मान्छे खान पल्किएको नरभक्षी पाटेबाघ नियन्त्रणमा
बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको नरभक्षी पाटेबाघ । तस्बिर : इकागज
बुटवल : बर्दियामा मान्छे खान पल्किएको नरभक्षी पाटेबाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका क्षेत्रबाट डार्ट गरेर बाघ नियन्त्रणमा लिइएको हो ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे तथा पशुचौपाया आक्रमण गरी ज्यान लिने पाटेबाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यही बाघले नै सात जना मानिसलाई खाएको हुन सक्ने अनुमान छ । मान्छे खान पल्किएको पाटे बाघलाई बर्दिया निकुञ्जको प्राविधिक टोलीले गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएपछि निकुञ्ज मुख्यालय ठाकुरद्वारा पुर्याएको छ । नियन्त्रणमा लिइएको बूढो भाले बाघको शरिरमा केहि चोट देखिएको छ । उसको खुट्टामा चोट तथा केही दाँत झरेको देखिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।
मङ्गलबार मात्रै एक जना महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको अनुगमन गरिरहेको थियो । केही महिनादेखि पाटेबाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेसँगै निकुञ्जको टोली बाघ नियन्त्रण गर्न खटिएको थियो ।
यसैबीच पाटेबाघले आक्रमण गर्ने डर बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जङ्गलमा हिँडडुल गर्न रोक लगाइएको छ । केही महिनादेखि पाटेबाघको आक्रमण बढेको भन्दै निकुञ्जले विज्ञप्ति निकालेर निकुञ्जमा सञ्चालन भइरहेका पर्यटकीय गतिविधिमध्ये ‘जङ्गल वाक’ गर्न बन्द गरिएको जानकारी गराएको हो ।
पाटेबाघको आक्रमणबाट मङ्गलबार एक जना महिलाको ज्यान गएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा यस वर्ष ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया