मौसम परिवर्तन : सर्ने रोगबाट कसरी सुरक्षित रहने ?
काठमाडौँ- नेपालमा वसन्त ऋतु प्रवेश गरेसँगै सुख्खा मौसम सुरु भइसकेको छ । मुलुकभरका विभिन्न क्षेत्रको मौसम परिवर्तन हुन थालेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो कम हुन थालेको छ । तराई क्षेत्रमा भने गर्मी सुरु भइसकेको छ ।
मौसम परिवर्तन भएसँगै मानिसहरूलाई विभिन्न रोग देखा पर्न थाल्छ । विशेषगरी मौसमी रुघाखोकी, झाडापखाला, ज्वरो, मलेरिया, डेङ्गी, ठेउलालगायतका रोगहरू देखा पर्छन् । देशभरका अस्पतालमा विभिन्न रोगका कारण सङ्क्रमित भएर आउने बिरामीको सङ्ख्या बढ्न थालेका छन् ।
त्यसकारण यो समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । समय अनुसार जाडो र गर्मी दुवै मौसममा फरक-फरक रोगको सिकार भएर अस्पताल भर्ना हुनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ ।
पछिल्लो दुई वर्षदेखि यता कोभिड-१९ महामारीले मौसमी रोगहरूको मानिसले बेवास्ता गरेका थिए । कोभिडबाट सुरक्षित हुन सबैले विभिन्न उपाय अपनाएका थिए ।
मौसम परिवर्तनसँगै विशेष सावधानी अपनाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने हुन्छ । मौसम परिवर्तनको असरलाई मानव शरीरले तत्काल परिवर्तन गर्न नसक्ने हुँदा जोसुकै पनि बिरामी हुन्छन् ।
गर्मीको मौसम सुरु भएपछि धेरै प्रकारका बिरामीहरू देखा पर्छन् । त्यसैगरी गर्मीमा किटजन्य रोगहरू लाग्ने सम्भावना, सर्पले टोक्ने, चक्कर लाग्ने, बेहोस हुने, थकाइ लाग्ने सम्भावना पनि उत्तिकै हुने गर्छ ।
गर्मीको समयमा अधिकांश रोगहरू खानेकुरामा भएको प्रदूषणले हुने गरेका छन् । सङ्क्रामक रोगहरू गर्मीको समयमा लाग्ने अधिकांश रोगहरू खानेकुरामा हुने मिसावटका लाग्ने गर्छन् ।
विशेषगरी किटजन्य रोगको सङ्क्रमण पनि बढ्दो हुनाले सकेसम्म सरसफाइमा नै ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन् ।
व्यस्त र परिवर्तित जीवनशैलीका कारण खानपानमा आम मानिसले हेलचेक्राइ गर्ने, घर बाहिरको खानेकुरा बढी खाने प्रचलन बढेकाले मौसमी रोगका बिरामीहरू बढ्ने गरेका छन् ।
मौसम परिवर्तनसँगै खानेकुरामा सावधानी अपनाउनु जरुरी हुन्छ । चिकित्सकहरूका अनुसार गर्मी याममा पानीलाई शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । व्यक्तिगत र आफ्नो बासस्थान वरपरको वातावरण सफा सुग्घर राख्नुपर्छ । गर्मीको समयमा किटनाशक विषादीको प्रयोग कम गर्नुपर्छ ।
वर्षा हुने बेलामा फोहोर पानीमा नहिँड्ने, जाडो अनुभव भएमा न्यानो लुगा लगाउने, तातो झोल युक्त खाने कुरा खाने, अप्ठ्यारो भएपछि सम्बन्धित डाक्टरलाई देखाउने । घाममा बाहिर निस्कनुअघि आँखा र छालाको सुरक्षामा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले मौसम परिवर्तन हुँदा 'सीजनल एलर्जी' हुन सक्ने बताए । उनका अनुसार नाक चिलाउने, हाँच्छ्यु आउने र आँखा चिलाउने गर्छ । धुँवा धुलोबाट श्वासप्रश्वासको पनि समस्या देखिने गर्छ ।
गर्मी बढेसँगै तराई क्षेत्रमा मलेरियाको उच्च जोखिम रहेको हुन्छ । डेङ्गी, स्क्रब टाइफस जस्ता रोग विशेषगरी ग्रामीण भेगमा बस्ने किसानहरूलाई लाग्न सक्ने डा. कोइरालाले जानकारी दिए ।
मच्छड देखापर्ने क्षेत्रमा त्यहाँका मानिसले झुलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । झ्यालमा जाली लगाउनु पर्छ । कोठालाई खुला राख्नुपर्छ । विभिन्न इलेक्ट्रीकल उपकरण प्रयोग गरी मच्छेड भगाउनु पर्छ । शरीरमा विभिन्न मेडिकलजन्य औषधि प्रयोग गर्नलाई उनले सुझाव दिए ।
गर्मीमा सबैभन्दा बढी झाडापखाला लाग्ने जोखिम रहेको उनले बताए । झापा पखाला र टाइफाइड लाग्ने उनको भनाइ छ । 'फोहोर पानीको कारण झाडा पखाला लाग्न सक्छ,' उनी भन्छन,' पानीको मुहान फोहोर हुने भएकाले त्यस्तो पानी पिउँदा रोग लाग्न सक्छ ।'
कोइरालाले पानी उमालेर पिउन सुझाव दिए । फिल्टर गरेर पानीमा रहेका साना-साना किटाणु देख्न नसकिने उनले बताए । चिल्लो खानेकुरा खान नहुने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया