प्रमुख समाचार

मकवानपुरमा घटेन मातृ–शिशु मृत्युदर

मकवानपुरमा-घटेन-मातृ-शिश

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

मकवानपुर – सरकारले मातृ–शिशु मृत्युदरलाई शून्यमा झार्ने अभियानसहित विभिन्न कार्यक्रमहरू लागू गरेको छ । तर मातृ–शिशु मृत्युदर भने अपेक्षकृत रूपमा घटेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा चार वर्षमा १२७ शिशुले गर्भमै ज्यान गुमाएका छन् । यसैगरी जन्मिएको २८ दिनभित्र ८२ शिशुको मृत्यु भएको तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरसँग छ । तीमध्ये अधिकांशको मृत्यु उपचारमा ढीलाई गरेको कारण घरमै भएको कार्यालयले जनाएको छ ।

४ वर्षमा मकवानपुरका ७ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन् । कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले दिएको जानकारी अनुसार आव ०७५/७६ मा ३ जना शिशुले स्वास्थ्य संस्थामा ज्यान गुमाउँदा १९ शिशुको मृत्यु समुदायमा नै भएको छ ।

यसैगरी २३ जना शिशुको जन्मनु अघि गर्भ मै र प्रसूतिका क्रममा मृत्यु भएको छ भने २ जना गर्भवतीको समुदाय र स्वास्थ्य संस्थामा ज्यान गएको छ । आव ०७६/७७ मा २१ नवजात शिशुले समुदायमा नै ज्यान गुमाएका छन् भने ४३ जनाको गर्भमा नै मृत्यु भएको छ ।

त्यसैगरी चालू आवमा ४ जना महिलाको गर्भावस्थामा मृत्यु भएको तथ्यांकमा उल्लेख छ । आव ०७७/७८ मा ३५ शिशुको गर्भमा नै मृत्यु भएको, २ नवजात शिशुको स्वास्थ्य संस्थामा र २२ जनाको समुदायमा नै मृत्यु भएको घिमिरेले जानकारी दिए ।

उनले चालू आवमा एक गर्भवतीले समुदायमा नै ज्यान गुमाएको जानकारी दिए । घिमिरेका अनुसार चालू आव ०७८/७९ को हालसम्म पनि २६ शिशुको गर्भमै, २ जनाको स्वास्थ्य संस्थामा र १३ जना शिशुको समुदायमा नै मृत्यु भएको छ भने मातृ मृत्युदर शून्य छ । ४ वर्षको तथ्यांक हेर्दा मकवानपुरमा मातृ मृत्युदर घटेको देखिए पनि नवजात शिशुको र गर्भमै मृत्यु हुने शिशुको संख्यामा कमी भएको छैन ।

सरकारले विभिन्न अभियान जारी राखेको बताउँदै आए पनि अभियानले समुदायस्तरमा छुन नसकेको यी तथ्याङ्कहरुले देखाउँछ । समुदायस्तरमा अझै पनि जनचेतना र स्वास्थ्य उपचारको अभावमा गर्भवती, सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् ।

देश संघीयतामा गएपछि आएका स्थानीय तहले प्रत्येक वडामा स्वास्थ्य चौकी खोलेका छन्, बर्थिङ सेन्टर सञ्चालन गरेका छन्। तर, त्यसको प्रभावकारिता भने खासै देखिएको छैन । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा देखिएको शिशु मृत्युदरको तथ्यांकले प्रदेशका अन्य विकट जिल्लाको अवस्था कस्तो होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार मकवानपुरमा उपचार र हेरचाह अभावमा आमा र शिशुको मृत्यु भइरहेको छ । ‘मकवानपुरको हेटौंडालाई हेरेर हुँदैन, विकट गाउँपालिकाको कुनातिर हेर्ने हो भने जनचेतनाको कमी छ, अझै महिलाहरू घरमा नै सुत्केरी भइरहेका छन्’ उनले भने, ‘नियमित परीक्षण, पोषणयुक्त खाना, हेरचाह र उपचार नहुँदा मृत्युदर घट्न सकेको छैन ।’

उनले जन्मिएको ४२ दिनसम्म सुत्केरी र बच्चाका लागि जोखिमपूर्ण हुने भए पनि आवश्यक हेरचाह नपुग्दा जन्मिएपछि ज्यान गुमाउने नवजात शिशुको संख्या नघटेको बताए । ‘सानै उमेरमा विवाह गर्दा र नियमित परीक्षण नगराउँदा पेटमै मृत्यु हुने शिशुको संख्यामा पनि अत्यधिक छ। यसलाई न्यूनीकरण गर्न हामीले जति प्रयास गरे पनि सकिरहेका छैनौं’ उनले भने ।

घिमिरेका अनुसार सरकारले मातृ–शिशु मृत्युदर शून्यमा झार्ने भने पनि त्यसअनुरुप जनचेतनामूलक कार्यक्रम हुन सकेका छैनन् । स्थानीय तहले गरिरहेको काम पनि प्रभावकारी हुन नसकिरहेको उनको भनाइ छ ।



Author

थप समाचार
x