प्रमुख समाचार

प्रिमियर लिगमा यस साता : ध्यान शीर्ष चारको दौडमा रहेका टिममाथि नै

इकागज |
फागुन २९, २०७७ शनिबार ६:४२ बजे

काठमाडौँ : यस पटकको प्रिमियर लिग उपाधि दौडमा म्यानचेस्टर सिटीलाई अर्को टिमले भेट्न सक्ने सम्भावना न्यून छ । तर दोस्रो देखि चौथौँ स्थान सम्मका लागि भने प्रतिस्पर्धा तिब्र छ । अनि अंक तालिकाको पुच्छारमा रहेका टिमबिच ‘रेलिगेसन ब्याटल’ पनि उस्तै कडा देखिएको छ ।

लिगमा हाल दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सहरी प्रतिद्वन्द्वीसँगको अंक दुरी बढिरहँदा, ओले गनर सोल्स्यारको टिमलाई भने लेस्टर सिटीले नजिकबाट पछ्याइरहेको छ । दुई टिमबिचको दुरी मात्र एक अंकको मात्रै छ । 


त्यस्तै चेल्सी पनि शीर्ष चारभित्र अट्न प्रतिस्पर्धामा छ । उता पाँचौँ देखि सातौँ स्थानमा रहेका वेस्टह्याम, एभरटन र टोटनहमले पनि च्याम्पियन्स लिगमा छनौट हुने लक्ष्य त्यागिसकेका छैनन्  । अनि च्याम्पियन लिभरपुल शीर्ष चारको दौडबाट पूर्णरुपमा बाहिरिनसकेको अवस्था छ । 

सेफिल्ड युनाइटेड र वेस्टबु्रम रेलिगेसनमा पर्ने लगभग पक्का हुँदा, बर्नली, न्यूकासल युनाइटेड, ब्राइटन र फुलहम रेलिगेसनमा पर्ने तेस्रो टोली नबन्‍न प्रतिस्पर्धामा छन् । त्यसकारण यस साताको प्रिमियर लिगमा शीर्ष चार देखि पुच्छार सम्मका टोली अधिकतम अंक बटुल्न प्रतिस्पर्धामा रहनेछन् ।

ग्यारेथ बेलको बलियो लय  
केही साता अघि सम्म टोटनहम र आर्सनलका लागि च्याम्पियन्स लिगमा छनौट हुन युरोपा लिग जित्नु बाहेक अर्को उपाय नभएको जस्तो देखिन्थ्यो । आर्सनलको हकमा अहिले पनि अवस्था उस्तै छ । तर ग्यारेथ बेलको बलियो लयले टोटनहम भने प्रिमियर लिगको शर्षि चारको दौडमा सामेल भइसकेको छ । 

वेल्स विङ्गर बेलको नाममा फ्रेबुअरी २८ सम्म एक लिग गोल थियो । तर त्यसपछिका सातामा भने उनले गोलसंख्या पाँच पुर्‍याइसकेका छन् । पछिल्ला पाँच खेलमा तीन जित हासिल गरेको टोटनहमले चेल्सीसँगको दुरी पाँच अंकमा घटाएको छ । जोसे मौउरिन्होले पहिलो सिजनमा टोटनहमलाई शीर्षचारमा छनौट गराउन असफल भएको दृष्टान्त रहेकाले पनि उनी यस पटक भने सफल हुन दबाबमा छन् ।  

पछिल्लो समय बलियो लयमा रहेको बेलले ह्यारी केन र ह्युङ मिन सनसँगको साझेदारीमा टोटनहमलाई शीर्षचारमा छनौट गराउन सकछन् भन्‍ने विश्वास टोटनहममा पलाउन थालेको छ । तर त्यस्तो विश्वासको परिक्षा आइतबार इमिरेट्स रंथशालामा हुनेछ । जहाँ टोटनहम र आर्सनल लन्डन डर्बीमा आमनेसामने हुँदैछन् । 

डेभिड मोयस ओल्ड ट्रार्फोडमा फर्कदै 
युनाइटेडले गत साता सिटीको अपराजित यात्रालाई भंग गरिदियो । लगातार २१ खेलमा अपराजित रहेको सिटीलाई युनाइटेडले म्यानचेस्टर डर्बीमा रोक्यो । तर त्यस नतिजाले सोल्स्यारको टिम र सिटीबिचको दुरी धेरै घटाएन । उपाधि दौडमा सिटीलाई पछ्याउँदै गरेको युनाइटेड शीर्ष चारको दौडमा रहेका अन्य टिमसँग पनि प्रतिस्पर्धामा छ । आइतबार वेस्टह्यामको सामना गर्न लागेको युनाइटेडसँग दोस्रो र बाँकी स्थानबिचको दुरी बढाउने मौका छ । यद्यपि पाँचौ स्थानको वेस्टह्यामको चुनौती पन्छाउन युनाइटेडलाई सजिलो भने छैन । 

किनभने डेभिड मोयस ओल्ड ट्रार्फोड फर्कदा आत्मविश्वासी देखिनेछन् । युनाइटेडमा १० महिना टिकेका मोयसले यसपटक वेस्टह्यामलाई बलियो बनाएका छन् । त्यसकै उदाहरण हो, वेस्टह्यामले सन् २०२१ मा निकालेको नतिजा । जसका कारण जनवरी यता वेस्टह्यामले सिटी पछि सबैभन्दा धेरै अंक बटुलेको छ ।   

पुरोनो क्लबका मैदानमा फर्कदा मोयससँग जेसी लिङ्गार्ड हुनेछैनन् । युनाइटेडबाट यसै सिजन वेस्टह्याम आएका लिङ्गार्डले मोयसको टिमका लागि उत्साहप्रद खेल देखाएका छन् । लिङ्गार्डको अनुपस्थितीमा मोयसको टिम अग्रपंक्तिमा पक्कै पनि केही कमजोर भने देखिने नै छ ।

सिटीलाई फुलहमको चुनौती 
फुलहम जारी लिगमा १८ औँ स्थानमा छ । सुरुवाती १० खेलमध्ये दुईमा मात्रै जित हासिल गरेको फुलहम पछिल्ला पाँच खेलमा भने अपराजित छ । जसका कारण ब्राइटन, न्यूकासल र बर्नली जस्ता टिमको बेचैनी बढेको छ । गत साता मात्रै लिभरपुललाई हराएको फुलहमले यस साता लिग लिडर सिटीको सामना गर्दैछ । गएका सात खेलमध्ये एकमा मात्रै हार ब्यहोरेको फुलहम सिटीको अगाडि पर्दा रेलिगेसन जोनमा रहेका अन्य टिमले भने राहतको सास फेर्ने छन् । 


Author

थप समाचार
x