भिक्षुहरूले रक्सी खाएर आतंक मच्चाएपछि...
पोखरा : फागुन दोस्रो साता पोखरामा मकवानपुरबाट ५ पुरुषको टोली आयो । आफूलाई गुम्बाको भिक्षु बताउने उनीहरू रौतहटबाट आएको बताउँथे । स्थायी घर मकवानपुर बकैया गाउँपालिका भएका उनीहरू पोखरा महानगरपालिका-१ नयाँगाउँ मितेरी टोलमा सक्रिय थिए ।
भिक्षुको भेषमा हिँड्ने उनीहरू रौतहट जिल्लाको गजुरा नगरपालिका-२ को छोग्याल गुम्बाका लागि रकम सहयोग उठाउन आएको बताउँथे । उनीहरूसँग गुम्बाको रसिद ठली पनि थियो । सहयोग गर्नेहरूलाई ती ५ भिक्षुले रसिद पनि काटेर दिन्थे ।
दिउँसो भिक्षुको भेषमा सहयोग उठाउँदै हिँड्ने उनीहरू बहुरुपी थिए । दिउँसो भिक्षु बन्ने उनीहरू रातमा भने पूरै परिवर्तित हुन्थे । रातरात उनीहरू पृथ्वीचोकमा रक्सी र अश्लिल हर्कतमा लाग्थे । यो खबर कास्की प्रहरीले सुरुमै पाएको थियो । ‘भिक्षु भनेपछि हामी क्लिन जीवन बाँचिरहेको भन्ने बुझ्छौं, तर उनीहरूको त्यस्तो देखिएन,’ कास्की प्रहरी प्रवक्ता सुवास हमालले भने ।
कास्की प्रहरीले सुराकी पाएपछि प्रमाण जुटाउन थाल्यो । उनीहरूले भनेको छोग्याल गुम्बा रौतहटका लामालाई कास्की प्रहरीले सोधपुछ गर्यो । गुम्बाका ती लामाले आफ्नो गुम्बाबाट कोही पनि सहयोग उठाउन कास्की नआएको लिखत पठाए । ‘हामीलाई सूचना आइसकेको थियो, हामी निरीक्षण गरिरहेका थियौं,' प्रवक्ता हमालले भने, ‘लिखित जवाफ गुम्बाबाट पायौँ र पक्राउ गरेका छौँ ।’
पक्राउ पर्नेमा ६० वर्षीय धनबहादुर लामा, ३७ वर्षीय छिरिङ भनिने निमा तामाङ, ३५ वर्षीय पदमबहादुर लामा, २६ वर्षीय विजय लामा र ३५ वर्षीय जितबहादुर थिङ छन् । पक्राउ परेका ५ जनाकै स्थायी घर मकवानपुर भए पनि उनीहरू पृथ्वीचोकमा बस्दै ठगी धन्दा चलाइरहेका थिए ।
उनीहरूको साथबाट कास्की प्रहरीले नगद ४२ हजार ४ सय रुपैयाँ र टासी छोग्याल गुम्बा लेखिएको रसिदको १२ ठेली बरामद गरेको छ । उनीहरू यसअघि पनि पोखरा आएर यस्तै प्रकृतिको ठगीमा संलग्न भएको प्रहरीको आशंका छ ।
प्रहरीले अहिले आफ्नो प्रारम्भिक अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा बाँकी कुरा खुल्दै जाने र उनीहरू कहिलेदेखि पोखरामा ठगी गरिरहेका थिए भन्ने निर्क्यौल हुने कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । ती ५ जनालाई कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसूर अन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया