसम्म त्यस्तो जटिल खालको स्वास्थ्य समस्या देखिएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया