युरोपमा कोभिडको अड्चनबीच विश्वकप छनौट सुरु हुँदै
काठमाडौँ: विश्वकप विजेता फ्रान्सले उपाधि रक्षाको यात्रा यस साता सुरु गर्दैछ । त्यो पनि कोभिड-१९ ले सिर्जना गरेको अनिश्चितताबीच । युरोपमा कोभिड-१९ को संक्रमणमा पर्नेको संख्या फेरि बढ्न थालेपछि क्लबहरूले खेलाडी रिलिज गर्न आनाकानी गरे । जसका कारण सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि हुने छनौट रद्द हुने हो की भन्ने आशंका थियो ।
केही साताअघि दक्षिण अमेरिका विश्वकप छनौट खेलहरू रद्द गरिए भने एसियामा पनि कतिपय खेल अर्को मितिका लागि सरे । युरोपमा पनि दक्षिण अमेरिका र एसियामा जस्तै छनौट खेलहरू स्थगित हुने अनुमान गरिएको थियो । यद्यपि युरोपियन फुटबल संघ (युइएफए) ले अन्य महादेशलाई पछ्याएन ।
विश्व फुटबल नियामक संस्था फिफाले खेलाडी रिलिजको विषयमा क्लबहरूलाई निर्णय गर्ने अधिकार दिएको छ । जुन अधिकार अप्रिल महिनासम्मका लागि कायम छ । क्लबहरूले त्यस्तो अधिकारको प्रयोग गरी खेलाडीलाई रिलिज गर्न इन्कार गर्ने सम्भावना रहेकाले पनि अन्यौलता छाएको थियो ।
सन् २०१८ को विश्वकप विजेता फ्रान्सले बुधबार युक्रेनको सामना गर्दैछ । फ्रान्सको घरेलु मैदानमा हुने खेलमा दर्शक हुनेछैनन् । युक्रेनसँगको खेल पछि फ्रान्स हवाई यात्रामा ५५ हजार किलोमिटर पार गर्दै काजाकस्तान प्रस्थान गर्नेछ । त्यसपछि फ्रान्सको अर्को गन्तब्य हुनेछ, बोस्निया हर्जगोभिना ।
फ्रान्सको यस किसिमको तालिका विवादरहित भने हुन सकेको छैन । फ्रेन्च लिगले युरोपियन युनियन (ईयू) बाहिरका मुलुकतर्फ खेल्न जान आफ्ना खेलाडीहरूलाई रिलिज नगर्ने बताएको थियो । ईयु बाट बाहिर पुगेर आउनेलाई फ्रान्समा एक साताको आइसोलेसनको नियम रहेकाले पनि फ्रेन्च लिग चिन्नितत भएको हो । त्यसकारण, फ्रान्स सेन्ट्रल एसियाको काजाकस्तान पुग्दा फ्रेन्च लिगले कस्तो प्रतिक्रिया दिन्छ, हेर्न बाँकी छ । फ्रेन्च लिगको निर्णयले फ्रेन्च खेलाडीलाई मात्रै होइन, फ्रान्समा खेलिरहेका अफ्रिकी खेलाडी पनि प्रभावित हुने देखिएको छ । किनभने, धेरै अफ्रिकी खेलाडी अफ्रिकन नेसन्स कप छनौट खेल्न घर फर्किने तालिका छ ।
फ्रेन्च लिगबाट रिलिज नहुने सम्भावना भएपछि लियोन कप्तान मेम्पिस डिपेले खेलाडि रिलिज नगर्ने निर्णय ठिक नभएको अभिब्यक्ति दिए । डच स्ट्राइकर डिपेले फ्रेन्च लिगको निर्णयले फ्रान्सको ‘इमेज’ बिग्रने दाबी गरे। डिपेको अभिव्यक्ति लगत्तै फ्रान्सका खेलकुद मन्त्रीले समपूर्ण खेलाडीलाई रिलिज गरिने र फ्रान्स फर्कदा उनीहरुलाई आइसोलेसनमा नराखिने पनि घोषणा गरे ।
यू-टर्न फ्रान्समा मात्रै होइन, जर्मनीमा पनि देखियो । जर्मन क्लब बार्यन म्यूनिखले आफ्ना स्ट्राइकर रोबर्ट लेवानडोस्की र रक्षक डेभिड अलाबालाई रिलिज गर्ने निर्णय गर्यो । अब लेवानडोस्कीले एक साताबीच पोल्यान्ड र इंगल्यान्डबीच हुने खेल खेल्नेछन् धने अलाबा अन्य अस्ट्रियन खेलाडीसँगै स्कटल्यान्ड जानेछन् । जर्मनी प्रवेश गर्नेलाई दुई साता अनिवार्य क्वारन्टिनमा रहनुपर्ने नियममा परिवर्तन गरिएपछि बार्यन खेलाडी रिलिज गर्न राजी भएको हो ।
खलाडी रिलिजमा सम्स्या नभए पनि व्यस्त तालिका सबै टिमका लागि टाउको दुखाईको विषय बनेको छ । प्राय टिमको सात दिनभित्र तीन खेल्ने तालिका छ ।कोभिड-१९ को संक्रमणमा पर्नेको संख्या फेरि बढ्न थालेपछि कतीपय खेल तटस्थ मैदानमा हुने भएको छ । त्यसले गर्दा खेलाडीहरूले लामो हवाई यात्रा गर्नुपर्ने छ ।
जसका कारण खेलाडी थकित हुने र प्रदर्शनमै असर पर्ने डर छ । छनौट चरणको व्यस्ता तालिका र युरोपियन लिगहरु अन्तिम चरणमा पुगेसँगै सिर्जना हुने दबाबले जुन ११ देखि सुरु हुने युरो कपका लागि खेलाडी मानसिक र शारीरिक हिसाबले तयार नहुने खतरा पनि रहेको विश्लेषकहरूको भनाइ छ । एएफपीको सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया