प्रमुख समाचार

नेपाल र चीनबीच सातामा एउटा मात्र उडान

अजय अलौकिक |
चैत ८, २०७७ आइतवार ८:४२ बजे

बेइजिङः मार्च २२ बाट दुई साताका लागि काठमाडौँ-छङ्तु (चेङ्दु) र काठमाडौँ-छोङछिङ (चोङकिङ)को उडान रद्द हुने भएसँगै नेपाल र चीनबीच सातामा मंगलबार एक दिन मात्र काठमाडौँ-क्‍वानचौ (ग्वानजाउ) उडान हुने भएको छ ।
 
चीनको नागरिक उड्डयन प्राधिकरणले मार्च १९ तारिख शुक्रबार एयर चाइनाको काठमाडौँ छङ्तु उडान दुई साताका लागि स्थगित गरेको जनाएको छ । मार्च ७ तारिखको एयर चाइनाको सिए ४३८ काठमाडौँ-छङ्तु उडानमा ५ जना यात्रुमा कोभिड-१९ संक्रमण देखा परेपछि उडान दुई साताका लागि स्थगन गरेको हो । 

चीनको नागरिक उड्डयन प्राधिकरणको वेबसाइटमा मार्च १९ मा जारी सूचना अनुसार, एयर चाइनाको काठमाडौँ-छङ्तुसहित दुई, चाइना साउदर्न, एमिरेट्स फ्लाइट, अस्ट्रियन एयरलाइन्स र केन्या एयरवेज गरी ६ वटा अन्तर्राष्ट्रिय उडानलाई स्थगन गरेको उल्लेख छ ।
 
सूचना अनुसार, मार्च ७ तारिखको एयर चाइनाको सिए ४३८ काठमाडौँ-छङ्तु उडानमा ५ जना कोभिड-१९ संक्रमित देखा परेकाले मार्च २२ देखि दुई साताका लागि उडान स्थगन गर्ने उल्लेख छ । साथै २२ तारिखअघिका उडान जारी रहने पनि उल्लेख छ ।


यसै गरी, मार्च १५, १६ को रिपोर्टमा मार्च ३ तारिखको हिमालयन एयरलाइन्स एच ९७८७ काठमाडौँ छोङछिङ उडानमा ७ जना कोभिड-१९ संक्रमित भेटिएपछि मार्च २२ देखि दुई साताका लागि उडान रद्द गर्ने जनाएको छ ।
 
त्यसै गरी फेब्रअरी २२ मा जारी अर्को सूचनामा फेब्रअरी ११ तारिखको चाइना साउदर्न काठमाडौँ क्‍वानचौ सिजेड ६०६८ को उडानमा ६ जना कोभिड-१९ संक्रमित भेटिएपछि फेब्रअरी २२ देखि दुई साताका लागि उडान स्थगन र मार्च ८ बाट सुचारू गरिने भनिएको छ । 

यस अनुसार, मार्च २२ पछि चीन नेपालबीच दुई साताका लागि काठमाडौँ क्‍वानचौ चाइना साउदर्न एयरलाइन्सको एउटा मात्र उडान हुने छ । हाल हप्तामा एउटा उडान भर्दैआएको छ र यसैबीच जारी उडानका यात्रुको परीक्षणका क्रममा कोभिड-१९ सङ्क्रमित फेला परेमा यो उडान पनि स्थगन हुने छ ।
 
पछिल्लो समय, नेपाल र मुख्यभूमि चीनबीच सातामा एक पटक एयर चाइना, चाइना साउदर्न र हिमालयन एयरलाइन्सको यात्रुबाहक फ्लाइटबाहेक हिमालयनले खुनमिङमा कार्गो फ्लाइट भरिरहेको छ । 

कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्नका लागि चीनको नागरिक उड्डयन प्राधिकरणले गत वर्षको जुन ४ बाट यस किसिमको नियम अवलम्बन गरेको हो । नियम अनुसार, यदि परीक्षणको क्रममा ५ जना यात्रुमा कोभिड-१९ संक्रमण देखिएमा उडान एक साताका लागि र यो सङ्ख्या दशसम्म पुगे चार सातासम्म स्थगन गरिने छ ।

यसै बीच, कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि यो नीति लागू भएदेखि गत वर्षको डिसम्बरको अन्तसम्ममा आन्तरिक ५४ र अन्तर्राष्ट्रिय ८६ गरी १४० वटा एयरलाइन्सको २७२ वटा उडान स्थगन गरेको छ ।
 
साथै पछिल्लो समय चीनमा मुख्यतः कोभिड-१९ सङ्क्रमण आयातित अर्थात् विदेशबाट आएकामा भेट्टाइएको छ ।
 


Author

थप समाचार
x