बादीको विजोग
दैलेखकी हरिमाया बादी उहिले गाउँमा दिनभरी मादल बेच्न हिड्थिन् । कहिले माछा मारेर साँझ बिहानको गुजरा चलाउँथिन् । उतिबेला गाउँलेलाई नाचगानमार्फत मनोरञ्जन गराउने जातीको रुपमा परिचित थिए बादी समुदाय । हरिमाया पनि आफ्ना श्रीमानको साथमा गाउँमा जान्थिन् र नाचगान गर्थिन् । नाचगानवापत गाउँलेले अन्न पैसा दिन्थे ।
‘पहिले कसैका विवाह, पुजा र छैटी भयो भने नाचगान गर्न जान्थ्यौ, गाउँ रन्किने गरि बुढाले मादल बजाउनुहुन्थ्यो त्यहि तालमा म नाच्थे’ विगत सुनाउँदै उनले भनिन्, ‘बेलुका घर फर्किदा चामल, गहुँ र पैसा लिएर आउँथ्यौ ।’ त्यतिबेला गाउँलेका जसको आगनमा टेकेपनि माग्ने जाति हुन् भनेर घरमा भएको चिज दिएर पठाउने गरेको उनले बताइन् । तर, अहिले आधुनिक प्रविधिको विकाससँगै उनीहरु समस्यामा छन् । गाउँमा डेक, क्यासेटहरु भित्रिएपछि उनीहरुका मादल बिक्री हुन छाडे नत उनीहरुलाई गाउँमा नाचगानमा नै बोलाउँछन् । उनका तीन छोराको विवाह भइसकेको छ र उनीहरु विवाह गरेर भारतको कालापहाडमा छन् । ११ वर्ष अघि श्रीमान बितेपछि हरिमाया एक्लै छिन् । अहिले उनीसँग नत खेतीपाति गर्ने जमिन छ नत गाउँमा माग्ने अवस्था नै छ । ‘कहिलेकाँही त भोकै सुत्नुपर्छ’ उनी भन्छिन्, ‘उमेर पनि ६० वर्ष पुगिसक्यो कसरी काम गरेर बाच्ने होला’
माछा मार्ने, मादल र सुल्पा बनाउने, गाउँमा नाचगान गर्ने र सोही वापत अन्न पैसा पाएर गुजारा गर्दै आएकी हरिमाया आजभोली आधुनिकतासँगै पुर्ख्यौली पेसा लोप भएपछि संकटमा परेको बताउँछिन् । ‘अहिले मादलको ठाउँमा डेक बजाउन थालेका छन् । धेरैको घरमा टिभि छ र हात हातमा मोबाइल भएपछि हाम्रो नाचगान हेर्न गाउँमा कसैले बोलाउँदैनन्’ उनी भन्छिन्, ‘जमिन नभएकाले अहिले हामीलाई बाच्न नै गाह्रो परेको छ ।
गाउँमा कसैको विवाह र पुजा भयो भने दैलेखकी पार्वती बादीलाई निम्तो आउथ्यो । मादल, बाँसुरी बोकेर गएर रातभरी नाचगान गर्ने गर्थिन् । परिवारका सबै सदस्यको साथमा नाचगान गर्न पाउँदा खुशी हुन्थिन् र घर फर्कदा रित्तो हात फर्कनु पर्दैनथ्यो । कसैले मादल किन्थे, कसैले सुल्पा किन्थे अनि नाचगानवापत घरबेटीले अन्न र पैसा दिएर पठाउने गर्थे । तर, अहिले परिस्थिति फरक छ । गाउँमा हुने विवाह पुजा जस्ता उत्सव होस या दशैँ तिहार जस्ता चाडपर्व होस् डेक बजाउन थालेपछि मादल र बाँसुरी किन्न छाडेका छन् । यस्ता खालमा उत्सवमा डेकमा नाच्न गाउन थालेपछि बादी समुदायलाई अन्न पैसा पनि दिन छोडेका छन् ।
वर्षौँदेखि बालुवा चलाएर गुजरा चलाउँदै आएकी सुर्खेत स्थित झुप्रा खोलामा बस्दै आएकी सितला बादी अहिले उनको पेसा संकटमा परेको छ । दिनभरी वालुवा चाल्ने र गिट्टी कुट्दै आएकी सिताला खोलामा आधुनिक औजार प्रयोग गरेर वालुवा संकलन गर्न थालेपछि उनी समस्यामा परेकी हुन् । ‘पहिले खोलमा वालुवा धेरै आउँथ्यो त्यही चालेर बेच्ने गथ्यौ’ उनी भन्छिन्, ‘अहिले खोलामा टिप्पर र स्काभेटर गएर वालुवा ल्याउने गर्छन् ।’
खेतीपाती गर्ने जमिन नभएपछि सरकारसँग गास, बास र कपासको माग गरेको बादी समूदायका अगुवा खिम बादीले बताए । सबैभन्दा पहिला जमिनको व्यवस्था हुनुपर्ने सुर्खेतकी पार्वती बादीले बताइन् । ‘हामीलाई गास, बास र कपासको व्यवस्था हुनुपर्छ’ उनले भन्छिन् ‘हामी पनि यही देशको नागरिक हौ ।’ खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा गरिदिनुपर्ने उनको भनाई छ । ‘हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ । मादल र सुल्पा बिक्री हुँदैनन,’ उनी भन्छिन् ‘हाम्रो अरु केही विकल्प नभएपछि जमिन र घर माग्दै सरकार गुहार्न परेको छ ।’
स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाई नभएपछि प्रदेश सरकारसँग जमिन माग गरि मुख्यमन्त्री कार्यालय अगाडी दुई हप्ता धर्ना बसेका प्रेम बादीले बताए । जमिन र घर माग्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन् । चिसो मौसममा खुल्ला आकाशमुनि धर्नामा बसिरहेका थिए । कर्णाली सरकार र बादी समूदायबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेको बादी अगुवा प्रेम बादीले बताए । ‘प्रदेश सरकारले हामीलाई आश्वासन दिएर गाउँमा पठाएको छ’ उनी भन्छन्, ‘माग पुरा नभए फेरी आन्दोलन गर्न बाध्य हुनेछौ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया