प्रमुख समाचार

खुवालुङ सरोकार समूह गठन :

खुवालुङ केबल ढुंगा मात्रै होइन : दयाहाङ राई

सुनीता साखकर्मी |
चैत ५, २०७७ बिहीबार २०:५३ बजे

काठमाडौँ : खुवालुङलाई फुटाउन खाेजेको भन्दै सरोकारवालाहरू संगठित भएका छन् ।  किरातीहरूको आस्था जोडिएको खुवालुङलाई राज्यपक्षले केबल ढुंगाको रुपमा मात्रै देखेको भन्दै उनीहरू संगठित भएका हुन् । बिहीबार ललितपुरको चापागाउँ दोबाटोमा भएको खुवालुङ सरोकार समूह घोषणाको कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आदिवासी/जनजातिहरूले सदियौँदेखि मान्दै आएका मान्यता, दर्शनहरूलाई निमिट्यान्‍न बनाउने कोशिस गरेको आरोपसमेत लगाए । 

‘म किरात भित्रकै मान्छे हुँ । किरात सभ्यता, दर्शनलाई अंगाल्दै अघि बढेर यहाँ सम्म आइपुगेको हुँ,’ उनले भने, ‘मैले मान्‍ने खुवालुङ मेरो मात्रै होइन, यो देशको पनि हो । राज्य पक्षले आफू भन्दा इतरका मानिसहरूलाई केही पनि नदेख्‍ने, थाहै नपाई उनीहरूको संस्कृति, सम्पदा मास्‍ने वा निमोठ्ने प्रयास गरिरहेको छ ।’ 


राज्यले कसैको घरलाई गोठ देखिदिने, अरुका आस्थालाई बाधक मान्‍ने वा कसैका सम्पदालाई ढुंगा मात्रै ठानेर विकास निर्माणका लागि हटाउन नहुने उनको तर्क छ । भन्छन्, ‘विकासको एउटै मात्र बाटो त हुँदैन होला । विकासलाई अगाडि बढाउन त्यसभित्रको सभ्यता, दर्शनलाई पनि सँगै लानुपर्छ । त्यसैले विकासलाई एउटा आँखाले मात्रै हेर्नुहुन्‍न । सम्पदा जोगाएर विकास गर्न विकल्प खोज्‍नुपर्छ ।’  

दयाहाङ पनि खुवालुङ सरोकार समूहको एक सदस्य हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ८ मा अरुण, तमोर र दुधकोशीको संगम स्थलमा रहेको खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएका थिए । त्यसपछि प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईले कुनै पनि सरकारी निकायबाट फुटाउने योजना नबनेको र नफुटाइने प्रतिबद्दता दिएपनि औपचारिक रुपमा कुनै निर्णय नभएकाले खुवालुङ संरक्षण गर्न खुवालुङ सरोकार समूह गठन भएको छ । बिहीबार सोही समूहले पाँच बुँदे अवधारणा समेत सार्वजनिक गर्‍यो । 

समूहको संयोजकमा राजन मुकारुङ रहेका छन् भने सदस्यहरूमा दयाहाङ लगायत उत्तम सुनुवार, इन्दिरा जिमी याक्खा, चन्द्रवीर तुम्बापो, धनु याक्खा, बच्चु हिमांशु, शोभा सुनुवार, सुनिता थेगिम छन् । साथै आर्थिक संयोजकमा बलिराज खम्बू, कानुनी सल्लाकारमा भीम राई, विदेश समन्वय प्रमुख अमित चाम्लिङ छन् भने सदस्य सचिव राजेश चाम्लिङ रहेका छन् । 

समूहका कानुनी सल्लाहकार भीम राईका अनुसार खुवालुङ बचाउन चर्चापरिचर्चा गर्ने मात्रै नभई कानुनी उपचारमा समेत जानुपर्छ । त्यसका लागि सुरुमा सांस्कृतिक संवैधानिक हक संरक्षण गरिपाउँ भनी सर्वाेच्चमा रिट हाल्न सकिने उनले सुनाए । उनी भन्छन्, ‘पदको दुरुपयोग गरी प्रधानमन्त्रीले खुवालुङ फुटाउने, पशुपतिमा जलहरी चढाउने काम गरे भनेर अख्तियारमा दिन सकिन्छ ।’ 

संविधान र अन्तराष्ट्रिय कानुनले प्रत्येक नागरिक र समुदायलाई आफ्नो संस्कृतिको अभ्यास गर्ने, सांस्कृतिक स्थलको संरक्षण गर्ने अधिकार दिएको छ । खुवालुङ फुटाएपछि किरातीको संस्कृति मेटिने भएकाले यसलाई जोगाउन यो समूहले खुवालुङको दस्ताबेजीकरण गर्ने र खुवालुङलाई मानव अधिकारसँग जोडी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जोगाउन पहल गर्न सक्ने उनले बताए । 

‘मैले खुवालुङको बारेमा अध्ययन गर्दा खुवालुङ त्यो क्षेत्रमा छ र त्यो आदिवासी किरातीको इतिहास, सभ्यता र संस्कृतिको धरोहर हो भन्‍ने कुरा दस्तावेजीकरण भएको पाइनँ । जबसम्म हाम्रो कुरा दस्ताबेजीकरण हुन्न, इन्जिनियरहरूले आफुखुसी परियोजना डिटेल रिपोर्ट पास गरिदिन्छन् । दस्ताबेज भएमा कानुनी पाटोबाट जाँदा यिनै कुराहरूलाई सिरानी राखेर जानुपर्छ,’ उनले भने, ‘गैर आदिवासीले खुवालुङलाई ढुंगा देखेपनि, यो हाम्रो सभ्यता हो, संस्कृति हो । मानव अधिकारको दृष्टिकोणले सांस्कृतिक हकलाई संरक्षण गरी पाउँ भनी राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकारको कार्यालयमा निवदेन दिन सक्छौँ ।’ 

समूहका संयोजक राजन मुकारुङका अनुसार राजन मुकारुङ संयोजक फागुन ८ गते प्रधानमन्त्रीले विराटनगरमा त्रिवेणीको ढुंगा फोरिनेछ भनेर भनेपछि, सकिएदेखि नै सामाजिक सञ्जालमार्फत् प्रचारबाजी भयो । आम समुदायले त्यो गलत हो, आस्थाको धरोहर हो भनेपछि पनि फेरी फागुन १६ गते दमकमा गएर त्यही भाषा दोहोर्‍याएर सांस्कृतिक दमनकारी नीतिमा उत्रिएको सन्देश दिएकोले समूहको आवश्यकता रहेको उनले सुनाए । 

त्यस्तै शेरधन राईले नफुटाउने कुरा गरे पनि त्यसलाई विश्वास गर्ने आधार नभेटिएको उनले बताए । उनले भने, ‘शेरधन राईले तीन अभिव्यक्ति दिएका छन् । सुरुमा उहाँले खुवालुङबारे मलाई थाहा थिएन भन्‍नुभएको थियो । त्यसपछि खुवालुङ फोर्ने योजना रोकिएको छ भन्‍नुभयो । तेस्रो अभिव्यक्तिमा त्यहाँ सरकारी निर्णय भएर योजना सुरु भएको छैन भनेर भनेको छ । त्यो सबै अभिव्यक्ति एक अर्कामा बाझ्छ । त्यसैले हामी होसियार हुनुपर्छ । त्यसैले यो समूह गठन भएको हो ।’ 

मूर्तिकार एवं समूहका सदस्य धनु याक्खाका अनुसार खुवालुङ जस्तो छ, त्यस्तै रहन दिनुपर्छ । उनले भने, ‘म मूर्तिकार । मैले पाए, त्यो ढुंगालाई कलात्मक स्वरुप दिएर अर्कै बनाइदिन सक्छु । तर त्यसले खुवालुङलाई अन्याय गर्छ । खुवालुङको मौलिक स्वरुप भत्काएर जस्तो बनाए पनि त्यो सुन्दर हुन सक्दैन । खुवालुङको अस्तित्व जस्तो छ, त्यस्तै स्विकार गर्नुपर्छ ।’ 

खुवालुङलाई मिथ मात्रै सोच्‍न नहुने कवि एवं समूहका सदस्य चन्द्रबीर तुम्बापो सुनाउँछन् । ‘खुवालुङ मिथमात्रै होइन, इतिहास हो । र बाइबल, कुरान, त्रिपिटक, मुन्दुम भन्दा जेठो इतिहास हो,’ उनले प्रश्‍न गर्दै भने, ‘त्यसबाट किरात सभ्यताको सुरुवात भएको छ । त्यो ढुंगालाई स्थानान्तरण गर्दा वा फुटाउने वित्तिकै त्यसको इतिहास समाप्त हुन्छ, सौन्दर्य समाप्त हुन्छ । कुनै समुदायको इतिहास समाप्त हुनु भनेको सबै भन्दा बिडम्बना होइन ? यसमा वर्तमान सरकार किन 'सिरियस' देखिँदैन ?’  


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x