प्रमुख समाचार

कर्फ्यूपछिको लेटाङ : सन्त्रास र अन्यौलतामै बित्यो खेरुवाबासीको दिन

बाबुराम भण्डारी |
चैत ७, २०७८ सोमबार १८:५ बजे

लेटाङ – एक महिला प्रहरी जवानको ज्यान जाने गरी मोरङको लेटाङ–५ खेरुवामा भएको झडपपछि लागेको कर्फ्यूका कारण स्थानीयबासीले घटनाको सन्त्रास र कर्फ्यूपछिको अन्यौलतामै दिन बिताएका छन् । 

आइतबार दिउँसैदेखि तनावग्रस्त बनेको खेरुवास्थित शिक्षा विकास मावि प्राङ्गण र वरिपरीको सडक क्षेत्रमा प्रहरीसँग स्थानीयबासी र विद्यार्थीको झडप भएको थियो। लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माबिका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रालाई गत शुक्रबार होलीको रंग दल्ने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा आन्दोलित बनेका स्थानीय र विद्यार्थीले प्रदर्शन चर्काएका थिए । 


शिक्षक पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी र अभिभावकहरुले निवेदन दिएपछि घटनाबारे बुझ्न आरोपी शिक्षक र पीडित भनिएकी छात्रालाई राखेर आइतबार ११ बजेदेखि छलफल भएको थियो । छलफलका क्रममा आक्रोशित बन्दै गएका विद्यार्थीहरु विद्यालय छुट्टी भएर घर गएपछि विद्यालयमा भेला भएका स्थानीय र पीडित छात्राका आफन्तसँग प्रहरीको मुडभेड सुरु भएको थियो । घटना चर्किएपछि शिक्षक पौडेललाई बचाएर लैजाने क्रममा आक्रोशित भएको भिडले सुरक्षामा खटिएको प्रहरीमाथि अधाधुन्द आक्रमण गरेको जनाइएको छ । 

रात पर्दै गएपछि बढेको भिडले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले पनि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गरेकाे थियाे । अश्रु ग्याँसका लागि विद्यालय वरिपरिको क्षेत्र बेलुका १० बजेसम्म तनावग्रस्त बनेको थियो । सोही क्रममा आक्रोशित भिडले सुरक्षाका लागि घटनास्थलमा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई एक्लै भेटेपछि आक्रमण गरेको हो । आक्रोशित भिडले विद्यालयदेखि करिब तीन सय मिटर तल रहेको धराने चोकमा प्रहरीलाई सडकको दुईतिरबाट घेरा हालेर आक्रमण गरेको र सोही क्रममा प्रहरी जवान श्रेष्ठलाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । 

घटनास्थलमा रातिदेखि थप सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणको प्रयास गरिएको र सोमबार विहान ७ बजेदेखि त्यस क्षेत्रमा कर्फ्यू लगाइएको थियो । आइतबार दिउँसोदेखि १० बजेसम्मको झडप, त्यसपछि प्रहरीले हानेको अश्रु ग्याँसबाट इन्तु न चिन्तु भएका स्थानीयबासी भने सोमबार विहानैदेखि लगाइएको कर्फ्यूका कारण थप सन्त्रासमा दिन बिताए ।

विद्यालय परिसर रणमैदान
घटनास्थल लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालय परिसर आइतबार रणमैदान बनेको थियो । झडपमा आन्दोलनकारीहरुले बोतलमा पेट्रोल भरेर प्रहरीमाथि आक्रमण गरेको मोरङ प्रहरीको दाबी छ । विद्यालयको चौर सिसाका खाली बोतल र ढुंगामुडाले ढाकेको छ ।

प्रशासनिक कक्षमा लाखौं मूल्यका फर्निचर तोडफोड भएका छन् भने कागजातहरुमा पनि आगजनीको प्रयास भएको पाइएको छ । दिनभर विद्यार्थी र स्थानीय नै प्रदर्शनमा उत्रिए पनि रात परेपछि भने उक्त आन्दोलन नचिनेका व्यक्तिहरुको नियन्त्रणमा पुगेकोले प्रहरीको ज्यानै जाने गरी उक्त घटना हुन पुगेको स्थानीयहरुले बताए ।

स्थानीयका अनुसार घटनालाई विद्यालयभित्र छलफल गरेर मिलाउने प्रयास भएका कारण पनि ठुलो क्षति भएको छ । आरोपी शिक्षकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा लगेर छलफल गरेको भए यस्तो घटना नहुने स्थानीयको भनाइ थियो ।

आक्रोशित भिडले यौन र्व्यवहारमा संलग्न रहेको आरोप लागेका शिक्षक पौडलसहित दुई जना शिक्षकको मोटरसाइकलमा आगजनी गरेकाे छ । केही शिक्षकको मोटरसाइकलमा तोडफोड गरेका छन् । उनीहरुले विद्यालयको खानेपानी ट्यांकी, बोर्ड, धारा लगायतका भौतिक संरचना समेत भत्काइदिएका छन् । 

घटनास्थलमा सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी कार्यालयका डीआईजी अरुण कुमार विसी लगायतका सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरिक्षण गरेका छन् ।

प्रजिअ दाहालले आफूले घटनास्थलमा प्रदर्शन चर्किएपछि पनि प्रहरीले सक्दो संयम अपनाउन खोजेको र त्यसैको फाइदा उठाएर प्रहरीमाथि आक्रमण हुँदा एकजना महिला प्रहरीले ज्यान गुमाउनु परेको बताए । उनले घटनाको अनुसन्धान सुरु भइसकेकोले र दोषीहरुलाई कुनैपनि बहानामा नछाडिने बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x