प्रमुख समाचार

बाल कलेजो प्रत्यारोपण गर्ने चिकित्सकको टोलीलाई प्रधानमन्त्रीको धन्यवाद

इकागज |
चैत १, २०७७ आइतबार १८:४४ बजे

काठमाडौँ  :  बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्ने चिकित्सकहरुको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा धन्यावाद ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेर बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्ने शिक्षण अस्पतालका चिकित्सकहरु प्राध्यापक डाक्टर रमेशसिंह भण्डारी नेतृत्वको टिमलाई बधाई दिएका हुन् । 

‘नेपालमा पहिलोपटक बाल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्नुहुने शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. रमेशसिंह भण्डारीले नेतृत्व गर्नुभएको टिमलाई बधाई तथा धन्यवाद दिन चाहन्छु,’ ओलीले भनेका छन् । 


उनले कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्‍याइरहेका नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डाक्टर विवेक भिजको टोलीलाई पनि धन्यावाद दिएका छन् । ओलीले भनेका छन्, ‘कलेजो प्रत्यारोपण सेवा विस्तारमा सहयोग पुर्याइरहनु भएका नयाँ दिल्लीस्थित फोर्टिस अस्पतालका डा. विवेक भिज र उहाँको सम्पूर्ण टिमलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु ।’ 

ओलीले कलेजो प्रत्यारोपण सेवालाई नेपालमा स्थापित गरेर अन्य सेवा जस्तै सर्वसुलभ बनाउन सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । ‘कलेजो प्रत्यारोपण सेवालाई नेपालमा स्थापित गरी अन्य सेवाहरुजस्तै सर्वसुलभ बनाउन सरकारबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछु’ उनले भनेका छन् ।    

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)  महाराजगञ्‍जमा ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण गरिएको भएपछि प्रधानमन्त्रीले खुसी व्यक्त गरेका हुन् । ३५ वर्षीय बुबाले दिएको कलेजो ११ महिनाको छोरामा प्रत्यारोपण गरिएको हो । 

प्रत्यारोपण सफल भएपछि डाक्टर भण्डारीले ट्वीटरमा खुसी व्यक्त गरेका छन् ।  


Author

थप समाचार
x