प्रमुख समाचार

सत्तारुढ दल संसद् अगाडि बढाउन चाहँदैन : खाण

इकागज |
चैत २, २०७७ सोमबार १९:० बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका प्रतिनिधि सभा मुख्य सचेतक बालकृष्ण खाणले सत्तारुढ दल संसद्लाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन् । सोमबार संसद्को कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि सञ्‍चारकर्मीलाई प्रतिक्रिया दिदैँ मुख्य सचेतक खाणले सत्ता पक्ष संसद्लाई गतिशिल र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन् ।

मंगलबार बस्‍ने संसद् बैठकका लागि सरकारले अहिलेसम्म कुनै पनि बिजनेश नदिएको उनले बताए । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रूपमा अगाडि बढाउनु पर्ने भए पनि ति अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए । 


खाणले भने, ‘सत्तापक्ष सदनलाई गतिशिल गराउने र सदनलाई प्रभावकारी रूपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरूले बिगतमा पनि बजेट सेसनमा अस्वभाविक रूपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै विघटन गर्नुभो । अस्ति अगाडि बढाएको  त्यसमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकुल रहेको कारणले हामीले बिरोध जनाएका हौं । त्यसमा हामीले बिरोधको सुचना पनि दर्ता गरिसकेको छौँ । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेस गरेको छैन ।’

मुख्य सचेतक खाणले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्‍न पनि सरकारले अभिरूची नदेखाएको बताए । उनले भने, ‘सदन प्रारम्भ हुँदाखेरी सरकारले, प्रमुख प्रतिपक्षी दलले, सबै दलले सदनमा शुभकामना आदान-प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो । भोलिको मिटिङमा सबै दलहरूले अहिलेको परिस्थितिबारे शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दापनि सरकारको तर्फबाट शुभकामना मन्तव्य दिनेमा रूची देखाइएन ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । 
 


Author

थप समाचार
x