छात्रा यौन दुर्व्यवहार र महिला प्रहरी हत्या प्रकरण
लेटाङमा खुकुलो बनाइयो कर्फ्यू
विराटनगर – शिक्षकले छात्रामा माथि यौन दुर्व्यवहार गरेको आरोपमा तनावग्रस्त भएको मोरङको लेटाङमा नगरपालिका–५ खेरुवामा उत्तेजित समुहको आक्रमण परी एक महिला प्रहरी जवानको मृत्युभएपछि लगाइएको कर्फ्यू मंगलबारदेखि खुकुलो पारिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार विहान ७ बजेदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू आदेशलाई संसोधन गर्दै मंगलबार बेलुका ४ देखि ६ बजेसम्म र विहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाएका हुन् ।
चैत ४ गते शुक्रबार होली खेल्ने बहानामा स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययन गर्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयका विद्यार्थी, छात्राका परिवार र आफन्तसहित स्थानीयवासीले प्रदर्शन गरेका थिए ।
विद्यालयमा घटनाका बारेमा जानकारी लिने उदेश्यले भएको छलफलका क्रममा पीडित भनिएका छात्रा बेहोस भएर उपचारका लागि पठाइएपछि आक्रोशित बनेको भिडले प्रदर्शन चर्काएको थियो । आइतबार दिनभर भएको प्रदर्शनका कारण विद्यालयको भौतिक सम्पति समेत तोडफोड भएको थियो । सोही क्रममा आइतबार राति करिब साढे ८ बजे आक्रोशित भिडले सुरक्षामा खटिएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठलाई धारिलो हतियारले प्रहार गरी हत्या गरेपछि लेटाङ बजार र खेरुवा आसपासको क्षेत्र तनावग्रस्त भएको थियो ।
स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन र सम्भावित थप क्षति हुन नदिन सोमबार विहानदेखि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी दाहालले थप क्षति हुनबाट रोक्नका लागि प्रशासनले संयमता अपनाउने क्रममा प्रहरी जवान श्रेष्ठको दु:खद निधन भएको बताए । उनले घटनास्थल क्षेत्रमा अत्यावश्यक सेवा वाहेक मानिसहरुको आवतजावत, भेला गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क अनुसार लगाइएको अनिश्चितकालिन कर्फ्यूलाई अर्को आदेश नभएसम्मका लागि संशाेधन गरी जारी गरिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया