प्रमुख समाचार

'हाम्रा साथीहरुलाई कुलमान ज्यूबाट थ्रेट आएको छ'

बाबुराम भण्डारी |
चैत २३, २०७८ बुधबार १८:५४ बजे

विराटनगर - उद्योगहरुमा १४ घण्टासम्म अघोषित लोडसेडिङ भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफुहरुलाई ढाँटेको भन्दै अभिव्यक्ति दिएका सुनसरी मोरङ औधोगिक क्षेत्रका उद्योगी व्यवसायीहरुले अहिले आफुहरुलाई थ्रेट आएको दाबी गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले केही उद्योगी व्यवसायीहरुलाई कार्यकारी निर्देशक घिसिङबाट थ्रेट आएको बताए ।

संघकै आयोजनामा विराटनगरमा लागिरहेको ट्रेड एक्स्पो स्थलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रिजालले जस्तोसुकै थ्रेट आएपनि आफुहरु नडराउने बताए ।


घिसिङले नै अब कहिल्यै पनि लोडसेडिङ नहुने भन्दै सुनसरी मोरङका उद्योगी व्यवसायीहरुलाई उद्योग व्यवसायमा ढुक्क भएर लगानी बढाउन आग्रह गरेअनुसार आफुहरुले उद्योग ‘एक्सटेन्सन’ गरेको तर अहिले तालिका समेत नदिई आघोषित लोडसेडिङ गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि पोखेका थिए ।प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उद्योगीहरुलाई जानकारी नै नदिई अघोषित रुपमा १४ घण्टासम्म लोडसेडिङ गरेका कारण आफुहरु बोल्न बाध्य भएको उद्योगीहरुले बताए । 

‘कुलमान जीबाट हाम्रा साथीहरुलाई थ्रेट आएको छ’ अध्यक्ष रिजालले भने, ‘केहि भएन भने पनि हामी यो देशका नागरिक हौं, नाजायज कुरा मागेको थिएन तर अहिले हामीलाई नै अप्ठेरोमा पार्न खोजिएको छ, हामी बोल्छौं, पछि हट्दैनौं ।’ 

उनले प्राधिकरणले जलाशयमा पानी थपिएर विद्युत कटौति घटेको भनेपनि त्यसलाई पत्याउने आधार नभएको बताए । उनले मुलुकमा लोडसेडिङ हुनसक्ने अझै पनि उस्तै सम्भावना रहेको बताए । पछिल्लो पटक भारतले केही सस्तो दरमा बिद्युत दिएका कारण मात्रै उद्योग क्षेत्रमा हुन थालेको १४ घण्टासम्मको विद्युत कटौति घटेको बताए । समस्याहरुबारे प्राधिरणको ध्यानाकर्षण गराउँदा उद्योगहरुको लाइन काट्नेसम्मको धम्की आएको उद्योगीहरुले बताएका छन् ।

अध्यक्ष रिजालले राष्ट्र बैंकले आजदेखि एकैचोटी ३ सय बस्तुको आयात रोकेको प्रति विरोध जनाए । उनले संघकै नेतृत्वमा सरकारलाई गाडी लगायतका बिलासी बस्तुको आयात तत्काल रोक्न माग गरिएको स्मरण गराउँदै सरकारले ढिलो भएपनि त्यसलाई कार्यन्वयन गरेको बताए । तर उत्पादनमुलक उद्योग क्षेत्रको उत्पादन नै प्रभावित हुने गरी एकैचोटी ३ सय वटा बस्तुको आयात रोकिनु अनुचित भएको बताए । उनले बिलासी बस्तुको आयात रोकिएपनि चालु खर्च उस्तै दरमा भइरहेकोले अर्थतन्त्र जोगाउने सरकारको योजना हो भने चालु खर्चमा ब्यापक कटौति गर्नुपर्ने सुझाव दिए ।

‘हामीले पहिल्यै भनेको कुरा के भने गाडीको इम्पोर्ट तुरुन्तै बन्द गर्नुपर्छ, चालु खर्च कम गर्नुपर्छ भनेका थियौं’ उनले भने, ‘तर सरकारले त भोलीदेखि नै बजार बन्द हुने गरी हचुवाको भरमा निर्णय गरेको छ, यो निर्णय तुरुन्त सच्याइयोस् ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x